चिनियाँ शीर्ष नेताले देखेका ६ चामत्कारिक क्षेत्र
सारांश
- चीनले आगामी दशकमा प्रविधि र उद्योगमा जोड दिने योजना बनाएको छ, जसमा 'हार्ड टेक प्लस' रणनीति अपनाइनेछ।
- चीनले क्वान्टम प्रविधि, बायोम्यानुफ्याक्चरिङ, र सिक्स-जी जस्ता ६ मुख्य क्षेत्रमा ध्यान केन्द्रित गर्नेछ, जसले आर्थिक लाभ दिनेछन्।
- योजनाले इम्बोडिइड इन्टेलिजेन्स, ब्रेन-कम्प्युटर इन्टरफेस, र हाइड्रोजन ऊर्जा जस्ता क्षेत्रमा विकास र लगानी गर्ने लक्ष्य राखेको छ।
सन् २०२६ चीनको १५औँ योजना थालनीको वर्ष हो । पञ्चवर्षीय योजनाको चक्रले लामो समयदेखि चीनको आर्थिक तथा औद्योगिक दिशा तय गरेको छ । गत जनवरी ३० को साँझ चोङ्नाहाईको हाउइरेन हलमा चीनको शीर्ष नीति निर्माण संस्था अर्थात् चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक ब्युरोको पहिलो सामूहिक अध्ययन सत्र सुरु भयो ।
अध्ययन सत्रमा चीनको शीर्ष नेतृत्व पंक्ति उल्लेखनीय रूपमा बृहत् आर्थिक सहायता वा भूराजनीतिक विषयमा केन्द्रित थिएन । त्यसको साटो उनीहरू सिधै योजनाको केन्द्रीय अवधारणामा केन्द्रित देखिन्थे । जसमा भनिएको छ, ‘आगामी दिनमा बन्ने उद्योगलाई भविष्यमुखी रूपमा विकास गराउने एवं लागु गराउने ।’

वर्षको पहिलो नीतिगत बैठकले नै स्पष्ट रूपमा आगामी दिनका लागि दिशाबोध गराएको छ । निश्चय पनि चीनका हकमा यो अनौठोचाहिँ होइन । चिनियाँँ अधिकारीहरूले पढेर सुनाएको दस्तावेजको अन्तर्यमा एउटा स्पष्ट सन्देश थियो– अब चीनको आर्थिक गतिविधि सञ्चालनको तरिकामा आधारभूत फेरबदल हुँदैछ ।
अब ‘मोडेल इनोभेसन’ अर्थात् ‘इन्टरनेट प्लस’ को चरण बिस्तारै इतिहास बन्दैछ । आगामी दशक ‘हार्ड टेक प्लस’ को हुनेवाला छ । आफ्नो भाषणमा चीनका शीर्ष नेताहरूले एउटा शब्द जोड दिएर दोहोर्याइरहेका थिए । त्यो हो ‘पक्र’ । ‘प्राविधिक तथा औद्योगिक क्षेत्रमा निर्णायक उचाइलाई दह्रोसँग पक्र’, ‘विकासका पहललाई बलियोगरी पक्र’ आदि ।
भविष्यका उद्योगहरू अब ऐच्छिक वा रोजाइको विषयमात्रै रहेनन् । महाशक्ति प्रतिस्पर्धामा तिनीहरू बाध्यकारी बन्नेवाला छन् । जसले प्रविधिमा नियन्त्रण सुनिश्चित गर्छ । अबको चरणको वैश्विक अर्थतन्त्रको नियम उसैले परिभाषित गर्नेछ ।
बैठकले अबको पाँच वर्ष पुँजी, जनशक्ति तथा नीतिगत समर्थनलगायत चीनको सबै स्रोत–साधन व्यापक रूपमा ६ वटा क्षेत्रमा सोझ्याइने प्रभावकारी घोषणा गरेको छ ।
घोषणामा परेका वटा क्षेत्रहरू हुनः क्वान्टम प्रविधि, बायोम्यानुफ्याक्चरिङ, हाइड्रोजन ऊर्जा तथा न्युक्लियर फ्युजन, दिमाग र कम्प्युटर जोड्ने ‘ब्रेन–कम्प्युटर इन्टरफेस’, ‘इम्बोडिईड इन्टेलिजेन्स’ तथा ‘सिक्स–जी’।
यिनै क्षेत्र अब आउने दशकमा चीनको धन र रणनैतिक लाभको क्षेत्र हुनेछन् । आउनुस्, ती सबै रुपान्तरणकारी योजनालाई हेरौँ ।
१. ‘इम्बोडिइड इन्टेलिजेन्स’ अर्थात् शरीरसहितको ‘एआई’
सन् २०२५ लाई ‘मानवशैलीमा निर्मित रोबोटहरूको पहिलो वर्ष’ का रूपमा लिइएको छ । यसअघि नै हामीले टेस्ला कम्पनीको ‘अप्टिमस’ तथा चीनको ‘उब्टेक’ र ‘चियुआन’ जस्ता रोबोटहरूले उद्योगमा बाकस ओसारपसार गरेको देखेका छौँ । ती सामान्य रोबोटमात्रै हुन् ।
अब त्यस्ता रोबोटहरूमा ‘मस्तिष्क’ तथा दिमागको अङ्गका रूपमा ‘सेरिबेल्लम’ राखेपछि खास ‘ब्रेकथ्रु’ हुन्छ ।
सोच्नुस् त मान्छेजस्तै रोबोट हुँदा के होला !
‘मस्तिष्क’ का रूपमा काम गर्ने ‘ठुला एआई मोडेल’ हरूले के गर्ने भन्ने निधो गर्छन् । ‘जाऊ, मलाई एक गिलास पानी ल्याऊ’ भन्नेजस्ता आदेश बुझ्छन् । गिलास एवं पानी निकाल्ने ठाउँ आफैँ ठम्याउँछन् ।
चाल नियन्त्रण गर्नका लागि राखिने ‘सेरिबेल्लम’ ले अह्राएको काम कसरी गर्ने भन्ने निर्णय गर्छ । गिलासलाई नफुट्नेगरी समाउँछ । बाटोका अवरोधहरू छलेर नलडी हिँडेर आफ्नो काम गर्छ ।
परम्परागत रोबोटले निश्चित कामहरू दोहोर्याउँथे । ‘एसेम्ब्ली लाइन’ मा उही प्रकारका दोहोरिने काम गर्ने त्यस्ता रोबोटहरू परिस्थिति फेरिनासाथ काम गर्न नसक्ने हुन्थे ।
तर अबको योजनामा तयार हुने ‘इम्बोडिइड इन्टेलिजेन्स’ मा दिमाग र सेरिबेल्लमको संयोजन हुन्छ । त्यस्ता रोबोटले जटिल काम पनि सिक्न र गर्न सक्छन् । अव्यवस्थित संरचनामा पनि आफूलाई अनुकूल बनाउन सक्छन् । मान्छेको बोलीचाली वा भाषा बुझ्छन् । मसिनो गरी काम गर्न सक्छन् । साथै अनपेक्षित परिस्थितिमा पनि आफूलाई अनुकूल तयार गरेर काम गर्न सक्छन् ।
यो समय रोबोटहरू स्वचालित यन्त्रबाट बुद्धिमान साझेदारका रूपमा निर्णायक परिवर्तनको घडी हुनेछ । नीतिगत दस्तावेजहरूले स्पष्ट रूपमा चीनको ‘नयाँ देशव्यापी प्रणाली’ लाई वास्तविक जीवनको परिदृष्यमा प्रयोग र विकास गर्ने उल्लेख गरेको छ ।
त्यसका लागि जोखिमपूर्ण कामहरू, बृद्ध नागरिकको हेरचाह तथा मिहिन र सटिक उत्पादनको काम हुने उद्योगलाई थप प्राविधिक परिपक्वतामा लैजान उपयोग गरिनेछ । यो काम आउने दशकका लागि ‘स्मार्टफोन’ कै स्तरको अवसर हुनेछ ।
२. ‘ब्रेन–कम्प्युटर’ इन्टरफेसः उपचारदेखि मान्छेको क्षमता विकाससम्म
सन् २०२५ विशभर ‘ब्रेन–कम्प्युटर इन्टरफेस’ अर्थात् ‘बीसीआई’ को बजार करिब ३ अर्ब अमेरिकी डलर पुगेको थियो । त्यसमा चीनमा उपचारका लागि हुने व्यापक मागको हिस्सा ठुलो थियो । ‘न्युरालिङ्क’ तथा चिनियाँ अनुसन्धानहरूले गरेको ब्रेकथ्रु लगत्तै बीसीआई प्रयोगशालाबाट चिकित्सा अभ्यासमा पुग्यो ।

खासगरी पक्षघात भएका बिरामीहरूको उपचारमा प्रयोग हुन थाल्यो । चीनको नीतिगत तर्क प्रस्ट छः पहिला उपचारमा प्रयोग गर्ने । पछि त्यसलाई अन्य उपभोगमा पनि लैजाने ।
तत्कालै सुरु हुने पहिलो चरण अन्तर्गत पार्किन्सन, छारेरोग तथा पक्षघातको उपचारमा बीसीआईको प्रयोग सुरु हुँदैछ । त्यस क्षेत्रमा अहिलेका लागि सरकारी बीमा तथा नीतिगत सहायता बलियो पारिएको छ ।
चीनको सराकारी दस्तावेज अनुसार अहिले बीसीआईमा नीतिगत समर्थन तथा पुँजीगत लगानीको मुख्य जोड स्वास्थ्य उपचार तथा स्मरणशक्ति अभिवृद्धि गर्दै जीवनस्तर सुधार्नेमा हुनेछ ।
दोस्रो चरण अर्थात् ३ देखि ५ वर्षपछि निद्रा व्यवस्थापन, ध्यान अभिवृद्धि तथा ‘भर्चुअल रियालिटी’ अन्तक्र्रियामा केन्द्रित हुनेछ । दोस्रो चरणमा यो खालका प्रविधिलाई मानवमैत्री ढङ्गले ठुलो मात्रामा व्यावसायिक रूपमा अघि बढाइनेछ । त्यसले मान्छे र यन्त्रबिचको अन्तक्र्रियामा आधारभूत क्रान्ति ल्याउनेछ ।
धेरै कम्पनी अहिले लचिलो ‘इलेक्ट्रोड’ तथा ‘न्युरल डिकोडिङ अल्गोरिदम’ बनाउने काममा धमाधम लागेको देखिन्छ । जसले ‘ओपन ब्रेन सर्जरी’ लाई बीसीआईको सहज मानवमैत्री समाधानले विस्थापन गर्छ । उसैले बजारको ठुलो हिस्सा कब्जा गर्ने निश्चित छ ।
३. ‘सिक्स–जी’ अर्थात पृथ्वी र अन्तरीक्षको एकीकृत ‘न्युरल नेटवर्क’
यदि तपाईं धर्तीको सतहबाट न्युन–उचाइको अर्थतन्त्र, स्वचालित सवारी सञ्चालन वा ‘इम्बोडिईड इन्टेलिजेन्स’ मा विश्वास गर्नुहुन्छ भन्ने ‘सिक्स–जी’ अपरिहार्य हुन्छ ।

जमिनमा आधारित स्टेसनहरूले आकाश र समुद्रलाई पूरै समेट्न सक्दैनन् । ‘स्याटेलाइट इन्टरनेट’ अनिवार्य हुन्छ । जुन आफैँमा राष्ट्रिय सुरक्षाको रणनीतिक आधार पनि बन्छ । ‘फाइभ–जी’ ले गतिको समस्या समाधान गरेको थियो भने अब ‘सिक्स–जी’ ले ‘कभरेज’ र ‘ल्याटेन्सी’ को समस्या समाधान गर्छ ।
सन् २०२६को सुरुवातमै चीनले दोस्रो चरणको सिक्स–जी प्राविधिक परीक्षण गरेको छ । भविष्यमा स्याटेलाइट नेटवर्कहरू तथा पृथ्वीको सतहका बेस स्टेसनहरू आपसमा जोडिएपछि सञ्चार क्षेत्रमा धेरै ठुलो परिवर्तनको पानीढलो फेला पर्नेछ । स्मार्टफोनहरूमा सोझै स्याटेलाइटको कनेक्टिभिटी सामान्य बन्नेछ ।
४. न्युक्लियर फ्युजन तथा हाइड्रोजनः ऊर्जाको उच्चतम् स्वरुप
चीनले कृत्रिम सूर्यको परियोजना सञ्चालन गरिरहेको छ, जसले अबका दिनमा दिगो ‘फ्युजन रियाक्सन’मा नयाँ नयाँ रेकर्डहरू राख्दै जानेछ । अर्को मुख्य उपलब्धि व्यावसायिक रूपमा प्रयोग तथा सञ्चालन गर्न सकिने ‘कन्ट्रोल्ड फ्युजन डेमोन्श्ट्रेसन रियाक्टर’ हुनेछन् ।

ग्रिडमा जडान गरेरै बेच्ने प्रणालीका लागि समय लागे पनि हाइड्रोजन ऊर्जाले सङ्क्रमणकालीन समाधानको रूपमा काम गर्नेछ । यो सुरुमा ट्रक तथा ढुवानीमा प्रयोग हुनेछ । खासमा जिवाश्म इन्धनबाट पार पाउने एउटैमात्र व्यावहारिक बाटो यही बन्ने छ ।
५.क्वान्टम प्रविधि
परम्परागत कम्प्युटरहरू तथा ‘कम्प्युटिङ’ प्रविधि भनेको गोरुले गाडा तानेजस्तै हो । क्वान्टम प्रविधिले भने भौतिक विज्ञानको नियम विपरीत जस्तै लाग्ने ‘डाइमेन्सनालिटी रिडक्सन स्ट्राइक’ अर्थात् आयाम नै घटाउने स्तरको झट्काको प्रतिनिधित्व गर्नेछ ।
परम्परागत कम्प्युटरले एक–अर्को गर्दै पालैपालो शैलीमा ‘कम्प्युटिङ’ काम गर्छ । कुनै भुलभुलैयाको बाटो पत्ता लगाएजस्तै तरिकाले काम गर्छ । तर क्वान्टम कम्प्युटीङ भने नितान्त फरक हुन्छ । यसले एक प्रकारले ‘ईश्वरीय दृष्टिमा’ हेरेर काम गर्छ ।

एकैसाथ सबै तरिकाबाट प्रयास गरेर तत्काल सर्वाधिक उन्नत समाधान निकाल्छ । परम्परागत कम्प्युटरहरूले हजारौँ वर्ष लगाउन सक्ने औषधि पत्ता लगाउने काम सहजै समाधान हुनसक्छ । ‘इन्ट्यांगलमेन्ट’को सदुपयोग गर्दै वित्तीय तथा प्रतिरक्षा क्षेत्रमा क्वान्टम सञ्चारले सैद्धान्तिक रूपमा ह्याक गर्नै नसकिने खालका सुरक्षा प्रणाली बनाउन सम्भव हुनेछ ।
क्वान्टम सेन्सिङले कुनै कुरा पत्ता लगाउने क्षमतालाई परमाणुको तहमा पुर्याउँछ । त्यसो हुँदा जमिनको सतहमुनिको स्रोतसाधन तथा समुद्रको गहिराइका पनडुब्बीहरू सहजै ठम्याउन सकिनेछ ।
जारी १५औँ योजनामा चीनको ध्यान क्वान्टम प्रविधिलाई प्रयोगशालामा प्रदर्शनको विषयमा सीमित नराखी दैनिक जीवनमा विविध क्षेत्रमा उपयोग गर्न सक्ने स्तरमा पुर्याउने भनिएको छ । अबको समयमा जसले क्वान्टम प्रविधिमा नियन्त्रण गर्छ, आउने युगको क्वान्टम आणविक हतियार तथा सूचना सुरक्षा प्रणालीमा प्रभुत्व पनि उसैको हुनेछ ।
६. ‘बायोम्यानुफ्याक्चरिङ’ अर्थात् सृष्टिको मौन क्रान्ति
६ वटा क्षेत्रमध्ये सम्भवतः यो सबैभन्दा कम आकलन गरिएको क्षेत्र हुन सक्छ । परम्परागत सामग्रीहरू नाइलन तथा प्लास्टिक तयार गर्नका लागि खनिज तेल उत्खनन गर्नुपर्ने हुन्छ । यी पदार्थहरू अत्यधिक ऊर्जा खपत हुने तथा प्रदूषण सिर्जना गर्ने हुन्छन् ।

केही चिनियाँ कम्पनीहरू यसअघि नै अन्नबाली मकैको ‘फर्मेन्टेसन’बाट पेट्रोलियमबाट बन्ने हाराहारीकै स्तरको नाइलन बनाउन थालिसकेका छन् । त्यसको लागत पनि ज्यादै न्यून छ । यसमा केवल आर्थिक नाफा–घाटाको कुरा छैन । ऊर्जा सुरक्षाको समीकरण पनि जोडिन आइपुग्छ ।
यदि बायो म्यानुफ्याक्चरिङले २० प्रतिशतमात्रै जीवाश्म इन्धनमा आधारित कच्चा पदार्थ विस्थापन गरेको अवस्थामा आयातित तेलमा चीनको निर्भरता नाटकीय रूपमा कम हुनेछ । राष्ट्रिय स्तरमा हेर्दा बायो म्यानुफ्याक्चरिङ पनि अर्को ‘डामेन्सनालिटी रिडक्सन स्ट्राइक’ हुनेवाला छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण