बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

राष्ट्रिय मान्यता प्राप्त २ दलकाे प्रमुख सचेतकको सुविधामा कटौतीदेखि लिपुलेक हुँदै चीन र भारतको व्यापार, नेपाल बेखबरसम्म

सोमबार, ०९ चैत २०८२, ०० : ००
सोमबार, ०९ चैत २०८२

सारांश

  • चीन र भारतले लिपुलेक हुँदै व्यापार सुरु गर्दा नेपाल बेखबर छ।
  • पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्वसचिवसहित २१ जनाविरुद्ध मुद्दा दायर गरियो।
  • आठ महिनामा नेपालले ११ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ।

काठमाडाैँ ।  आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–

१. लिपुलेक हुँदै चीन र भारतले अन्तर्देशीय व्यापार सुरु गर्दै

नेपाली भूभाग लिपुलेक हुँदै चीन र भारतले अन्तर्देशीय व्यापार सुरु गर्ने तयारी गरेका छन् । नेपाल भने यी दुई छिमेकी मुलुकले अघि बढाएका कदमबारे बेखबरजस्तै देखिएको छ ।

२. राष्ट्रिय मान्यता प्राप्त ६ मध्ये दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये दुई दलले संसदीय दलमा प्रमुख सचेतकको सुविधा नपाउने भएका छन् । ऐनमा भएको व्यवस्था अनुसार आवश्यक न्यूनतम सांसद संख्या पाउन नसकेका ती दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका हुन् ।

३. पोखरा विमानस्थल प्रकरणमा पूर्वसचिवसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा पूर्वसचिव र नागरिक उड्डयन प्राधिकरणका तीन पूर्वमहानिर्देशकसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

४. देउवा–कोइराला समूहले पुरानै कार्यसमितिको बैठक बोलाउने

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा र सोही महाधिवेशनमा सभापति पदका अर्का प्रत्यासी डा. शेखर कोइराला पक्ष पुरानै केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारीमा जुटेका छन् । दुवै पक्षले विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई काउन्टर दिने गरी छुट्टै बैठक राख्ने तयारी गरेका हुन् । 

५. गगन थापाको राजीनामा अस्वीकृत

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गरेको छ । आइतबार सम्पन्न बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गरेको हो । 

 

६. चुनाव परिणामले पुराना दलमा कलह, मधेसवादी शून्य, पहिचानको आन्दोलनमा प्रश्न

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनले पुराना दुई दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र कलह देखिएको छ । यी दुवै दल यतिबेला आन्तरिक कलहमा छन् । अर्कोतिर मधेसवादी दल प्रतिनिधि सभामा पुग्न असमर्थ बनेका छन् । नयाँ दल श्रम संस्कृति पार्टीले पूर्वी क्षेत्रमा हासिल गरेको सफलतासँगै कोशीमा पहिचानवादीको मुद्दा के हुने हो भन्नेबारे चासो बढेको छ ।

७. प्रतिनिधि सभाका ज्येष्ठ सदस्यको शपथ बुधबार

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले  बुधबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । सभामुख चयन नहुन्जेल प्रतिनिधि सभाको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने छ । 

८. आठ महिनामा ११ खर्ब रुपैयाँ बराबर व्यापार घाटा

चालु आर्थिक वर्षको आठ महिनामा नेपालले ११ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सो अवधिमा १२ खर्ब ८९ अर्ब रुपैयाँको सामान आयात हुँदा एक खर्ब ९१ अर्ब रुपैयाँ बराबरको सामान निर्यात भएको छ । 

९. सुनको मूल्यमा अप्रत्याशित गिरावट

सुनको मूल्यमा अप्रत्याशित गिरावट आएको छ । सुनको मूल्यमा गिरावट आउनुमा विभिन्न कारण रहेको विज्ञ बताउँछन् ।

१०. फर्जी उद्धार प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा दायर

नेपालमा पदयात्राका लागि आउने पर्यटकको बीमा रकम असुलीका लागि फर्जी उद्धारका नाममा भएको ठगी घटनामा ३२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

११. नयाँ जनादेशले पहिचानको आन्दोलनलाई कस्तो प्रभाव पार्ला ?

प्रदेशको नाम कोशी नामकरण गरेपछि चर्किएको पूर्वको पहिचानको आन्दोलन नयाँ जनादेशपछि अन्योलमा फसेको छ । यद्यपि पहिचानको आन्दोलन समाप्त भने नभएको अभियानकर्मी बताउँछन् ।

१२. ‘टक फर्वार्ड’मा रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य

फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइ बहुमतको जितसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले सरकार निर्माणको गृहकार्यमा छ । यही चैत १३ गते बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन् । सरकारमा रास्वपाले कस्ता व्यक्तिलाई लैजाला भन्ने आम चासो पनि  उत्तिकै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप