आजको संकट बालेनको अग्निपरीक्षा हो
दलहरूले मिलीजुली मासु र रगत चुसिसकेर प्राण मात्र येनकेन धानिरहेको अवस्थामा आजको नेपाल छ । हुन त सास रहुन्जेल आस रहन्छ नै ! संसारका अविकसित अवस्थामा रहेका कतिपय राष्ट्रहरू हाम्रो नेपालभन्दा पनि तन्नम अवस्था थिए । पछिल्लो समयमा दूरदर्शी, निःस्वार्थी, राष्ट्रवादी र सक्षम नेतृत्वले गर्दा ती देशहरू सफल राष्ट्रमा परिणत भएका उदाहरण छँदै छन् ।
सम्भावना र स्रोत प्रचुर भएको हाम्रो देश नेपालमा पनि नेतृत्व मात्र गतिलो भएमा हाम्रो देश पनि त्यस्तै सफल र समृद्धिशाली बन्ने सपना पनि बिपनामा परिणत गराउन सकिने थियो । तर खोइ ! दलबलले देश भनेको लुटेर खाने ठाउँ हो भन्ने भाष्य निर्माण गरिरहे ।
३५–३६ वर्षसम्म पनि त्यो बेहोरा देशले खेपी नै रह्यो । अनि साढे तीन दशकअघिको चैतदेखि २०८२ सालको चैतसम्ममा नेपाली जनता नेतागणदेखि चुर भइसकेको जोड घटाउले बालेन शाह जनसिंहासनमा आरोहण भएका छन् ।
नेताहरू भ्रष्ट, देशमारा र जनमारा भएकाले उनीहरू जनताबाटै पाखा लागेका हुँदै हुन् । त्यसैले देशको चौतर्फी विकास र जनकल्याणको जिम्मा नवयुवक बालेनले पाएका छन् । यो बेला भनेको सिंहदरबारमा प्रधानमन्त्रीको लहरमा बालेनको फोटो टाँस्ने मात्र कुरा हुँदै होइन ।
आजको यो संकटको घडी भनेको बालेनका लागि अग्नि परीक्षा नै हो । त्यसैले अब देशले युगयुगसम्म महामानवका रूपमा पूजा गरिने, नेपाली जनताको सास–सास र धड्कन–धड्कनमा बाँच्ने देवस्वरूप प्रधानमन्त्री बालेन बन्नेछन् वा प्रत्येक नेपालीको सास–सास र रगतको आँसुबाट निस्कने श्राप र केवल श्रापको भागीदार नराधम बालेन नै बन्ने छन् ? यसमध्ये एउटा पथ बालेनले रोज्ने बेला यही हो ।
हाम्रो देश नेपालमा भर्खरै प्रधानमन्त्री भएका ३५ वर्षे बालेनसँग सम्भावना प्रचुर देखिन्छ भने उनका लागि चुनौती पनि जटिल छ । यद्यपि बालेन युवा छन्, युगानुकुल प्रविधिका ज्ञाता र प्राविधिक विशेषज्ञ पनि छन् ।
बालेनको सानो असावधानी वा गैरजिम्मेवारीपनले पनि ठूलो राष्ट्रघात हुनसक्छ । सबै कुरा सहन सकिन्छ तर हाम्रो राष्ट्रमाथिको घात सहन सकिँदैन । यदि बालेन परजीवी नभई जनजीवी भए भने नेपाली जनता सधैँ बालेनका साथमा हुनेछन् । तर उनले राष्ट्रघात गरे भने र उनी जनघाती भए भने जनताले बालेनलाई पनि धुलो नै चटाउने छन् ।
व्यक्तिगत रूपमा भन्नुपर्दा बालेनलाई मैले शङ्कास्पद व्यक्तिका रूपमा नियाल्दै आएकी थिएँ । तर बालेनले ०८२ चैत १३ गते रामनवमीको पवित्र दिनमा सनातनी धर्म संस्कृतिलाई अपनाएर आफ्नो शपथ ग्रहण गराएकोमा र एक जना सनातनी भएका नाताले म पनि अब बालेनको सानोतिनो समर्थक बन्न पुगेँ ।
त्यसो त बालेनले महानगरपालिकाको मेयर हुँदा नै लथालिङ्ग भइसकेका काठमाडौँका प्राचीन मठमन्दिर जीर्णोद्धार गरेर सनातनप्रतिको आफ्नो प्रगाढ धार्मिक आस्था प्रकट गरिसकेका हुँदै हुन् ।
कुनै पनि देशका हरेक नागरिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिसँग गाँसिएकै हुन्छन् । सोही अनुरूप जीवनको प्रारम्भिक अवस्थामा म नेपाली काँग्रेसमा सम्बद्ध थिएँ । ०४६ सालपछि नेपाली काँग्रेसमा पनि व्यक्तिवादी चिन्तन हाबी भएको देखेर म श्री ५ कै नेतृत्वको पछि लागेँ ।
त्यसपछि मैले ‘माल्दाइलाई चिठी’ कविता संग्रह नै लेखेकी हुँ । तर कविताको भाका भएरै हो कि ! राजदरबारबाट पनि नेपाली जनताले चाहेजस्तो खासै हुन सकेन । अन्ततः हाम्रो आस्थाको केन्द्र राजसंस्थालाई पनि दलहरू मिलेर बढारे ।
‘धीपधीप’ नाउँ गरेको मेरो राष्ट्रवादी कविताहरूको संग्रहमा पनि ‘राष्ट्रका लागि राजनीति भनेको व्यक्तिको मेरूदण्ड झैँ हुनेरहेछ । राजनीतिमा रोग लागेकाले देश रोगी’ भएको लेखेकी थिएँ । तर दलबलले जनताप्रति गैरिजिम्मेवारी र राजालाई नै पनि चारैतिरको छेकबार गरेपछि के लाग्छ र ! त्यसैले अहिले तिनै दलबललाई जनताले कठोर दण्ड दिएका हुन् ।
नेपालको राजनीतिमा अप्रत्याशित रूपले बालेनको प्रवेश भएको छ । उनको उत्साहजनक उपस्थितिले संसारभरिका ओइलाएका सबै नेपाली मनहरूमा घाम लागेको छ र मैले पनि सोही अनुभूत गरेकी छु ।
हुन त, दलहरूले तिसौँ वर्षसम्म दसैओैँला घिउमा डुबाएको काठमाडौँ महानगरपालिकाको मेयरका रूपमा काठमाडौँका जनताले निर्दलीय बालेनलाई चुनेकै थिए । बालेनको दिग्विजयको त्यो चमत्कारिक दृश्यले संसारलाई चकितै पारेको थियो ।
झन् यतिबेला बालेनलाई नेपाली जनताले सम्पूर्ण देश र जनताको भविष्यको जटिल र बृहत्तर जिम्मेवारी नै बोकाएका छन् । यो बेहोरा बालेनका लागि भाग्य हो या अभाग हो भन्ने बेहोराको निष्कर्ष हेर्न जनता नै आतुर छन् ।
बालेनको सानो असावधानी वा गैरजिम्मेवारीपनले पनि ठूलो राष्ट्रघात हुनसक्छ । सबै कुरा सहन सकिन्छ तर हाम्रो राष्ट्रमाथिको घात सहन सकिँदैन । यदि बालेन परजीवी नभई जनजीवी भए भने नेपाली जनता सधैँ बालेनका साथमा हुनेछन् । तर उनले राष्ट्रघात गरे भने र उनी जनघाती भए भने जनताले बालेनलाई पनि धुलो नै चटाउने छन् ।
शायद त्यतिले मात्र पनि उनीप्रति नसियत नपुग्न सक्छ । किनभने प्रायः सारा जनताले बालेनलाई मन, वचन र कर्मले सिंहासनमा राखिदिएका छन् । नेपालको इतिहासमा त्यस्तो भाग्यमानी मान्छे एक मात्र बालेन देखा परेका छन् ।
संसारमा कहिल्यै पराधीन नभएको देशको नाउँ नेपाल हो । पृथ्वीनारायण शाहद्वारा एकीकरण गरिएको र राजा महेन्द्रबाट राष्ट्रियता बचाएर र विकासको रेखाङ्कन गरिएको सार्वभौमसत्ता सम्पन्न नेपालमाथि फिरङ्गीले आँखा नलगाउन् । चारैतिर भाँडिएको नेपालका लागि राष्ट्रिय एकताका सिङ्गो मियो गाड्न बालेन अघि सरुन् ।
मेरा वयका मानिसले छोरा पुस्ताका बालेनलाई मेरो सार्वभौम राष्ट्रको प्रधानमन्त्रीका रूपमा पाउँदा म आफ्नै सन्तानको उपलब्धिले झैँ रमाएकी छु । मलाई राष्ट्रको समृद्धि र सारा नेपाली जनताको मुहारमा सुखको मुस्कान हेर्ने इच्छा छ । जबसम्म राष्ट्र समृद्ध हुँदैन तबसम्म व्यक्ति जति नै समृद्ध भए पनि सुखी र शान्त हुनै सक्तैन भन्ने कुरा मैले राम्ररी बुझेकी छु ।
सरकार प्रदत्त जेष्ठ नागरिक भत्ता खान थालिसकेकी मलाई बालेनसँगबाट कुनै स्वार्थसिद्धि गर्नु छैन । बालेन सरकारले मलाई व्यक्तिगत रूपमा केही दिनु पर्दैन । कुनै पनि निजी स्वार्थ राखेर बालेनलाई मैले दसैओैँलाको छाप लगाएकी हुँदै होइन ।
मलाई त नेपालको समृद्धि, आम जनताको स्तरोन्नति र राष्ट्रिय एकताको सवालसित मात्र नै सरोकार छ । त्यसैले म दोहोर्याएर भन्छु— प्रधानमन्त्री बालेनले सधैँ हेक्का राखेर काम गरून् !
संसारमा कहिल्यै पराधीन नभएको देशको नाउँ नेपाल हो । पृथ्वीनारायण शाहद्वारा एकीकरण गरिएको र राजा महेन्द्रबाट राष्ट्रियता बचाएर र विकासको रेखाङ्कन गरिएको सार्वभौमसत्ता सम्पन्न नेपालमाथि फिरङ्गीले आँखा नलगाउन् । चारैतिर भाँडिएको नेपालका लागि राष्ट्रिय एकताका सिङ्गो मियो गाड्न बालेन अघि सरुन् ।
फिरङ्गीको स्वार्थ सिद्धिको झण्डा नेपालमा नगाडियोस् । असंलग्न परराष्ट्रनीति अवलम्बन गरेको राष्ट्रको हितबाहेकका कुनै पनि सम्झौता बालेनले गर्ने छैनन् । यही बालेन सरकारले राष्ट्रिय अस्तित्वलाई नेपालीको शिरदेखि माथिमाथि र अझै माथि पुर्याउन् ।
देशभक्त बालेनमाथि कसैले पनि विदेशी दलालको बिल्ला नथोपरुन् । यदि उनीमाथि त्यस प्रकारको भारी बोकाउने फिरङ्गी आई लागे भने बरू उनले आफू सहिद हुने काम गरुन् र उनी नेपालको इतिहासमा अजर अमर भईजाउन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण