बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजामौलीको मेगा प्रोजेक्ट ‘वाराणसी’को कथा लिक

बिहीबार, २६ चैत २०८२, ०६ : ४७
बिहीबार, २६ चैत २०८२

सारांश

  • निर्देशक एसएस राजामौलीको नयाँ चलचित्र 'वाराणसी'को कथा टाइम ट्राभलमा आधारित रहेको खुलासा भएको छ।
  • महेश बाबु र प्रियंका चोपडा मुख्य भूमिकामा रहने यो चलचित्र ईसापूर्व ७२०० देखि सन् २०२७ सम्मको समय यात्रामा आधारित छ।
  • पृथ्वीराज सुकुमारनले यस चलचित्रमा खलनायकको भूमिका निर्वाह गर्ने चर्चा छ।

हैदराबाद । दक्षिण भारतीय चलचित्रका दिग्गज निर्देशक एसएस राजामौलीको प्रतिक्षित चलचित्र ‘वाराणसी’ छायांकन नसकिँदै चर्चाको शिखरमा पुगेको छ। हलिउडको ‘स्पाइडर म्यान: नो वे होम’ जस्ता चलचित्रमा काम गरिसकेको भिजुअल इफेक्ट्स कम्पनी ‘सिनेसैट’ले आफ्नो पोर्टफोलियोमा फिल्मको संक्षिप्त विवरण राखेपछि यसको कथा लिक भएको हो।

प्रियंका चोपडा र महेश बाबुको मुख्य भूमिका रहने यो चलचित्र पूर्ण रूपमा टाइम ट्राभलमा आधारित हुने खुलासा भएको छ। लिक भएको जानकारी अनुसार महेश बाबुले चलचित्रमा ‘रुद्र’ नामक एक शिव भक्तको भूमिका निभाउँदैछन्।

उनी असीमित शक्ति भएको एक रहस्यमयी ब्रह्माण्डीय वस्तुको खोजीमा समयको यात्रामा निस्कन्छन्। सदियौँ पुराना रहस्यहरू सुल्झाउँदै जाँदा रुद्रले आफूलाई जुन मिसनमा पठाइएको हो, त्यसको पछाडि एउटा भयानक षड्यन्त्र लुकेको थाहा पाउँछन्। आफूलाई समयको यात्रामा पठाउने शक्तिले नै वास्तवमा विश्वमाथि राज गर्ने कुत्सित मनसाय राखेको उनले महसुस गर्छन्।

चलचित्रमा भिलेनको भूमिकामा दक्षिण भारतीय अभिनेता पृथ्वीराज सुकुमारन देखिने चर्चा छ। उनको चरित्रको नाम ‘कुम्भ’ रहने र उनले नै महेश बाबुको चरित्र रुद्रलाई खतरनाक मिशनमा पठाउने बुझिएको छ।

कुम्भले रामायण कालसँग जोडिएको एक रहस्यमयी वस्तुको मद्दतले संसार कब्जा गर्न खोजेको देखाइनेछ। यद्यपि, त्यो वस्तु के हो भन्ने कुरालाई भने निर्माण पक्षले अझै सस्पेन्समा राखेको छ।

मुख्य अभिनेत्री प्रियंका चोपडाले हालै एक अन्तर्वार्तामा फिल्मको बारेमा केही रोचक कुरा साझा गरेकी छिन्। उनले यो चलचित्र हलिउडको चर्चित फिल्म ‘ब्याक टु द फ्युचर’ जस्तो मात्र नभएको स्पष्ट पारेकी छिन्।

प्रियंकाका अनुसार चलचित्रको कथा प्राचीन इतिहासदेखि भविष्यसम्म फैलिएको छ। दर्शकले ईसापूर्व ७२०० देखि सन् २०२७ सम्मको समय यात्रा देख्न पाउनेछन्, जहाँ फरक–फरक युग र संसारको चित्रण गरिनेछ।

सन् २०२५ को नोभेम्बरमा पहिलो झलक सार्वजनिक भएदेखि नै यो फिल्मलाई लिएर दर्शकमा ठुलो उत्साह थियो। ‘बाहुबली’ र ‘आरआरआर’ जस्ता विश्वविख्यात चलचित्र दिएका राजामौलीले ‘वाराणसी’ मार्फत भारतीय चलचित्रलाई फेरि नयाँ उचाइमा लैजाने अपेक्षा गरिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप