चुनावी हारले बढ्दैछ कांग्रेस-एमालेमा ‘आन्तरिक’ कलह
सारांश
- प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस र एमाले पराजित भएपछि दुवै पार्टीभित्र आन्तरिक कलह सुरु भएको छ।
- कांग्रेसले विशेष महाधिवेशन गरेर नारा दिए पनि मतदाताले विश्वास नगर्दा सिट गुमायो र पहिलोबाट दोस्रो दल बन्यो।
- एमालेमा पनि चुनावी नतिजालाई लिएर नेताहरूबीच आरोप-प्रत्यारोप चलिरहेको छ, र नेतृत्व परिवर्तनको आवाज उठेको छ।
काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजयसँगै अघिल्लो संसद्का ठुला दुइ दल नेपाली कांग्रेस र नेकपा एमालेमा कलह चर्किन थालेको छ । जेनजी आन्दोलनपछि विशेष महाधिवेशनमार्फत कांग्रेसमा नयाँ नेतृत्व र ११औं महाधिवेशनमार्फत एमालेमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि नेतृत्वमा आए पनि निर्वाचनमा उनीहरूका लागि अपेक्षित नतिजा आएन । अहिले दुवै पार्टीभित्र नेताहरू एकअर्कालाई दोषारोपण गरिरहेका छन् ।
कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले तात्कालीन संस्थापन पक्षको विरोधका बिच पुसको अन्त्यमा विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गरे l ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ को नारा दिएर र निवर्तमान सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र 'इतर समुह भनिने शेखर कोइरालाहरुले दिएको कानुनी चुनौती झेल्दै नयाँ नेतृत्व प्रतिनिधिसभाको निर्वाचनमा होमिएको थियो तर मतदाताले उसको नारामा विश्वास नगरेको प्राप्त नतिजाले देखाइदिएको छ । नयाँ जनादेश अनुसार कांग्रेस संसद्मा पहिलोबाट दोस्रो दल मात्रै बनेन, पहिलो र दोस्रोबिचको अन्तर निकै फराकिलो बन्यो ।
अघिल्लो (२०७९) निर्वाचनमा ८८ सांसदसहित संसद्को सबैभन्दा ठुलो दल बनेको कांग्रेस यो पटक ३८ सांसदसहित दोस्रोमा सीमित बनेको छ भने त्यतिबेला चौथो दल मात्र रहेको राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिट (दुई तिहाइ नजिक) जित्दै पहिलो दल बनेको छ ।
यो निर्वाचनबाट कांग्रेसले प्रतिनिधिसभामा ५० सिट गुमाएको छ । कांग्रेसको देउवा–कोइराला पक्षले सर्वोच्च अदालतमा हालेको मुद्दा त विचाराधीन छँदैछ, त्यो समुहले समानान्तर गतिविधि गर्ने तयारी पनि थालेको छ l सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक जारी रहँदा देउवा–कोइराला पक्षले छुट्टै केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेबाटै पनि कांग्रेसभित्र आन्तरिक किचलो कुन हदसम्म पुगेको छ भन्ने पुष्टि हुन्छ । त्यति मात्रै होइन, चुनावमा देउवा-कोइराला पक्षले चुनावमा आफ्नै पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको सभापति गगन थापा पक्षको विश्लेषण भइरहँदा देउवा कोइराला पक्ष भने चुनावको मुखमा नेतृत्व परिवर्तनको असर भनिरहेको छ ।

शुक्रबारबाट सुरू भएको कांग्रेस बैठकमा सभापति गगन थापाले राजीनामा दिएको विषय र राजीनामा अस्वीकृत गर्ने नेताहरुको अभिव्यक्तिलाई लिएर देउवा पक्षले ‘स्टन्ट’ र ‘नाटक’को संज्ञा दिइरहेका छन् ।
कांग्रेसको वर्तमान नेतृत्वले त चुनावमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तरघातका कारण पराजय भोग्नु परेको निष्कर्ष नै निकालेको छ । ५ हजारभन्दा कम मतान्तरले हारेका क्षेत्रहरूमा मुख्य कारण आन्तरिक (अन्तरघात) जिम्मेवार रहेको देखिएको कांग्रेस प्रवक्ता देवराज घिमिरेको भनाइ छ ।
‘निर्वाचनको सन्दर्भमा हाम्रो परम्परागत भोट कसरी ट्रान्सफर भयो भन्ने विषयमा हामी गहन छलफल गरिरहेका छौँ । यो भोटको 'माइग्रेसन' मात्रै हो कि 'माइन्डसेट' नै 'माइग्रेसन' भएको हो, त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक हेरिरहेका छौँ,’ प्रवक्ता चालिसेले भनेका छन्, ‘५ हजारभन्दा कम मतले हारिएको ठाउँमा हाम्रो पार्टीको आन्तरिक कारण प्रमुख भएको भन्ने हाम्रो निष्कर्ष छ । २०/२१ वटा निर्वाचन क्षेत्रमा त्यस्तो भएको छ ।’
त्यति मात्र होइन, केन्द्रीय कमिटी बैठकमा उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको चुनावी समीक्षा प्रतिवेदनमा विशेष महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वको बचाउ गर्दै पुरानो नेतृत्वको कमजोरीलाई बढी दोषी देखाइएको छ । शर्माको प्रतिवेदनमा कांग्रेसले मत नपाउनुमा २०७९ यता जनतामा तीन किस्तामा प्रकट भएको असन्तुष्टि औंल्याइएको छ ।
‘… यसरी सुरूमा तीन/साढे तीन वर्ष अनि अन्तिममा सवा सय दिन खेर फालेर, अहिले हामी हिसाब खोज्दैछौं, विशेष महाधिवेशनपछि बाँकी बचेको केवल ५० दिनमा परिणाम हाम्रो पक्षमा किन आएन ? यो प्रश्न सोझै खारेजयोग्य छ’, उपसभापति शर्माको प्रतिवेदनमा भनिएको छ ।
अर्को दल एमालेले गत मंसिरमा समयअगावै हतार-हतार महाधिवेशन गरेर चुनावअघि पुरानै अनुहार केपी शर्मा ओलीलाई नेतृत्वमा पुर्याएको थियो । ओली बाहेक अर्को विकल्प छैन भन्ने भाष्य खडा गर्न पुगेको एमालेलाई पनि मतदाताले नरुचाएको चुनावी नतिजाले नै पुष्टि गरिसकेको छ । अघिल्लो निर्वाचनमा प्रतिनिधिसभामा ७८ सांसद जितेको र समानुपातिक मतमा सबैभन्दा अग्रस्थानमा रहेको एमालेले यो पटक २५ मा सीमित हुँदा ५३ सांसद गुमाउन बाध्य भयो भने समानुपातिक मतमा पनि तेश्रो दलमा खुम्चियो ।
यस्तो अनपेक्षित चुनावी नतिजाको समीक्षा कांग्रेसले केन्द्रीय कमिटी बैठक बोलाएर गरिरहेको छ । एमालेले भने अध्यक्ष ओली पितृशोकमा रहेकाले औपचारिक रुपमा बैठक राखेर समीक्षा गर्न पाएको छैन । तर एमालेका शीर्ष नेतादेखि कार्यकर्ताहरुमा समेत चुनावी नतिजालाई लिएर आरोप-प्रत्यारोप चलिरहेको छ ।
कतिपय एमाले नेताहरुले नेतृत्वको कार्यशैली नै चुनावी हारको कारण भएकाले नीति र नेतृत्व पुनर्गठनको आवाज उठाइरहँदा कतिपयले त्यस्तो आवाज उठाउनेहरूमाथि सामाजिक सञ्जालमै आक्रमण गरिरहेका छन् । एमाले नेताहरु शंकर पोखरेल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे वा गोकुल बास्कोटा नै किन नहुन् अध्यक्ष ओलीको पक्ष र विपक्षमा वाकयुद्ध गरिरहेका छन् ।

नेता पाण्डेले शनिबार मात्रै पार्टीको सबै संरचना र कार्यशैली नबदल्ने हो भने एमालेलाई संकटबाट जोगाउन सकिने स्पष्ट बताएका छन् ।
‘नेतृत्व र जिम्मेवारीमा बसेर कमजोरी स्विकार्न र बदलिएर जान तयार हुनुपर्छ’, पाण्डेले भने, ‘पार्टी अहिले निर्णायक मोडमा छ, सच्चिने कि सक्किने भन्ने अवस्थाको सामना गरिरहेको छ ।’
अझै पनि समयअनुसार एमाले नसुध्रिने हो भने आगामी निर्वाचनमा एउटा स्कुटरमा अट्ने सिट मात्र आउने पाण्डे बताउँछन् ।
‘२०७४ मा झन्डै १७४ सिट जित्दा दिग्विजय गर्यौं भन्ने थियो तर त्यो जोगाउन सकेनौँ,’ पाण्डेले विगत स्मरण गर्दै भने, ‘एमाले (कम्युनिस्ट) हरू पहिला ३/४ वटा बसमा आउँथे, ७९ को चुनावमा एउटा बसमा आयौँ, अहिले माइक्रो बसमा अटिने भयो, अब अर्को चोटि स्कुटरमा अट्ने सिट मात्र आउँछ’, पाण्डे भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण