बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एसपिए कैलाली प्राइड लिगको फाइनलमा बुढीगंगा र पुनर्वास नगरपालिका (बी) भिड्ने

बुधबार, ०४ चैत २०८२, १७ : ५१
बुधबार, ०४ चैत २०८२

धनगढी । कैलाली क्रिकेट संघको आयोजनामा धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी ’एसपिए कैलाली प्राइड लिग–४’ को फाइनल समीकरण पूरा भएको छ। प्रतियोगिताको उपाधिका लागि बाजुराको बुढीगंगा नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका (बी) भिड्ने भएका छन्।

बुधबार भएको सेमिफाइनल खेलहरूमा जित निकाल्दै यी दुई टोलीले फाइनलमा स्थान सुरक्षित गरेका हुन्।

पहिलो सेमिफाइनलमा बुढीगंगा नगरपालिकाले धनगढी उपमहानगरपालिकालाई ३१ रनले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको बुढीगंगाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो। बुढीगंगाका लागि सुवाश ऐरले ४७ रन र दीपक रोकायाले नटआउट ३७ रनको योगदान दिए।

१४६ रनको लक्ष्य पछ्याएको धनगढी उपमहानगरपालिका १८.२ ओभरमा ११४ रनमा समेटियो। धनगढीका सुरेन्द्र पन्तले सर्वाधिक २४ रन बनाए। बुढीगंगाका बलर सौर्य श्रेष्ठले ३ विकेट तथा नग्रज सिंहले २ विकेट लिए।

दोस्रो सेमिफाइनल खेलमा पुनर्वास नगरपालिका (बी) ले घोडाघोडी नगरपालिकालाई ३५ रनले हराउँदै फाइनलको यात्रा तय गर्‍यो। पहिले ब्याटिङ गरेको पुनर्वासले २० ओभरमा ६ विकेट गुमाएर १५१ रनको योगफल तयार पारेको थियो। पुनर्वासका लागि अभिषेक पालले ४१ रन र नारायण जोशीले ३७ रन बनाए।

१५२ रनको लक्ष्य पछ्याएको घोडाघोडी नगरपालिका २० ओभरमा ११६ रनमा अलआउट भयो। घोडाघोडीका हरिश बस्नेतले आक्रामक ४३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। पुनर्वासका सचिन भट्टले घातक बलिङ गर्दै ४ विकेट लिए भने अशोक धामी र नरेन भट्टले २–२ विकेट चट्काए।

गत फागुन २८ गतेदेखि सुरु भएको यस प्रतियोगिताको फाइनल खेल भोलि (बिहीबार) दिउँसो १ बजे हुनेछ। प्रतियोगिताको विजेताले नगद ३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख रुपैयाँ पाउनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप