शुभमन गिललाई १२ लाख जरिवाना
सारांश
- आईपीएलमा गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई स्लो ओभर-रेटका कारण १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ।
- निर्धारित समयभित्र ओभर पूरा नगरेपछि आईपीएलको आचारसंहिता अनुसार गिललाई यो कारबाही गरिएको हो।
काठमाडाैँ। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा गुजरात टाइटन्सका कप्तान शुभमन गिल कारबाहीमा परेका छन्। दिल्ली क्यापिटल्सविरुद्धको खेलमा निर्धारित समयभित्र ओभर पूरा नगरेको ९स्लो ओभर–रेट० भन्दै उनलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको हो।
आईपीएलले जारी गरेको मिडिया एडभाइजरीका अनुसार गुजरातले खेलको क्रममा बलिङ गर्दा तोकिएको समय सीमा नाघेकाले गिललाई यो सजाय सुनाइएको हो। यो सिजनमा गुजरात टाइटन्सको यो पहिलो गल्ती भएकाले आईपीएलको कोड अफ कन्डक्टको धारा २.२२ अनुसार न्यूनतम जरिवाना गरिएको हो।
उक्त खेलमा गुजरातले दिल्लीलाई मात्र १ रनले पराजित गर्दै नाटकीय जित दर्ता गरेको थियो। पहिले ब्याटिङ गर्दै गुजरातले २१० रनको विशाल योगफल तयार पारेको थियो, जसको जवाफमा दिल्लीले २०९ रन मात्र बनाउन सक्यो।
आईपीएलको नियम अनुसार हरेक टोलीले आफ्नो २० ओभरको इनिङ्स करिब ९० मिनेटभित्र सक्नुपर्ने हुन्छ। रणनीतिक टाइम–आउट र अन्य ब्रेकहरूलाई कटाएर म्याच रेफ्रीले ओभरको गतिलाई निरन्तर अनुगमन गरिरहेका हुन्छन्। यदि कुनै टोलीले यो समय सीमाभित्र ओभर पूरा गर्न सकेन भने त्यसलाई 'स्लो ओभर–रेट' मानिन्छ र कप्तानलाई मुख्य जिम्मेवार ठहर गर्दै जरिवाना गरिन्छ।
यो नियममा बारम्बार गल्ती दोहोर्याउँदा सजाय अझ कडा हुँदै जान्छ। पहिलो पटकको गल्तीमा कप्तानलाई १२ लाख जरिवाना हुन्छ भने दोस्रो पटक गल्ती दोहोर्याएमा जरिवाना रकम बढेर २४ लाख पुग्छ र टोलीका अन्य खेलाडीहरूलाई पनि म्याच फीको केही प्रतिशत जरिवाना तिराइन्छ। यदि तेस्रो पटक पनि उही गल्ती दोहोरिएमा कप्तानलाई भारी जरिवानाका साथै एक खेलको प्रतिबन्धसम्म लाग्न सक्ने प्रावधान छ।
यो सिजनमा गुजरातको यो पहिलो जित हो । अब गुजरातले आफ्नो अर्को खेल आइतबार लखनउमा लखनउ सुपर जायन्ट्सविरुद्ध खेल्ने तालिका छ। उता हार व्यहोरेको दिल्ली क्यापिटल्सले भने शनिबार चेन्नाईमा चेन्नाई सुपर किंग्सको सामना गर्नेछ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026