खाडलको उत्खनन
सारांश
- लेखक किशन थापाको उपन्यास 'खाडल' ले नेपाली समसामयिक शैक्षिक र राजनीतिक यथार्थलाई उजागर गरेको छ।
- उपन्यासले भौतिक र अदृश्य खाडलको चित्रण गर्दै, यसभित्रको जटिलता र मानिसको जीवनमा पार्ने प्रभावबारे प्रकाश पारेको छ।
- लेखकले खाडलभित्रको दृश्यलाई पाठक समक्ष प्रस्तुत गर्ने आँट गरेको र यसको आशयबारे चर्चा गरेका छन्।
खाडल सहजताको प्रतीक होइन । खाडलको बाटो सहज ढङ्गले हिँड्न सकिन्न, अवरुद्ध हुन्छ । खाडलमा परियो भने पहिले तल झर्नुपर्छ । कति झर्दा खाडल सकिन्छ? यकिन हुन्न ।
झरेर सकियो भने पनि खाडलबाट बाहिर निस्किन उक्लिनुपर्छ । उक्लिनु कठिन हुन्छ । यसर्थ खाडलमा पर्नु भनेको भड्खारोमा जाकिनु हो, जहाँबाट मुक्ति पाउनु लगभग असम्भव हुन्छ । कि त खाडलमा पर्नै हुन्न, परिहालियो भने त्यहीँको अनुकूल चलियो भने मात्र बाँचिन्छ ।
होइन भने खाडलले आफू प्रतिकूलको मानिसलाई सर्पले भ्यागुता निले जस्तै निल्छ र अस्तित्व सखाप पारिदिन्छ । उठ्न दिने त नामै नलिए हुन्छ, शान्तिसँग बस्न पनि दिँदैन ।
खाडल दुई किसिमका हुन्छन् । एउटा, भौतिक रूपमा देखिने र अर्को, नाङ्गो आँखाले नदेखिने ।
खाडलबाहिरको दृश्य एउटा हुन्छ भने खाडलभित्रको दृश्य अर्कै हुन्छ । अधिकांश सन्दर्भमा खाडलबाहिरलाई खाडलभित्रले चलाइरहेको हुन्छ । यो कमैलाई थाहा हुन्छ । जसलाई थाहा हुन्छ, उसले कम्बल ओढेर घिउ खाने मजा लुटिरहेको हुन्छ । थाहा नपाउने इमानदार व्यक्ति आफ्नै इमानदारीको बलि चढिरहेको हुन्छ ।
उसको बलित्व कम्बल ओढेर घिउ खाने सिकारीका लागि केवल सिकार मात्र हुन्छ । सिकारी सदा मजामा हुन्छ, सिकार सदा पीडामा हुन्छ ।
काठमाडौँ उपत्यका भौगोलिक रूपमा आफैँमा एउटा खाडल हो । यसभित्र नदेखिने थुप्रै अदृश्य भ्वाङ र प्वालहरू छन्, जसलाई टाल्न खोजे ‘करिमबक्सको जुत्ता’ मात्र हुन्छ । ती प्रत्येक भ्वाङ-प्वाल एक-एक माखेसाङ्लो हुन् । तिनमा परेर गुलियोको स्वाद पाएपछि त्यहीँ माखाहरू झम्मिरहन्छन् ।
कोही बाहिर निस्किन चाहँदैन वा चाहेर पनि सक्दैन । जहाँ गुलियो, त्यहीँ भुलियो हुन्छ । जति-जति बाहिर निस्किन खोज्यो, उति-उति दलदलमा भासिँदै जान्छ । यसैलाई नै तिनले गति वा उन्नति ठान्छन् र मक्ख पर्छन् ।
यो केही समयअघिसम्मको नेपाली समसामयिक शैक्षिक र राजनीतिक कटु यथार्थ हो । यसले गर्दा दुवै क्षेत्रमा नहुनुपर्ने कुराको पहाड लाग्यो । हुनुपर्ने कुरा क्षीण मात्र भयो वा भए जस्तो मात्र देखियो । साँच्चै हुनुपर्ने काम भने भएन ।
यही नहुनुपर्नेको पहाड उधिनेर सर्वसाधारण पाठकलाई देखाउन तम्सिएका छन् किशन थापा ‘अधीर’, ‘खाडल’ उपन्यासमार्फत । पर्दाभित्र मञ्चन हुने नेपथ्यीय दृश्यलाई पाठकअगाडिको रङ्गमञ्चमा निर्धक्क प्रस्तुत गर्ने आँट र साहस उनले देखाएका छन् ।
बाहिरबाट देखिने समुद्रको शान्त तरङ्गलाई भन्दा समुद्रभित्रको उत्ताल तरङ्गलाई पिँधसम्मै पुगेर ओल्टाई-पल्टाई केस्रा-केस्रा केलाएर देखाउने काममा उनले आफूलाई अब्बल प्रमाणित गरेका छन् ।
प्रवाहको उल्टो बेगमा हेलिएर फरक पहिचान बनाउन खोज्नुभन्दा प्रवाहकै दिशामा बगेर पानीमा बसेर गोहीसँग दोस्ती गरेको आनन्द मनाउन पाइन्छ भन्ने यसको आशय देखिन्छ । त्यहाँ आनन्दको मात्रा (डिग्री) घट्नेभन्दा बढ्दै जान्छ ।
पिँधबाट सुरु भएर ‘दिन दुगुना रात चौगुना’ सिँढी चढ्न पाइन्छ । गर्नेलाई भन्दा देख्नेलाई लाज भएर के भयो र! निर्लज्ज हुँदा अचेल सफलतालाई जुन परिभाषाको आँखाले हेरिन्छ, त्यो प्राप्त हुन्छ भने मानिस त्यतातिरै लाग्छन् ।
जसरी प्राप्त भए पनि व्यक्तिगत ऐस-आराम प्राप्त भए पुग्यो । यसपछि पारिवारिक उन्नति र प्रगतिमा योगदान पुर्याउन पाए, यसभन्दा बढी के चाहियो? नियम, कानुन, विधि, प्रविधि, मूल्य, मान्यता र देश आदि भाँडमा जाओस् ।
यसै विषयलाई मिहिन ढङ्गले शब्दमा उनिएको छ ‘अधीर’ को ‘खाडल’ उपन्यासमा । यो सबै पाठकले मनन गर्नुपर्ने विषय हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण