एन्फाको दाबी झुटो भएको राखेपको जिकिर : रंगशाला प्रयोगको अनुमति पहिल्यै दिइसकेका थियौँ
सारांश
- राखेपले एन्फाले लगाएको आरोपको खण्डन गर्दै हङकङसँगको मैत्रीपूर्ण खेल रोकिनुमा आफ्नो कुनै हात नरहेको जनाएको छ।
- राखेपले एन्फाले 'भ्रमपूर्ण समाचार' फैलाएर आफ्नो कमजोरी लुकाउन खोजेको आरोप लगाएको छ, जसले विवाद निम्त्याएको छ।
- राखेपले खेल सञ्चालनका लागि आवश्यक सबै अनुमति समयमै दिएको र एन्फाले माफी माग्नुपर्ने बताएको छ।
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) ले लगाएको आरोपको खण्डन गर्दै हङकङसँगको मैत्रीपूर्ण खेल रोकिनुमा आफ्नो कुनै हात नरहेको स्पष्ट पारेको छ। राखेपले आइतबार एक विज्ञप्ति जारी गर्दै एन्फाले ‘भ्रमपूर्ण समाचार’ फैलाएर आफ्नो कमजोरी लुकाउन खोजेको आरोप लगाएको हो।
चैत १२ गते दशरथ रंगशालामा हुने तय भएको खेल राखेपले स्वीकृति नदिएका कारण स्थगित भएको भन्दै एन्फाले यसअघि विज्ञप्ति जारी गरेको थियो। तर, राखेपका सूचना अधिकारी खुशराज दाहालका अनुसार खेल सञ्चालनका लागि आवश्यक सबै अनुमतिहरू समयमै दिइएको थियो।
राखेपको संघसंस्था समन्वय शाखाले चैत ५ गते नै प्रतियोगिता सञ्चालनको स्वीकृति दिएको र सामान्य प्रशासन शाखाले चैत ३ गते नै रंगशाला, फ्लडलाइट, स्कोरबोर्ड लगायतका पूर्वाधार प्रयोगको अनुमति दिइसकेको राखेपको दाबी छ। एन्फाले आधिकारिक रूपमा पत्र पाएर पनि खेल रोकिनुको दोष राखेपमाथि थोपर्नु खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली खेलकुदको विकासका लागि क्रियाशिल राष्ट्रिय खेलकुद परिषद्लाई भ्रमपूर्ण आरोप लगाई आफूले गर्नुपर्ने कार्य नगरी कमजोरी लुकाउने प्रयास बन्द गर्न जानकारी गराइन्छ।’
राखेपले एन्फाको यस्तो कदमले खेलकुद क्षेत्रमा नकारात्मक असर पार्ने भन्दै सरोकारवालाहरूलाई सचेत रहन समेत आग्रह गरेको छ। अनुमति दिइसकेको अवस्थामा पनि खेल नहुनुको वास्तविक कारणबारे एन्फाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने आशय राखेपको छ।
राखेपको यो पछिल्लो स्पष्टीकरणसँगै एन्फा र राखेपबिचको विवाद झनै सतहमा आएको छ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण