बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचनपछि सिन्धुली : विद्रोहदेखि समाजवादी कार्यदिशातर्फ

मङ्गलबार, २४ चैत २०८२, १५ : ४७
मङ्गलबार, २४ चैत २०८२

सारांश

  • सिन्धुलीमा देखिएको विद्रोह माओवादी आन्दोलनभित्रको वैचारिक असन्तुष्टि र रूपान्तरणको संगठित अभिव्यक्ति बनेको छ।
  • यो विद्रोह केवल संगठनात्मक असन्तुष्टि नभई समाजवादी कार्यदिशाको विकासका लागि गरिएको ऐतिहासिक आवश्यकता हो।
  • रौतहट, झापा र सिन्धुलीको सक्रियताले कम्युनिस्ट आन्दोलनलाई नयाँ वैचारिक दिशा दिने आधार तयार गरेको छ।

संघीय निर्वाचनपछिको प्रारम्भिक समीक्षाका क्रममा हामी रौतहट हुँदै सिन्धुली पुग्यौँ । रौतहटमा सिन्धुली–२ मा जिल्ला कार्यदलबाट अगाडि सारिएका विद्रोही उम्मेदवारको पक्षमा खुलेर ऐक्यबद्धता जनाउने कमरेडहरूसँगको भेट औपचारिक मात्र थिएन; त्यो गहिरो आत्मीयताको अभिव्यक्ति थियो । 

सिन्धुलीका विद्रोही कमरेडहरूसँगको संवादमा देखिएको दृढता उल्लेखनीय थियो । उनीहरू सतिसालझैँ अडिग थिए । उनीहरूले केवल व्यक्तिगत साहस मात्र प्रदर्शन गरेनन्, आन्दोलनभित्र विकसित ऐतिहासिक चेतनाको पनि सशक्त अभिव्यक्ति दिए । त्यहाँको  भेटघाट केवल  औपचारिक थिएन, विद्रोहको जनस्तरीय स्वीकारोक्ति र प्रतिबद्धताको सशक्त संकेत थियो । 

संस्थापन पक्षले जिल्ला सेक्रेटरी कमरेड विनोद विकलाई बैठकमा आमन्त्रण गरी गरिएको दुव्र्यवहारप्रति उत्पन्न आक्रोश स्वाभाविक रूपमा तीव्र बन्यो । बुद्धिमान माझी (वसन्त), दीर्घराज श्रेष्ठ र पानीराज बम्जनलगायत १४ जना कमरेडमाथि कारवाहीको सिफारिस भएको घटनाले संगठनभित्र गहिरिँदै गएको संकटलाई उजागर मात्र गरेन, आगोमा घिउ थप्ने काम गर्‍यो । 

सिन्धुलीमा देखिएको विद्रोह आकस्मिक प्रतिक्रिया होइन । यो लामो समयदेखि थिचिँदै आएको असन्तुष्टिको विस्फोट हो । यसका जरा संगठनभित्र जनवादी केन्द्रीयताको क्षयिकरण, विचार–नीति–व्यवहारबिचको बढ्दो अन्तर र नेतृत्वको वैधतामाथि देखिएको संकटसम्म पुगेको छ । प्रचण्डमा रूपान्तरण सम्भव छ वा छैन भन्ने कुरा सिन्धुलीको अन्तरसंघर्षको पटाक्षेपले नै निर्धारण गर्छ भन्ने हाम्रो साझा बुझाइ तथ्यमा आधारित रहेको पुष्टि भयो । 

विगत तीन वर्षदेखि अग्रज कमरेडहरूबिच हुँदै आएको विचार–विमर्शले यसप्रकारका गैर–सर्वहारा प्रवृत्ति विरुद्ध संघर्षको बीउ रोपेको थियो । जुन सोचे अनुरुप नै मूलतः सफल भईसकेको छ । यसअर्थमा, यो विद्रोह केवल असन्तुष्टि होइन, यो वैचारिक पुनर्संरचनाको प्रारम्भिक अभिव्यक्ति हो । त्यसैले यसलाई समाजवादी कार्यदिशाको विकास र कार्यान्वयनसँग जोडिएको ऐतिहासिक आवश्यकताका रूपमा बुझ्नुपर्छ ।

यस विद्रोहमा रौतहटका कमरेडहरूले जोखिम मोलेर देखाएको भौतिक तथा नैतिक ऐक्यबद्धता र झापाबाट आएका समर्थनका स्वरहरूले स्पष्ट सन्देश दिन्छन्– यो केवल एउटा जिल्लाको असन्तुष्टी होइन; माओवादी आन्दोलनभित्र विकसित व्यापक वैचारिक द्वन्द्वको संगठित अभिव्यक्ति हो ।

निर्वाचनकै क्रममा सिन्धुली पुगेका पूर्वका एकजना माओवादी नेताले भनेका थिए, ‘सिन्धुली पूर्वको आस्थाको केन्द्र हो, संयोग मात्र होइन ।’ यो अभिव्यक्तिले गहिरो ऐतिहासिक यथार्थलाई संकेत गर्छ । यसले देखाउँछ कि सिन्धुली केवल विकसित भौगोलिक क्षेत्रका रुपमा मात्र नभई, आन्दोलनको वैचारिक उर्जा उत्पादन गर्ने केन्द्रको रुपमा पुनः उदाउँदैछ । 

जनयुद्धकालमा ‘पूर्वको रोल्पा’ का रूपमा चिनिएको सिन्धुलीले त्यतिबेला प्रतीकात्मक भूमिका खेलेको थियो; आज फेरि समाजवादी कार्यदिशाको कार्यान्वयनका लागि नयाँ पहिचानसहित त्यही ऐतिहासिक भूमिकातर्फ गुणात्मक रूपमा फर्किदै गरेको संकेत देखिन्छ । यो पुनरावृत्ति मात्र होइन, रूपान्तरणको सम्भावना हो । 

आजको यथार्थ के हो भने जनचेतना अब केवल भावनात्मक नारामा सीमित छैन । यो अनुभव, परिणाम र नेतृत्वप्रतिको विश्वासमा आधारित बन्दै गएको छ । रौतहटको सक्रियता, झापाको चिन्ता र सिन्धुलीको विद्रोह, यी तीन धारा मिलेर आन्दोलनभित्र नयाँ वैचारिक पुनर्संयोजनको संकेत गर्छन् ।

रौतहट, झापा र सिन्धुली केवल भौगोलिक एकाइ होइनन्; यी कम्युनिस्ट आन्दोलनका ऐतिहासिक प्रतीक हुन् । जब यस्ता प्रतीकहरू चेतन रूपमा व्यवहारमा प्रकट हुन्छन्, तब नयाँ शक्ति निर्माणको प्रक्रिया सुरु हुने आधार तयार हुन्छ । त्यसैले यी क्षेत्रहरूको पुनः सक्रियता स्वयंमा आन्दोलनले नयाँ दिशा लिन सक्ने संकेत हो । 

अब मुख्य प्रश्न कार्यदिशाको हो । यदि यस विद्रोहलाई केवल संगठनात्मक वा कार्यशैलीगत असन्तुष्टिमा सीमित गरियो भने यो क्षणिक घटना बनेर हराउनेछ । तर यसलाई संगठित, वैचारिक र लक्ष्यनिष्ठ आन्दोलनमा रूपान्तरण गर्न सकियो भने, यसले नयाँ समाजवादी धाराको ठोस आधार निर्माण गर्न सक्छ । 

आगामी कार्ययोजना

आगामी कार्ययोजनाका लागि रणनीतिक लक्ष्य र कार्यान्वयनका उपायहरु निर्दिष्ट गर्नु पर्नेछ । यसलाई निम्नगरी लिपिवद्ध गर्न सकिन्छ । आगामी कार्ययोजनालाई स्थानीय विद्रोहलाई राष्ट्रिय स्तरको वैचारिक–संगठनात्मक आन्दोलनमा रूपान्तरण गर्ने । व्यक्तिवादी तथा स्वेच्छाचारी निर्णय प्रक्रियाविरुद्ध वैचारिक संघर्षलाई तीव्र बनाउने । इतिहासका छुटेका कडीहरूलाई पुनः जोड्दै नयाँ समाजवादी धारा निर्माण गर्ने ।
त्यस्तै कार्यान्वयनका उपायहरुमा केन्द्रीय वैचारिक मञ्च निर्माण गर्ने, जहाँ बहस, नीति निर्माण र संगठनात्मक समन्वय एकीकृत रूपमा अघि बढ्न सकोस् । भुईँतहमा जनसम्बन्धमा आधारित, उत्पादन–केन्द्रित र आत्मनिर्भर संगठन निर्माण गर्ने । जनयुद्धको प्रत्यक्ष अनुभव नभएको नयाँ पुस्तालाई केन्द्रमा राखेर आन्दोलनको पुनर्संरचना गर्ने । 

तथा जोड–घटाउमा आधारित, व्यक्तिगत स्वार्थकेन्द्रित ध्रुवीकरण र एकता अब असफल भइसकेका छन् । कम्युनिस्ट आन्दोलन तिब्र गतिमा विघटोन्मुख छ । अब आवश्यक छ– स्पष्ट दृष्टि, वैचारिक प्रतिबद्धता र संगठनात्मक अनुशासनमा आधारित नयाँ आरम्भ अर्थात जगको निर्माण । 

अब प्रश्न विकल्पको होइन, ऐतिहासिक जिम्मेवारीको हो । सही निर्णय लिन सकिएन भने इतिहासले केवल माफी नदिने मात्र होइन हामीलाई नै अस्वीकार गर्ने निश्चित छ । त्यसैले गम्भीरतापूर्वक आ–आफ्नो भूमिकामा खटौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हरिबोल गजुरेल
हरिबोल गजुरेल
लेखकबाट थप