बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोटरसाइकलको तेल चोर्दा चोर्दै समातिए, कोठा खानतलासी गर्दा खुल्यो चोरी गर्ने गिरोहको रहस्य

सोमबार, २३ चैत २०८२, १५ : ५५
सोमबार, २३ चैत २०८२

सारांश

  • काठमाडौँको कीर्तिपुरमा मोटरसाइकलबाट पेट्रोल चोरी गरिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन्।
  • पक्राउ परेका युवकको सूचनाका आधारमा प्रहरीले चोरीमा संलग्न थप तीन जनालाई नियन्त्रणमा लिएको छ।
  • उनीहरूको कोठाबाट नगद, सुनचाँदीका गहना, तामाका मूर्ति र चोरीका मोटरसाइकल बरामद गरिएको छ।

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा मोटरसाइकलबाट पेट्रोल चोरी गरिरहेको अवस्थामा पक्राउ परेका एक युवकको माध्यमबाट प्रहरीले चोरीमा संलग्न गिरोहलाई नियन्त्रणमा लिन सफल भएको छ ।

आइतबार राति कीर्तिपुर नगरपालिका ९ स्थित एक घरको पार्किङमा राखिएको मोटरसाइकलबाट पेट्रोल निकाल्दै गर्दा बर्दिया घर भएका २१ वर्षीय समीर विकलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको थियो। समीर पक्राउ परेपछि उनले दिएको सूचनाका आधारमा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ भने उनीहरूको डेराबाट ठुलो परिमाणमा नगद र चोरीका सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा बर्दियाको गुलरियाका २३ वर्षीय सुवाश विक, नुवाकोट बेलकोटगढीका २८ वर्षीय रमेश सदाशंकर र बर्दिया बाँसगढीका २३ वर्षीय सन्देश श्रीपाली रहेका छन्। समीरको कोठा खानतलासी गर्दा प्रहरीले तामाको मूर्तिदेखि सुनका गहना र नगदसम्म फेला पारेको हो ।

प्रहरी टोलीले उनीहरूको साथबाट ५६ हजार रुपैयाँ नगद, ४० थान तामाको जस्तो देखिने मूर्ति, १५ बन्डल चुरोट र १० थान मोबाइल बरामद गरेको छ ।

प्रहरीले बरामद गरेको सामग्रीमा सुनको जस्तो देखिने कानको झुम्का, रातो पोतेसहितको नेकलेश, दुई थान शिरबन्दी र चाँदीको पाउजु समेत रहेका छन् । त्यति मात्र नभई उनीहरूले प्रयोग गर्ने र चोरी गरेका दुई वटा मोटरसाइकल र १० थान हेलमेट समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका चारै जनामाथि अहिले थप अनुसन्धान भइरहेको छ। उनीहरूले यी सामानहरू कहाँबाट र कहिले चोरी गरेका हुन् भन्नेबारे प्रहरीले सोधपुछ गरिरहेको छ ।

कीर्तिपुर वृत्तबाट खटिएको विशेष टोलीले यो सफलता हात पारेको हो। पक्राउ परेकाहरूलाई चोरी मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप