सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

मोदीको भिडियोले सामाजिक सञ्जालमा मच्चायो हलचल, आईशोस्पीडलाई उछिने

सोमबार, ११ साउन २०८३, १० : ३४
सोमबार, ११ साउन २०८३

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विद्यार्थीहरूलाई सम्बोधन गरेको एक इन्स्टाग्राम रिल भिडियो २४ घण्टामा ३० करोड ३० लाख भ्यूज पाई विश्व कीर्तिमान कायम गरेको छ।
  • यो कीर्तिमानले यसअघि आईशोस्पीडको नाममा रहेको ३०० मिलियन भ्यूजको रेकर्डलाई उछिनेको छ।
  • भिडियो भाइरल भएसँगै मोदीको इन्स्टाग्राम फलोअर्स १० करोड ३० लाख पुगेको छ र युवा पुस्ताले यसलाई विभिन्न ट्रेन्ड्सका साथ सामाजिक सञ्जालमा भाइरल बनाएका छन्।

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्स्टाग्राममा एक नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। विद्यार्थीहरूका नाममा जारी गरिएको उनको एक भिडियो सन्देशले २४ घण्टाभित्रै ३० करोड ३० लाख भन्दा बढी 'भ्यूज' प्राप्त गर्दै विश्वकै सबैभन्दा धेरै हेरिएको 'इन्स्टाग्राम रिल' को रेकर्ड बनाएको हो। 

यसअघि यो कीर्तिमान अमेरिकी स्ट्रिमर 'आईशोस्पीड' को नाममा थियो । उनले चर्चित सांगीतिक समूह बीटीएसका सदस्यहरूसँगको भिडियोमार्फत ३०० मिलियन भ्यूज पाएका थिए ।

तर जुलाई २३ को मध्यरातमा सार्वजनिक गरिएको मोदी भिडियोले उक्त रेकर्ड तोडेको हो । भिडियो भाइरल भएसँगै प्रधानमन्त्री मोदीको इन्स्टाग्राम फलोअर्स संख्यामा पनि ठूलो वृद्धि भएको छ। एकै रातमा करिब १० लाख नयाँ फलोअर्स थपिएपछि उनको कुल फलोअर्स संख्या १० करोड ३० लाख पुगेको छ। यो समाचार तयार पार्दासम्म उक्त भिडियोको भ्यूज ३४५ मिलियन नाघिसकेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले समाचारमा लेखेको छ । 

परीक्षामा हुने धाँधली र प्रश्नपत्र चुहावट (पेपर लीक) विरुद्ध भइरहेको 'सीजेपी' आन्दोलनको सन्दर्भमा प्रधानमन्त्रीले यो सन्देश जारी गरेका थिए ।  भिडियोमा उनले भनेका छन्, "साथीहरू, मलाई थाहा छ प्रश्नपत्र चुहावट सामान्य कुरा होइन । यसले लाखौं विद्यार्थी र उनीहरूका अभिभावकलाई ठूलो पीडा दिन्छ । त्यसैले विगत साढे दुई महिनामा यस विरुद्ध कडा कदम चालिएका छन् र दोषीहरूलाई जेल पठाइएको छ।'

भिडियो कीर्तिमानी रूपमा भाइरल भएपछि सामाजिक सञ्जालमा अर्को एक रोचक लहर पनि सुरु भएको छ। विशेषगरी युवा पुस्ता (जेनजी) ले प्रधानमन्त्रीको गम्भीर भिडियोलाई चुलबुले र मायालु अडियो ट्र्याकहरूसँग जोडेर 'कुचु पुचु' वा 'पुकी पीएम' जस्ता ट्रेन्डहरू चलाएका छन्। कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मोदीले इन्स्टाग्रामको अल्गोरिदमलाई नै परिवर्तन गरिदिएको र उनको यो 'क्यूट' अन्दाजले युवाहरूलाई आकर्षित गरेको टिप्पणी गरेका छन्।

आफ्नो भिडियोप्रति युवाहरूको यस्तो अभूतपूर्व प्रतिक्रिया देखेपछि प्रधानमन्त्री मोदीले जुलाई २४ मा अर्को एक भिडियो सन्देशमार्फत सबैलाई धन्यवाद समेत दिएका छन् । उनले युवाहरूले दिएका रचनात्मक सुझावहरूका लागि आभार प्रकट गर्दै नयाँ पुस्तासँग जोडिन पाउँदा खुसी व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप