बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

बिहीबार, २६ चैत २०८२, १० : १२
बिहीबार, २६ चैत २०८२

सारांश

  • सर्वोच्च अदालतको परमादेश अनुसार केपी शर्मा ओली र रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ।
  • अनुसन्धान पूरा नभएसम्मका लागि उनीहरूलाई खोजी भएको बेला उपस्थित हुने गरी प्रहरी हिरासतबाट मुक्त गरिएको हो।

काठमाडौँ । केपी शर्मा ओली र रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ । सर्वोच्च अदालतको परमादेश अनुसार प्रहरीले दुवै जनालाई रिहा गर्ने निर्णय गरेको हो । 

सरकारी वकिलको सहमतिमा ‘खोजी भएको बेला उपस्थित हुनेगरी’ ओली र लेखकलाई रिहा गर्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । 

भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरूलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो । काठमाडौँ जिल्ला अदालतबाट तेस्रो पटक म्याद लिएर प्रहरीले उनीहरूलाई हिरासतमा राखेको थियो ।

बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ मा चौथो पटक म्याद नथप्न र अनुसन्धान पुरा नभएमा हिरासतमुक्त गरेर थप अनुसन्धान र तहकिकातको काम सम्पन्न गर्न परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार काठमाडौँ जिल्ला अदालतबाट थप भएको तेस्रो म्याद बुधवारसम्म मात्रै थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्ववय विनोद शर्मा र सुनिल कुमार पोखरेलले उनीहरूलाई चैत २५ भन्दा पछि हिरासत मुक्त गर्न आदेश गरेका थिए । चैत २१ गतेबाट लागु हुने गरी काठमाडौँ जिल्ला अदालतले तेस्रो पटक ५ दिनको म्याद दिएको थियो ।

सो अवधिमा अनुसन्धान सम्पन्न गरेर मुद्दा चल्ने र नचल्ने निर्णय भएमा सोही अनुसार गर्न र सो हुन नसके तत्पश्चात् उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को प्रक्रिया पुरा गरेर हिरासत मुक्त गरेर गरेर थप अनुसन्धान तहकिकातको काम सम्पन्न गर्न परमादेश जारी गरेको थियो । 

मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । जेनजी प्रदर्शनमा काठमाडौँमा बानेश्वरमा प्रहरीको गोलीबाट किशोरहरूको मृत्यु हुँदा ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री थिए ।

स्वास्थ्य समस्याका कारण ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो । लेखकलाई प्रहरीले महाराजगञ्ज स्थित सशस्त्र प्रहरी नम्बर–२ गणमा थुनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप