बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अख्तियारको आयुक्त बन्न विज्ञान शर्माको लबिङ

शुक्रबार, ०६ चैत २०८२, १२ : ४५
शुक्रबार, ०६ चैत २०८२

सारांश

  • अवकाश प्राप्त एआईजी विज्ञान राज शर्मा अख्तियारको आयुक्त बन्न लबिङ गरिरहेका छन्।
  • शर्माले जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगमा काम गरेका थिए, र उक्त आयोगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ।
  • शर्मालाई गुण्डा नाइके राजु गोर्खालीसँगको सम्बन्धको आरोप लागेको छ, र उनी अख्तियारमा जान खोज्दै छन्।

काठमाडौँ । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञान राज शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्न लबिङ गर्न थालेका छन् । प्रहरीमा ३० वर्ष सेवा गरेर अवकाशपूर्ण जीवन बिताइरहेका शर्माले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगको सदस्य भएर काम गरे ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आफ्नो जाँचबुझ सकेर प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाइसकेको छ । फागुन २४ मा प्रतिवेदन बुझाएपछि आयोगका सदस्य शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने चलखेलमा लागेका छन् ।

साढे ५ महिना लगाएर भदौ २३ र २४ को घटना छानबिन गरी आयोगले आफ्नो प्रतिवेदन बुझाएको थियो । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछि मात्रै प्रतिवेदन बुझाएको हो ।

आयोगमा बसेर काम गर्दा अन्य पदाधिकारीले भन्दा धेरै चलखेल गरेको आरोप शर्मामाथि लागेको छ । खासगरी प्रहरी र सशस्त्रका उच्च अधिकृतहरुमाथि शर्माले पूर्वाग्रह राखेर विभागीय कारवाही र फौजदारी कानुन अनुसार अनुसन्धान गर्न सिफारिस गर्न भूमिका खेलेको नेपाल प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । 

प्रतिवेदन तयार गर्नुअघि नै संसदमा झन्डै दुई तिहाइ मत ल्याउन सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूसँग भेटेर शर्माले अख्तियारमा जानेबारे छलफल गरेको जानकारहरू बताउँछन् ।

अख्तियारका एक जना आयुक्त किशोर सिलवाल मंसिर २५ देखि अवकाशमा गएका थिए । उनको स्थानमा आयुक्त नियुक्त हुन शर्माले लबिङ गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना उच्च पदाधिकारीले रातोपाटीसँग भने, ‘शर्माले आफूलाई अख्तियारको आयुक्त बन्न योग्य उम्मेदवारको रूपमा प्रस्तुत गर्दै त्यहाँ गएर काम गर्ने इच्छा देखाउनु भएको छ ।’

अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई र आयुक्त जय बहादुर चन्द पनि १० महिनापछि अवकाशमा जाँदै छन् । आयोगमा प्रमुख आयुक्त सहित ५ जना पदाधिकारी हुन्छन् ।

संवैधानिक परिषदले अख्तियारका पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था छ । संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्री हुन्छन् । संवैधानिक परिषदको सदस्यहरूमा प्रधान न्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुख, उपसभामुख र विपक्षी दलको नेता सदस्य हुन्छन् ।

अख्तियारको आयुक्त हुने दौडमा रहेका शर्मालाई गुण्डा नाइके राजु गोर्खालीसँग निकट रहेको आरोप लाग्दै आएको छ । शर्मा एसएसपी हुँदा गोर्खालीलाई प्रहरीले पछ्याइरहेको थियो । १० करोड चेक बाउन्स मुद्दाका फरार गोर्खालीलाई शर्माले आफ्नै गाडीमा लिएर जाँदै गर्दा प्रहरीले उनको गाडी रोकेर गोर्खालीलाई नियन्त्रणमा लिएको थियो । त्यसबेला शर्मा एसएसपीको परिचयपत्र देखाएर हिँडेको हाल बहालमा रहेका प्रहरी अधिकृत बताउँछन् । तर, शर्माले सो आरोपबारे कहिल्यै स्पष्ट पारेनन् । यसबारे रातोपाटीले प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप