हरेक शनिबार ‘भेहिकल फ्री असन’
सारांश
- काठमाडौँ महानगरपालिकाले असन क्षेत्रको मौलिकता जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गर्ने निर्णय गरेको छ।
- यो कार्यक्रम अन्तर्गत असनका विभिन्न प्रवेश मार्गहरूमा सवारी साधन रोक लगाई वैकल्पिक मार्गको व्यवस्था गरिनेछ।
- सम्पदा मार्गका रूपमा विकास गरिने यस क्षेत्रमा परम्परागत व्यापार र सांस्कृतिक क्रियाकलापलाई प्रवर्द्धन गरिनेछ।
काठमाडौँ । काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने निर्णय भएको छ । यसअघि स्थानीय सङ्घ–संस्था, क्लब तथा समुदायको चैत २८ गतेबाट कार्यक्रम सञ्चालन गर्ने तयारी थियो ।
यसक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वडाध्यक्ष योगेश खड्गी, प्रशासन विभागका प्रमुख महेश काफ्लेसहित सरोकारवाला कार्यालयका अधिकारी, स्थानीय सङ्घ–संस्था तथा क्लब र समुदायका प्रतिनिधिसहितको बैठकले तयारीमा कमजोरी हुन नदिन कार्यक्रमलाई एक हप्ता पछाडि सारेर वैशाख ५ गतेबाट कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
‘असन सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक पर्ने स्थान हो । यसको प्राचीन र सांस्कृतिक महत्व जोगाउनु हाम्रो दायित्व हो ।’ बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले भनिन्– ‘वडा कार्यालयको नेतृत्व, सरोकारवाला र साझेदारहरूको सहभागिता र स्थानीय अपनत्वमा कार्यक्रम प्रारम्भ गरौँ । थालिएको कामलाई दिगो बनाऔँ ।’ आवागमन र स्थानीयवासीको सहजता तथा सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो ।
‘स्थानीय, सङ्घ संस्था, क्लब तथा समुदायको साथमा वडाले कार्यक्रम अगाडि बढाएको हो ।’ वडाध्यक्ष योगेशकुमार खड्गी भन्छन् ‘कार्यक्रमले असन बजारको मौलिकतासँगै वायु प्रदूषण नियन्त्रण र सहरी वातावरण सुधारमा योगदान गर्नेछ ।’
छलफलमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रजित केसी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लोकेन्द्रसिंह गुरुङ, महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले यातायात आवागमन र पैदल मार्ग व्यवस्थापन तथा सुरक्षा प्रबन्धलाई मजबुत बनाइने बताए ।
‘भेहिकल फ्री असन’ कार्यक्रम अन्तर्गत महानगरपालिकाको वडा नं. २७ वडा कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिवार सवारी साधन प्रवेशमा रोक लगाइनेछ । यस क्षेत्रबाट गन्तव्य जाने सवारी साधनलाई वैकल्पिक मार्ग प्रदान गरिनेछ ।
यस क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवर्द्धन गरिनेछ । मौलिक सांस्कृतिक कार्यक्रम तथा सामाजिक क्रियाकलाप सञ्चालन गरिनेछ । यसको सञ्चालन व्यवस्थापनका जिम्मेवारी महानगर प्रहरी बललाई प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण