सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
जसपा नेपाल

जसपा नेपालका नेताको टिप्पणी– आन्तरिक लोकतन्त्र कमजोर भएका कारण पार्टी शून्यमा झर्‍यो

आइतबार, ०१ चैत २०८२, १९ : ०७
आइतबार, ०१ चैत २०८२

सारांश

  • प्रतिनिधि सभा निर्वाचनमा मधेस केन्द्रित दलहरूले सिट जित्न नसकेपछि दलभित्रै आलोचना सुरु भएको छ।
  • विश्लेषकहरूले बालेन शाहको जनलहर, सत्ता मोह, र मुद्दामा अस्पष्टतालाई हारको कारण मानेका छन्।
  • जसपाका नेताहरूले नेतृत्वको कमजोरी, पारदर्शिताको अभाव, र गठबन्धनको कमीलाई पराजयको कारण बताएका छन्।

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मधेस केन्द्रित दलहरूले एक सिट पनि जित्न नसकेपछि सम्बन्धित दलभित्र आलोचना सुरु भएको छ ।

कुनै नेताले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको पक्षमा जनलहरका कारण सबैजसो दललाई धक्का लागेको जिकिर गर्दै मधेसवादी दल पनि त्यसबाट अछुतो नरहेको टिप्पणी गरिरहेका छन् । कतिपय नेताले दलको मुद्दा, विचार, एजेण्डामा अस्पष्टता लगायतका कारण चुनावमा पार्टी पराजित भएको टिप्पणी गरेका छन् ।

राजनीतिक विश्लेषकहरूले पनि मधेस केन्द्रित दल चुनावमा पराजित हुनुको मुख्य फ्याक्टर बालेनको पक्षमा देखिएको लहर नै रहेको र त्यसबाहेक मधेस केन्द्रित दलको सत्ता मोह, मुद्दा, एजेण्डामा अस्पष्टता, पार्टीभित्रै विभिन्न गुट उपगुटले गर्दा पनि हारको कारण भएको ठहर गरेका छन् ।

राजनीतिक विश्लेषक श्रीमननारायणले भने, ‘यस पटकको चुनावमा मधेसवादी दलले मतदातालाई आफ्नो मुद्दा नै बताउन सकेनन्, मधेसवादी दलको के मुद्दा थियो भन्ने नै स्पष्ट थिएन । मतदाता अन्योलमा थिए । त्यही भएर मधेसको मत बालेनमा डाइभर्ट भएको हो ।’

जनता समाजवादी पार्टी नेपालका नेता रामकुमार शर्माले मधेस केन्द्रित दलहरूको पराजय आकस्मिक नभई दीर्घकालीन कमजोरीहरूको परिणाम रहेको टिप्पणी गरे । दलहरू असफल हुनुका प्रमुख कारणमा नेतृत्वको सङ्कुचित दृष्टिकोण, संगठनात्मक कमजोरी, पारदर्शिताको अभाव र मुद्दामुखी राजनीति कमजोर हुनु नै मुख्य कारण रहेको उनको भनाइ छ ।

तर जसपा नेपालकै अर्का नेता मनिष सुमनले मधेसवादी दल पराजित हुनुको मुख्य कारण नै बालेनको पक्षमा देखिएको लहर रहेको बताए । ‘रास्वपाले मधेसको छोरा भनेर बालेनलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारिसकेपछि मधेसका मतदाता स्वाभाविक रूपमा उतैतिर आकर्षित भए, जसलाई हामीले रोक्न सकेनौँ,’ उनले भने ।

यता जसपा नेपालका नेता रामकुमार शर्माले सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्वलाई गम्भीर आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘नेतृत्वको विश्वास मुख्यतः आफ्नै जातीय समुदायमा मात्रै सीमित रह्यो, जसले गर्दा सम्पूर्ण मधेसलाई प्रतिनिधित्व गर्ने राजनीतिक शक्ति बन्न सकेन ।’

पार्टी सञ्चालनमा पनि लोकतान्त्रिक अभ्यास कमजोर रहेको दाबी गर्दै उनले अधिकांश दलहरू सामूहिक नेतृत्वमा नभई अध्यक्ष प्रणालीमा चलेका कारण पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बनाएको प्रस्ट पारेका छन् ।

आर्थिक पारदर्शिताको अभाव, सार्वजनिक जीवनशैलीमा असंगति र सत्तामुखी राजनीति पनि पराजयका कारण रहेको शर्माको भनाइ छ । मधेस प्रदेश सरकारलाई सात वर्ष नेतृत्व गर्ने अवसर पाउँदा पनि जनताको विश्वास जित्ने गरी सुशासन र विकासका काम गर्न नसक्नु अर्को कमजोरी भएको उनको विश्लेषण छ ।

सिरहा–२ बाट पराजित भएका राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष कौशलकुमार सिंहले मधेसवादी दलहरूको बिचमा गठबन्धन नभएको कारण यस्तो अवस्था भएको बताए । उनले भने, ‘मधेसी दलको बिचमा लोकतान्त्रिक मोर्चा बनेको थियो तर त्यसलाई चुनावमा प्रयोग गर्न सकेनन् । सबै दलहरूको बिचमा गठबन्धन बनाएर चुनावमा होमिएको भए यस्तो पत्ता साफ हुने अवस्था आउने थिएन ।’

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अहंकारका कारण गठबन्धन नबनेको दाबी गर्दै उपाध्यक्ष सिंहले त्यसको नतिजा उनले आफैँ पनि भागेको टिप्पणी गरे । जसपा नेपाल र लोसपा नेपालबिच एकता भएपछि यादवलाई अब मधेस कब्जा नै हुन्छ भन्ने लागेर कुनै दललाई महत्त्व नदिएको सिंहको आरोप छ । त्यसैको नतिजास्वरुप निर्वाचनमा मधेसवादी दल पराजित हुनु परेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप