बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कम्बोडियाका स्क्यामिङ सेन्टरबाट थप सात नेपालीको उद्धार

सोमबार, २३ चैत २०८२, १५ : १२
सोमबार, २३ चैत २०८२

सारांश

  • कम्बोडियाका अनलाइन स्क्यामिङ सेन्टरबाट थप सात नेपालीको उद्धार गरी सोमबार काठमाडौँ ल्याइएको छ।
  • बैंककस्थित नेपाली राजदूतावासको पहलमा गैरकानुनी काममा लगाइएका र अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्काइएको हो।
  • दूतावासले प्रलोभनमा परेर भिजिट भिसामा कम्बोडियालगायतका देशमा रोजगारीका लागि नजान सबैलाई सचेत गराएको छ।

काठमाडौँ । कम्बोडियाका विभिन्न अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएका थप सात जना नेपाली नागरिकहरूको उद्धार गरिएको छ ।

बैंककस्थित नेपाली राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरिएका उनीहरू सोमबार काठमाडौँ आइपुगेका हुन्। यसअघि पनि कम्बोडियाबाट दर्जनौँ नेपालीको उद्धार भइसकेको छ । 

विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँका अवैध केन्द्रहरूमा अनलाइन ठगी लगायतका गैरकानुनी काममा लगाउने गरिएको पाइएको छ। कतिपय नेपालीहरू भिसा अवधि सकिएर अलपत्र परेको र कम्पनीहरूले राहदानी समेत जफत गरिदिँदा समस्यामा परेको दूतावासले जनाएको छ। राहदानी हराएका वा जफत भएका नेपालीहरूका लागि दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र (ट्राभल पर्मिट) जारी गरी स्वदेश फिर्तीमा सहजीकरण गरिरहेको छ ।

पछिल्लो समय कम्बोडिया जाने नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको दूतावासको तथ्याङ्कले देखाएको छ । सन् २०२१ मा जम्मा १०१ जना नेपाली कम्बोडिया गएकोमा सन् २०२५ मा यो संख्या बढेर ९,६७६ पुगेको छ ।

यसरी भिजिट भिसामा गएर अलपत्र पर्ने र ठगीमा पर्ने क्रम बढेपछि दूतावासले छिटो र धेरै पैसा कमाउने लोभमा परेर कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता मुलुकमा भ्रमणको बहानामा रोजगारीका लागि नजान सचेत गराएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप