फिदिममा युवकको रहस्यमय हत्या, पसल सञ्चालकसहित चार जना नियन्त्रणमा
सारांश
- पाँचथरको फिदिममा कार्यरत ज्ञानेन्द्र आचार्यको शव झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
- मृतकका बुवाको किटानी जाहेरीका आधारमा पसल सञ्चालक रमेश खत्रीसहित चार जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको छ।
- घटनास्थल रहस्यमय देखिएको र शव सडेगलेको अवस्थामा रहेकाले पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको यकिन कारण खुल्ने प्रहरीले जनाएको छ।
विराटनगर । पाँचथरको फिदिममा एक युवकको शव फेला परेपछि प्रहरीले हत्याको आशंकामा चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
फिदिमस्थित ग्रिन भ्याली फ्रेस हाउस (मासु पसल) मा कार्यरत ज्ञानेन्द्र आचार्य (ज्ञानु) को शव सोही पसलका साहुको पुरानो घरमा झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीले सञ्चालकसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता तथा प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार पक्राउ पर्नेमा फ्रेस हाउसका सञ्चालक रमेश खत्री र सञ्जय लिम्बू रहेका छन् । पक्राउ परेका अन्य दुई जना नाबालक रहेकाले उनीहरूको नाम गोप्य राखिएको छ ।
मृतक ज्ञानेन्द्रका बुवाले दिएको किटानी जाहेरीका आधारमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेका चारै जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी परेको छ । जाहेरी दर्ता भएसँगै अदालतबाट साबालक (खत्री र लिम्बू) को हकमा १० दिन र दुई नाबालकको हकमा ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको साहले जानकारी दिए ।
प्रहरी निरीक्षक साहका अनुसार मृतक ज्ञानेन्द्र गत १५ गतेदेखि हराइरहेका थिए । उनी बेपत्ता भएपछि १७ गते उनका बुवा र पसलका साहु रमेश खत्रीले सँगै आएर प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए ।
खोजतलासकै क्रममा २२ गते साहु खत्रीकै पुरानो घरको एउटा बन्द कोठामा ज्ञानेन्द्रको शव झुन्डिएको अवस्थामा फेला परेको थियो । मृतक र पक्राउ परेका अन्य कामदारहरू सोही घरको एउटा कोठामा सँगै बस्दै आएका थिए भने शव सँगैको अर्को कोठामा फेला परेको थियो ।
शव भेटिएको घटनास्थलको प्रकृति निकै रहस्यमय देखिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक साहका अनुसार उक्त कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाइएको थियो । तर, अचम्मको कुरा बाहिरबाट ताल्चा लगाएको ढोका र पछाडिको झ्याल भित्रबाट पनि चुकुल लगाइएको अवस्थामा थियो । प्रहरी टोलीले बाहिरको ताल्चा फोरेर भित्रको चुकुल खोली कोठामा प्रवेश गरेको थियो ।
प्रहरी घटनास्थल पुग्दा शव ५–६ दिन पुरानो भइसकेको अनुमान गरिएको छ । शवमा किरा परिसकेको, सडेगलेर दुर्गन्धित भएको र छाला कालो भइसकेको हुनाले बाहिरी चोटपटक प्रस्ट देखिने अवस्था नरहेको प्रहरीले जनाएको छ । मृत्युको यकिन कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।
यो गम्भीर घटनालाई आर्थिक लेनदेनमा मिलापत्र (गुपचुप) गर्न लागिएको भन्ने हल्ला चले पनि प्रहरीले त्यसको खण्डन गरेको छ । ‘कर्तव्य ज्यान जस्तो गम्भीर मुद्दामा जाहेरी परिसकेको छ, आरोपितहरू पक्राउ परेर म्याद थप भई थुनामा छन् । अनुसन्धान कानुनबमोजिम कडा रुपमा अघि बढिरहेको छ । यस्तो अवस्थामा बाहिर के हल्ला चल्छ भन्दा पनि हामी कानुनी प्रक्रियामा दृढ छौँ, मिलापत्र हुने कुरै आउँदैन,’ उनले भने ।
घटनाको सूक्ष्म अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट तथा थप बयानका आधारमा सत्यतथ्य बाहिर आउने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण