बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देहीमा पशु चिकित्सक प्राविधिकहरूको राष्ट्रिय सम्मेलन : ७ देशका प्रतिनिधि र ५ सय बढी पशु चिकित्सक जुट्दै

शनिबार, १४ चैत २०८२, १६ : ००
शनिबार, १४ चैत २०८२

सारांश

  • रुपन्देहीमा पशु स्वास्थ्य, प्रविधि र अनुसन्धानबारे राष्ट्रिय सम्मेलन चैत २७ र २८ गते हुँदैछ।
  • सम्मेलनमा नेपालसहित ७ देशका प्रतिनिधि र १५ अन्तर्राष्ट्रिय वक्ताको सहभागिता रहनेछ।
  • पशु स्वास्थ्य, महामारी नियन्त्रण, खाद्य सुरक्षा र जलवायु परिवर्तनका विषयमा अनुसन्धान पत्र प्रस्तुत हुनेछन्।

बुटवल । पशु स्वास्थ्य, प्रविधि र अनुसन्धानलाई एउटै सूत्रमा उन्दै एक स्वास्थ्यको अवधारणालाई बलियो बनाउन रुपन्देहीमा पशु चिकित्सक तथा प्राविधिकहरूको भव्य राष्ट्रिय सम्मेलन हुने भएको छ। नेपाल भेटेरिनरी एसोसिएसनले आगामी चैत २७ र २८ गते रुपन्देहीको मणिग्राममा १६ औँ राष्ट्रिय भेटेरिनरी सम्मेलन आयोजना गर्ने तयारी पूरा गरेको हो।

शनिबार आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका केन्द्रीय अध्यक्ष डा.केदार सुवेदीले यो सम्मेलनले मानव, पशु र वातावरणबिचको गहिरो अन्तरसम्बन्धलाई वैज्ञानिक ढङ्गले विश्लेषण गर्ने जानकारी दिए। उनका अनुसार सम्मेलनमा नेपालका ५ सय हाराहारी पशु चिकित्सक र प्राविधिकहरूको उपस्थिति रहने अनुमान छ भने हालसम्म २५० जनाले आफ्नो नाम दर्ता गराइसकेका छन्।

यो सम्मेलन केवल नेपाली विज्ञहरूमा मात्र सीमित रहने छैन। यस पटक नेपालसहित ७ भन्दा बढी देशका प्रतिनिधिहरू र १५ भन्दा बढी अन्तर्राष्ट्रिय आमन्त्रित वक्ताहरूको सहभागिता रहने निश्चित भएको छ। विशेष गरी पशु स्वास्थ्य, महामारी नियन्त्रण, खाद्य सुरक्षा र जलवायु परिवर्तनले पशुजन्य उत्पादनमा पारेका प्रभावका बारेमा १५० भन्दा बढी अनुसन्धान पत्रहरू प्रस्तुत हुने कार्यक्रम छ।

एसोसिएसनका महासचिव डा.शङ्कर न्यौपानेले सम्मेलनको आकर्षणका रूपमा पशु स्वास्थ्य, औषधि, खोप, आहार र आधुनिक प्रविधिहरूसँग सम्बन्धित प्रदर्शनी स्टलहरू रहने बताए । यसले सहभागीहरूलाई पशु चिकित्सा क्षेत्रमा विश्वभर विकास भएका नवीनतम प्रविधि र व्यवहारिक अभ्यासबारे साक्षात्कार गराउने लक्ष्य राखेको छ।

सम्मेलनको पूर्व सन्ध्यामा चैत्र २६ गते रुपन्देहीको एक्स्ट्रा टेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालभरका भेटेरिनरीयनहरू बिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप