कुवेतमा आकर्षक तलबको प्रलोभन देखाएर नेपाली चेलीको बिचल्ली, एक जना पक्राउ
सारांश
- कुवेतमा बन्धक बनाइ शारीरिक तथा मानसिक यातना दिएर महिलालाई घरको तलाबाट खसालिएको घटना सार्वजनिक भएको छ।
- मानव बेचबिखन आरोपमा एक जना पक्राउ परेका छन्, उनले महिलालाई फ्रि भिसा र टिकटको प्रलोभन देखाएका थिए।
- पीडित महिलालाई कुवेतमा घरेलु कामदारको रूपमा राखिएको थियो, कुवेत प्रहरी र युवा शक्ति नामक संस्थाको सहयोगमा उनी नेपाल फर्किइन्।
काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत पुर्याएर एक नेपाली महिलालाई बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिएको र घरको तलाबाट खसालेर घाइते बनाएको गम्भीर घटना सार्वजनिक भएको छ। काठमाडौँको बबरमहल निवासी ती महिलालाई फ्रि भिसा र फ्रि टिकटमा कुवेत पठाइदिने प्रलोभन देखाएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी जेल चलान गरेको छ।
पीडित महिलालाई सुशिला थारु लगायतका व्यक्तिहरूले काठमाडौंको टोखा नगरपालिका-२६, बिजीमल नजिकै रहेको सरु ब्युटी पार्लरमा भेटेका थिए। उनीहरूले पीडितलाई कुवेतमा ब्युटी पार्लरकै काम लगाइदिने र मासिक १२० कुवेती दिनार तलब हुने आश्वासन दिएका थिए।
आकर्षक कमाइ हुने लोभमा परेकी ती महिलालाई २०८२ असार ४ गते काठमाडौंको नयाँ बसपार्कबाट सडक मार्ग हुँदै बुटवल र नेपालगञ्जको रुपेडिया नाका प्रयोग गरी भारतको नयाँ दिल्ली पुर्याइएको थियो।
भारतको नयाँ दिल्ली पुर्याएपछि पीडितलाई भाग्न वा कसैको सम्पर्कमा आउन नदिई नियन्त्रणमा राखिएको थियो। त्यहाँबाट उनलाई हवाई मार्ग हुँदै यूएईको दुबई ट्रान्जिट बनाएर कुवेत पुर्याइयो। कुवेत पुगेपछि भने उनलाई सम्झौता अनुसार ब्युटी पार्लरमा नभई घरेलु कामदारको रूपमा एक घरमा बन्धक बनाइयो।
कुवेतमा रहँदा पीडित महिलाले चरम शारीरिक र मानसिक यातना भोग्नुपर्यो। उनलाई कामको चाप दिने, समयमा खान नदिने र कुटपिट गर्ने गरिएको जाहेरीमा उल्लेख छ। सोही क्रममा घरधनीले काम गर्न नसकेको भन्दै ती महिलालाई घरको दोस्रो तलाबाट तल धकेलिदिएका थिए। सोही घटनाका कारण उनको दुवै खुट्टा भाँचिएर उनी गम्भीर घाइते भइन्।
उनको नाजुक अवस्था देखेपछि कुवेत प्रहरीले उद्धार गरी स्थानीय अस्पतालमा उपचार गराएको थियो। कुवेतमा क्रियाशील युवा शक्ति नामक संस्थाको विशेष पहल र सक्रियतामा पीडित महिला २०८२ मंसिर ९ गते नेपाल फर्कन सफल भइन्।
नेपाल फर्किएपछि पीडितले २०८२ माघ ८ गते आफूलाई अलपत्र पार्ने र बेचबिखन गर्ने समूह विरुद्ध जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा घटनामा संलग्न सुर्खेत, गर्भाकोट गाउँपालिका-५ घर भएका ४८ वर्षीय ससिराम खड्कालाई २०८२ चैत २ गते काठमाडौँको टोखाबाट पक्राउ गर्यो।
पक्राउ परेका खड्कालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान गरेपछि चैत ५ गते काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतको थुनछेक आदेशले प्रतिवादी खड्कालाई पुर्पक्षका लागि जगन्नाथदेवल कारागार पठाइएको छ।
घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण