सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्चमा आज पनि सुनुवाइ

मङ्गलबार, १० चैत २०८२, ११ : २२
मङ्गलबार, १० चैत २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगी र अन्य मुद्दाको अभियोगपत्र फिर्ताको सुनुवाइ सर्वोच्च अदालतमा जारी छ।
  • सर्वोच्च अदालतले लामिछानेविरुद्धको मुद्दा संशोधन गर्ने निर्णय सच्चाइएको फाइल झिकाउन आदेश दिएको छ।
  • महान्यायाधिवक्ताको निर्देशनमा लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउन खोजिएको भन्दै रिट दायर भएको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट सर्वोच्च अदालतमा आज पनि निरन्तर सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको इजलासमा सोमबारदेखि सो रिट हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ । सोमबार रिट निवेदकका कानुन व्यवसायीले सुरुआती बहस गरेका थिए । रिट निवेदकको बहस बाँकी नै छ । त्यसपछि लामिछाने पक्षका कानुन व्यवसायीले प्रतिरक्षामा बहस गर्नेछन् ।

यसअघि न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले लामिछानेसहितको मुद्दा संशोधनको निर्णय सच्चाइएको फाइल झिकाउन आदेश दिएको थियो ।

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।

पछि सो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले रिट दायर गरेका थिए । महान्यायाधिवक्ता भण्डारीले पुस ३० गते सदर गरेको सात पृष्ठ लामो ‘टिप्पणी र आदेश’ मा लामिछानेलाई सहकारी ठगीमा मात्र मुद्दा चलाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिइएको थियो ।

महान्यायाधिवक्ता भण्डारीको निर्देशनअनुसार कास्की र रुपन्देही जिल्ला अदालतमा निवेदन पेस भए पनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेका कारण सुनुवाइ हुन सकेको छैन । निर्देशनअनुसार काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयले भने लामिछानेसहितको अभियोगपत्र संशोधनका लागि जिल्ला अदालतमा निवेदन दिएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप