बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ऊर्जा सङ्कट र लोड व्यवस्थापन गर्न ऊर्जामन्त्री मन्त्री श्रेष्ठको निर्देशन

शुक्रबार, १३ चैत २०८२, १६ : ४८
शुक्रबार, १३ चैत २०८२

सारांश

  • नवनियुक्त ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले पश्चिम एसियाको तनावबाट ऊर्जा क्षेत्रमा आउन सक्ने संकट व्यवस्थापन गर्न निर्देशन दिए।
  • मन्त्री श्रेष्ठले लोड व्यवस्थापन, विद्युत् खपत र जनचेतना बढाउने विषयमा चासो व्यक्त गर्दै प्राधिकरणलाई आवश्यक कदम चाल्न निर्देशन दिए।
  • प्राधिकरणले ट्रान्सफर्मरको लोड अनुगमन गरिरहेको र डाइनामिक प्राइसिङको मोडेल ल्याउने तयारी गरेको जानकारी दिएको छ।

काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले पश्चिम एसियामा देखिको तनावले नेपालको ऊर्जा क्षेत्रमा पर्ने सङ्कट व्यवस्थापन गर्ने निर्देशन दिएका छन्। शुक्रबार ऊर्जा मन्त्रालयको पदभार ग्रहणपछि मातहतका निकायहरूसँगको छलफलमा नेपाल विद्युत् प्राधिकरणलाई यस्तो निर्देशन दिएका हुन् ।

मन्त्री श्रेष्ठले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यबिच ऊर्जा सङ्कट र यसको व्यवस्थापनका गर्न आवश्यक कदम चाल्न निर्देशन दिए । मन्त्री श्रेष्ठले लोड व्यवस्थापन र विद्युत् खपतमा जनचेतना बढाउने विषयमा विशेष चासो राखेका थिए ।

कार्यकारी निर्देशक शाक्यले हाल विद्युत् आपूर्तिमा समस्या नरहेको र प्राधिकरण कुनै पनि आकस्मिक माग धान्न तयार रहेको जानकारी दिए । उनले ट्रान्सफर्मरहरूको लोड नियमित अनुगमन भइरहेको र कुनै समस्या आउनु अघि नै त्यसलाई व्यवस्थापन गरिने मन्त्रीलाई जानकारी दिए ।

मन्त्री श्रेष्ठले मानिसहरूले ठुलो सङ्ख्यामा इन्डक्सन चुलोलगायतका विद्युतीय उपकरण एकैपटक प्रयोग गर्दा पर्न सक्ने असरबारे चासो राखे । ‘मानिसहरूले ठुलो सङ्ख्यामा इन्डक्सन चुलोलगायतका विद्युतीय उपकरण एकैपटक प्रयोग गर्दा के हामी त्यसलाई धान्न सक्छौँ ?’ उनले कार्यकारी निर्देशक शाक्यलाई प्रश्न गरे। 

ऊर्जामन्त्री श्रेष्ठको जवाफमा कार्यकारी निर्देशक शाक्यले एकैपटक धेरै लोड बढ्दा ट्रान्सफर्मर जल्ने जोखिम रहेको बताउँदै, यसलाई व्यवस्थापन गर्न प्राधिकरणले पूर्वसूचना प्रणाली लागू गरेको बताए । उनले बिस्तारै बढ्ने लोडलाई धान्न प्राधिकरण पूर्ण रूपमा तयार रहेको पनि आश्वस्त पारे।

पिक आवर (धेरै विद्युत् खपत हुने समय) मा विद्युतीय उपकरणको प्रयोग घटाउन जनचेतना जगाउनु पर्ने मन्त्रीको भनाइ थियो । मन्त्री श्रेष्ठले राति ११ बजेपछि लोड कम हुने भन्दै सो समयमा विद्युतीय सवारीसाधन चार्ज गर्न वा अन्य काम गर्न सुझाव दिनुपर्ने बताए ।

उनले प्रयोगमा नभएका विद्युतीय उपकरण र चार्जर बन्द गरेर २० प्रतिशत सम्म ऊर्जा बचत गर्न सकिने विषयमा जनतालाई सचेत गराउनु पर्नेमा जोड दिए । लोड व्यवस्थापनका लागि प्राधिकरणले डाइनामिक प्राइसिङको मोडेल ल्याउन लागेको पनि शाक्यले जानकारी दिए ।

स्मार्ट मिटरको प्रयोगमार्फत पिक आवरमा विद्युत् महसुल बढी र अफ–पिक आवरमा कम हुने गरी डिफरेन्सियल ट्यारिफ लागू गर्ने तयारी भइरहेको उनले बताए ।  यसले मानिसहरूलाई अफ–पिक समयमा विद्युत् खपत गर्न प्रोत्साहित गर्ने विश्वास लिइएको छ ।

ऊर्जा सुरक्षाका लागि ब्याट्री र पम्प हाइड्रो स्टोरेजको प्रयोगबारे पनि छलफल मन्त्रीले चासो राखे । प्राधिकरणले यी प्रविधिहरूको प्रयोगबारे अध्ययन गरिरहेको र छिट्टै यससम्बन्धी नीति ल्याउने शाक्यले बताए। मन्त्री श्रेष्ठले प्राधिकरणका काम कारबाहीलाई व्यवस्थित र प्रविधिमैत्री बनाउँदै दीर्घकालीन योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप