एसईईको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा
सारांश
- आजबाट एसईई परीक्षा सुरु भएको छ, जसमा ५ लाखभन्दा बढी विद्यार्थी सहभागी छन्।
- परीक्षा देशभरका १९६६ केन्द्रमा सञ्चालन हुनेछ, जसमा काठमाडौंमा सबैभन्दा धेरै र मनाङमा सबैभन्दा कम परीक्षार्थी छन्।
- परीक्षा नियन्त्रण कार्यालयले एक महिनाभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य लिएको छ, विशेष व्यवस्थासहित परीक्षा सञ्चालन हुँदैछ।
काठमाडौँ । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप-नियन्त्रक विष्णुप्रसाद ज्ञवालीका अनुसार आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा रहेको छ ।
यस्तै, चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।
यस वर्ष ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। एसईई परीक्षाका लागि देशभरका १ हजार ९ सय ६५ वटा र जापानमा एउटा गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएको छ। जम्मा ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएको उप-नियन्त्रक ज्ञवालीले बताए।
सबैभन्दा बढी परीक्षार्थी काठमाडौंमा रहेका छन् भने सबैभन्दा कम मनाङमा छन्। ज्ञवालीका अनुसार काठमाडौंका १ सय ३५ वटा परीक्षा केन्द्रबाट ४१ हजार १ सय ५५ जना विद्यार्थीले परीक्षा दिँदैछन्। सबैभन्दा कम मनाङमा एउटा मात्र परीक्षा केन्द्र रहेको छ जहाँबाट ३७ जना विद्यार्थीले परीक्षा दिनेछन्। जापानमा रहेको केन्द्रबाट भने २३ जना विद्यार्थी सहभागी हुनेछन्।
यस वर्ष ग्रेड वृद्धिका लागि ६५ हजार ८ सय ९५ जना विद्यार्थी पनि परीक्षामा सहभागी हुँदैछन्। एकपटक परीक्षामा असफल भएका विद्यार्थीलाई कम्तीमा तीनपटक सम्म परीक्षा दिने अवसर प्रदान गरिएको छ। २०७९ सालमा नियमिततर्फ परीक्षामा सहभागी भएर हालसम्म उत्तीर्ण हुन नसकेका विद्यार्थीहरू पनि यसपटक परीक्षामा सहभागी रहेका छन्।
उप-नियन्त्रक ज्ञवालीका अनुसार बालसुधार गृहमा रहेका विद्यार्थीका लागि नजिकको परीक्षा केन्द्रमार्फत परीक्षा दिने व्यवस्था मिलाइएको छ। बालगृह नजिकै रहेको परीक्षा केन्द्रको केन्द्राध्यक्षले प्रश्नपत्र र उत्तरपुस्तिकासहित निरीक्षक पठाएर बालगृहमा नै परीक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ।
परीक्षा सकिएपछि संकलित उत्तरपुस्तिका सोही परीक्षा केन्द्रको विद्यार्थी भएमा अरू परीक्षार्थीसँगै राखेर जाँच गरिनेछ भने फरक केन्द्रको भएमा छुट्टै प्याकिङ गरेर परीक्षा नियन्त्रण कार्यालय पठाउने व्यवस्था गरिएको छ।
विशेष क्षमता तथा अपाङ्गता भएका विद्यार्थीलाई पनि उनीहरूको आवश्यकताअनुसारको व्यवस्थापन गरिएको छ। अपाङ्गताको प्रकृतिअनुसार अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको छ। ३ घण्टाको परीक्षामा उनीहरूलाई थप १ घण्टा ३० मिनेट समय दिइनेछ।
आफैं लेख्न नसक्ने विद्यार्थीका लागि लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइनेछ। लेखन सहयोगी विद्यार्थीलाई विद्यालयले फोटोसहित प्रमाणित गर्नुपर्नेछ र उनीहरूलाई छुट्टै कक्षाको व्यवस्था गरेर परीक्षा दिने प्रबन्ध मिलाइएको छ।
परीक्षा बिहान ८ बजेदेखि सुरु हुने छ। साथै, प्रवेशपत्र, आवश्यक लेखन सामग्री साथमा ल्याउन तथा मोबाइललगायत निषेधित सामग्री नल्याउन र निर्धक्क भएर परीक्षा दिन अनुरोध गरिएको छ।
परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईईको नतिजा एक महिनाभित्रै प्रकाशन गर्ने लक्ष्यसहित तयारी तीव्र पारेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण