२० मिटरको बाटो विवादले ५० करोडको लगानी जोखिममा
सारांश
- नेपालमा व्यवसायको वातावरण कमजोर रहेको र कानूनी प्रक्रिया तथा झन्झटिलाे प्रक्रियाका कारण व्यवसाय सञ्चालनमा समस्या रहेको कुरा उठाइएको छ।
- गोरखाको गण्डकी गाउँपालिकामा ५० करोड लगानीमा खुलेको रिसोर्ट बाटो विवादका कारण सेवा सञ्चालनमा अवरोध भएको छ।
- स्थानीय नेता र दलालहरूले बाटोलाई बार्गेनिङको हतियार बनाएको र पालिका तथा वडाले आवश्यक सहयोग नगरेको गुनासो सञ्चालकको छ।
काठमाडौं । नेपालमा व्यवसायको राम्रो वातावरण छैन भन्ने कुरा त हामीले देख्दै र भोग्दै आएकै विषय हो । व्यवसायिक प्रतिस्पर्धा र ग्राहक सेवामा ध्यान दिनुभन्दा कानूनी प्रक्रिया र कम्प्लायन्समा धेरै ध्यान दिनुपर्ने अवस्था नेपालमा छ ।
झण्डै दुई दर्जन भन्दा बढी नियामक निकाय, दर्जनौं कानूनी बाधा लगायतको कारणले नेपालमा व्यवसाय खोल्न, बन्द गर्न र नियमित रुपमा सञ्चालन गर्न समेत फलामको च्युरा चपाएसरह छ । कतै त गुण्डागर्दी, हप्ता असुली लगायत गैरकानूनी कार्यको चपेटामा समेत नेपालमा व्यवसायहरु पर्दै गएका छन् ।
यी सबै हुनुको प्रमुख कारण हाम्रो कमजोर समाजिक चेतना हो । कुनै ठाउँमा खुल्ने व्यवसायलाई हाम्रो समाजले ‘सकारात्मक बाह्यता’ प्राप्त गर्ने अवसरको रुपमा लिनुको सट्टा त्यसलाई सोझो नाफाको लागि दुनो सोझ्याउने माध्यमको रुपमा लिने प्रवृत्ति छ, यसले न त समाजले लाभ लिन सकेको छ, न त व्यवसायले गति नै ।
यही अवस्था गोरखाको गण्डकी गाउँपालिकामा रहेको एउटा रिसोर्टलाई परेको छ । झण्डै ५० करोडको लगानीमा खुलेको रिभर फन बिच रिसोर्टलाई २०/३० मिटर बाटो विवादले अहिले सेवा सञ्चालनमै अवरोध पुगेको सञ्चालकहरु बताउँछन् ।
- यस्तो छ रिसोर्टको अवस्थिति
पृथ्वी राजमागर्गको कुरिनटार नजिकै त्रिशुली नदीभन्दा पारिपट्टि त्रिशुलीको किनारामा अवस्थित छ रिसोर्ट ।
गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर १ बुट्टारमा अवस्थित उक्त रिसोर्ट त्रिशुली नदीको जलवहावलाई साहसिक पर्यटन र पर्यटकीय हबको रुपमा विकास गर्ने उद्देश्यले १३ वर्ष अघिदेखि सञ्चालनमा रहँदै आएको छ । रिसोर्ट र यससँग सम्बन्धित सेवाको लागि मात्रै अहिलेसम्म ५० करोड रुपैयाँ भन्दा बढी लगानी भइसकेको रिसोर्टका व्यवस्थापक सचिन धमला बताउँछन् ।

४० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टलाई एउटा पूर्ण पर्यटकीय गन्तव्य बनाउन कुनै कसर बाँकी नराखिएको व्यवस्थापक धमला बताउँछन् । रिसोर्टमा लक्जरी रुमदेखि क्याम्पिङसम्मको सुविधा छ । स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गर्दै यहाँ अन्तर्राष्ट्रियस्तरको वाटर पार्क र स्विमिङ पुल निर्माण गरिएको छ ।
त्यतिमात्रै नभएर राफ्टिङ, जिपलाइन र रोप साइक्लिङ जस्ता साहसिक खेलको समेत सुविधा छ । अहिले वार्षिक ७ देखि ८ हजार पर्यटकले रिसोर्टबाट सेवा पाइरहेको र यसबाट २० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको समेत धमला बताउँछन् । रिसोर्टले धेरैजसो स्थानीयलाई नै रोजगारी दिएको छ ।
‘हामीले बच्चादेखि वयस्क र वृद्धसम्म, मितव्ययीदेखि लक्चरी चाहने सबै प्रकारका ग्राहकले इन्जोय गर्न सक्नेगरी रिसोर्टका सेवा विस्तार गरेका छौं,' धमला भन्छन्, ‘काठमाडौँमा समेत विरलै पाइने वाटर पार्कको सुविधा हामीले यो ठाउँमा ल्याएका छौं । तर पछिल्लो समय करोडौंको लगानी र कयौं कर्मचारीको भविष्य अन्यौल हुनेगरी घेराबन्दी गर्ने खेल भइरहेको छ ।’
- के हो विवाद ?
१३ वर्षअघि रिसोर्ट सञ्चालन हुँदा त्यहाँ झोलुङ्गे पुल मात्रै थियो । पर्यटकहरु कुरिनटारसम्म गाडीमा आउँथे, त्यसपछि पैदल झोलुङ्गे पुल तरेर रिसोर्टमा पुग्दै आएका थिए । र्याफ्टिङ गरेर आउनेहरु मलेखु, बेनीघाटदेखि र्याफ्टिङ गरेर रिसोर्टमा पुग्दै आएका थिए/छन् ।
अहिले भने त्यहाँ पक्की पुल बनेको छ । झण्डै १०० मेगावाट क्षमताको निर्माणाधिन सुपर त्रिशूली जलविद्युत आयोजनाका लागि गोरखा र चितवन जोड्ने पुलको निर्माण गरिएसँगै रिसोर्टमा समेत सबै प्रकारका सवारीसाधन सजिलै पुग्ने अवस्था थियो ।
तर, रिसोर्टसँगै जोडिएको जग्गामा बाटोको विवादले अहिलेसम्म पनि गोरेटो बाटोकै भर पर्नुपरेको रिसोर्टका सञ्चालक शंकर अधिकारी बताउँछन् । यसमा स्थानीय बिचौलिया र दलालहरू समेत स्वार्थ जोडिएको उनको भनाइ छ ।
‘त्यहाँ केही स्थानीय नेता र दलालहरू छन्, जसले यो बाटोलाई बार्गेनिङको हतियार बनाएका छन्’ उनी भन्छन्, ‘उनीहरूले एउटै जग्गा दुई ठाउँमा बेचेर विवाद निकालेका छन् र अहिले हामीसँग जग्गा मागिरहेका छन् । जग्गा नदिए बाटो खोल्न दिँदैनौँ भनेर धम्क्याउँछन् ।’
- पालिका र वडाले सहयोग नगरेको गुनासो
अहिले त्यसरी अवरोध गर्ने व्यक्तिहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थानीय कार्यकर्ता रहेको बताइएको छ । र, अहिले उक्त गाउँपालिका र सम्बन्धित वडामा समेत सोही पार्टीबाट निर्वाचित जनप्रतिनिधि छन् । उनीहरुले सहजीकरण गरिदिए यो समस्या समाधान हुने सञ्चालकहरुको बुझाइ छ ।
तर, अहिलेसम्म गाउँपालिका र सम्बन्धित वडाबाट आवश्यक सहयोग नपाएको सञ्चालक अधिकारीको गुनासो छ । ‘हामीले समस्या समाधान गरेर व्यवसाय गर्ने वातावरण बनाइदिन वडा र गाउँपालिका दुवैमा आग्रह गर्यौं, तर त्यहाँबाट पनि आवश्यक सहयोग पाइएन, अहिलेसम्म दुई पक्षलाई ल्याएर छलफल गर्ने काम पनि भएको छैन,’ अधिकारी भन्छन् ।

गाउँपालिका पनि यो विवादबारे जानकार देखिन्छ । यद्यपि अहिलेसम्म औपचारिक रुपमा कुनै उजुरी दर्ता नभएको गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ बताउँछन् ।
‘त्यहाँ समस्या छ भन्ने कुरा थाहा छ, अनुगमनमा जाँदा गुनासो आएको पनि छ । तर औपचारिक रुपमा कुनै निवेदन दर्ता भएको अवस्था छैन,’ अध्यक्ष तिमल्सिना भन्छन्, ‘हाम्रो टेबलमा नआइ औपचारिक रुपमा केही गर्नसक्ने कुरा भएन । अनौपचारिक रुपमा हामीले कुरा गरिरहेकै छौं । तर, व्यक्तिगत सम्पत्तिको विषय भएकोले हामीले हस्तक्षेप गर्नसक्ने ठाउँ छैन ।’
वडामा भने विवाद समाधानको मध्यस्तकर्ताको लागि तीन महिना अघि नै निवेदन दर्ता भएको वडाध्यक्ष तोपमान गुरुङको भनाइ छ । यद्यपि निजी जग्गाको विवाद भएकोले दबाब दिन नसकिएको उनको समेत भनाइ छ ।
‘निवेदन परेको छ, हामीले मध्यस्तता गर्ने प्रयास पनि गरेका हौँ । तर यो निजी जग्गाको कुरा भएकाले हामीले दबाब दिन मिलेन,’ वडाध्यक्ष भन्छन्, ‘यहाँ जग्गा दिने भन्दा जग्गाको लिनेदिने विवाद हो । यहाँ दुवै पक्षलाई एक अर्काको जग्गा चाहिएको छ, तर कुरा मिल्न सकेको छैन भन्ने मेरो बुझाइ हो ।’
सञ्चालक अधिकारी भने यो विषयमा स्थानीय सरकारले यसमा हस्तक्षेपकारी भूमिका खेल्नसक्ने अवस्था रहेको दाबी गर्छन् । यो परम्परागत रुपमै बाटो भएकोले यसमा निजी सम्पत्ति भन्ने अवस्था नरहेको उनको भनाइ छ ।
‘हामीले जुन ठाउँमा बाटो पाउनुपर्छ भनेका छौं, त्यो राजकुलो भएको ठाउँ हो । अझ यो पहिलेदेखि नै मसानघाटसम्म जाने बाटो पनि हो । हामीले पहिले नै भएको बाटोलाई निरन्तरता दिनुपर्छ भनेका मात्रै हौं’ अधिकारी भन्छन्, ‘यो हिसाबले हामीले बाटो पाउन यहाँ विवाद गर्नुपर्ने कुरा नै होइन । गाउँपालिका र वडाले चाहेमा यसमा हस्तक्षेप गर्न सक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण