सुदूरपश्चिम एमालेभित्र चुलिएको विवाद के हो ?
सारांश
- सुदूरपश्चिममा नेकपा एमालेभित्र राजनीतिक नियुक्तिको विषयलाई लिएर विवाद बढेको छ, जसले संसदीय दलको नेता परिवर्तनको बहस निम्त्याएको छ।
- पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलको कार्यशैली र राजनीतिक नियुक्तिमा पार्टी कमिटीसँग समन्वय नगरेको आरोप लागेको छ, जसले गर्दा विवाद झनै बढेको छ।
- संसदीय दलको नेताका लागि उपनेता सन्तोष कुमारी शर्मा थापा, चक्रबहादुर मल्ल र धर्मराज पाठकको नाम चर्चामा आएको छ, तर केन्द्रको निर्देशन नआएसम्म प्रक्रिया सुरु नहुने देखिएको छ।
धनगढी । सुदूरपश्चिममा नेकपा एमालेभित्र यतिबेला आन्तरिक कलह देखिएको छ । राजनीतिक नियुक्तिको विषयबाट सुरु भएको विवाद अहिले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता नै परिवर्तन गर्नेसम्मको रस्साकस्सीमा पुगेको स्रोत बताउँछ ।
खासगरी संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलको कार्यशैलीलाई लिएर पार्टीको प्रदेश कमिटी र उनी निकटकै सांसदहरूबिच दुरी बढ्दै जाँदा एमालेभित्रको विवादले नयाँ मोड लिएको हो ।
यो किचलोको मुख्य कारण राजनीतिक नियुक्ति नै रहेको नेताहरूको दाबी छ । संसदीय दलका नेता रावलले सरकारका विभिन्न निकायमा नियुक्ति गर्दा पार्टीको प्रदेश कमिटीसँग कुनै समन्वय नगरेको आरोप लागेको छ ।
अस्पताल व्यवस्थापन समितिदेखि अन्य राजनीतिक नियुक्तिहरूमा रावलले आफ्नै ढङ्गले सिफारिस गरेपछि एमालेका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी लगायतका नेताहरू रुष्ट बनेका छन् ।
‘सरकारका विभिन्न निकायमा नियुक्ति गर्दा उहाँले पार्टी कमिटीमा कुनै परामर्श गर्नुभएको छैन । आफूखुसी सिफारिस गर्ने काम भएको छ,’ एमाले प्रदेश अध्यक्ष जैशीले भने । प्रदेश कमिटीले रावलको यो कार्यशैलीलाई समानान्तर सत्ता चलाउन खोजेको रूपमा व्याख्या गर्दै यसबारे केन्द्रलाई औपचारिक जानकारी समेत गराइसकेको छ ।
विवाद यतिमा मात्र सीमित रहेन । आइतबार राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको कृष्णपुर नगर कमिटीले संसदीय दलको कार्यालयमै तालाबन्दी गरेपछि अवस्था झनै जटिल बनेको छ । युवाहरूले रावल सम्पर्कविहीन भएको र पार्टीलाई असहयोग गर्नेहरूलाई नियुक्ति दिलाएको आरोप लगाएका छन् ।
तर, नेता रावलले भने यी आरोपहरूलाई निराधार र भ्रमपूर्ण भनेका छन् । उनले महाकाली प्रादेशिक अस्पतालको नियुक्ति पार्टीकै परामर्शमा भएको दाबी गरेका छन् ।
‘प्रदेश अध्यक्ष लगायतका नेताहरूसँग सल्लाह गरेरै सिफारिस गरिएको हो । अहिले आएर किन भ्रम फैलाइँदै छ भन्ने मलाई थाहा छैन,’ रावलले भने ।
उनले आफू बिरामी भएका कारण केही समय सम्पर्कमा रहन नसकेको बताए पनि विरोधी समूहले भने यसलाई गैरजिम्मेवारीपनको संज्ञा दिएका छन् ।
खप्तड पर्यटन विकास समितिको अध्यक्षमा बझाङकी जमुना चन्दलाई सिफारिस गरेपछि विवादले झनै उग्र रूप लिएको थियो । रावलले महिलालाई कार्यकारी भूमिकामा ल्याउन आफूले हिम्मत गरेको दाबी गरिरहँदा प्रदेश कमिटीले भने यसलाई गुटगत राजनीतिको रूपमा हेरेको छ ।
रावलले संसदीय दलको नेताको विशेषाधिकार प्रयोग गरेको बताए पनि पार्टीले यसलाई संस्थागत निर्णयविपरीत मानेको छ ।
एमालेका ११ जना प्रदेश सभा सदस्यमध्ये अधिकांश अहिले रावलको विकल्प खोज्ने पक्षमा देखिएका छन् । संसदीय दलको नेता परिवर्तनका लागि भित्री रूपमा छलफलहरू तीव्र बनेका छन् ।
दलको नेताका लागि मुख्य गरी तीन जनाको नाम चर्चामा आएको छ । तीमध्ये संसदीय दलका उपनेता सन्तोष कुमारी शर्मा थापा पहिलो नम्बरमा छिन् । थापाले आफू स्वाभाविक उत्तराधिकारी भएको दाबी गर्दै आएकी छन् । उनी महिला नेतृत्व र उपनेताको हैसियतले आफूलाई बलियो उम्मेदवार मान्छिन् ।
यस्तै चक्रबहादुर मल्लले पनि दलको नेतामा दाबी गरेका छन् । डोटीबाट निर्वाचित उनी प्रमुख सचेतकको भूमिकामा छन् । पार्टी केन्द्रसँग राम्रो सम्बन्ध भएका उनी आफ्नो पक्षमा माहोल बनाउन सक्रिय छन् ।
यस्तै धर्मराज पाठक पनि संसदीय दलको नेतामा दाबी गरिरहेका छन् । उनी सामाजिक विकास समितिका सभापति हुन् ।
पाठकले आफूलाई युवा र क्षमतावान नेतृत्वको रूपमा प्रस्तुत गरेका छन् । उनले संसदीय दललाई नयाँ ऊर्जाका साथ अघि बढाउन आफ्नो दाबी रहेको बताए ।
संसदीय दलको नेतामा उनीहरूले दाबी गरिरहे पनि पार्टी केन्द्रको निर्देशन नआएसम्म दलको नेता फेर्ने प्रक्रिया सुरु नहुने स्रोत बताउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण