कहाँ होलान् दुर्गा दिदीजस्ता २०४६ र २०६२/०६३ सालका योद्धाहरू ?
माथिको तस्बिर २०४६ सालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गराइ बहुदलीय व्यवस्था पुनर्स्थापना गराउन सफल जनआन्दोलनको उत्कर्षको हर्षोल्लासको 'आइकोनिक फोटो' हो।
चर्चित फोटो पत्रकार मीनरत्न बज्राचार्यले खिचेका हुन् यो तस्बिर l बहुदल आएको खुसियालीमा टुँडिखेल खुलामन्चमा आयोजित सभामा जुरुक्क उठेर नारा लगाइरहेकी दुर्गा थापा हुन् l
राजा महेन्द्रले २०१७ पुस १ गते सैन्यबलमा बहुदलीय संसदीय व्यवस्था खारेज गरेपछि निर्दलीय पञ्चायती व्यवस्थाको सुरुवात गरेका थिए । निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदलीय व्यवस्था पुनर्स्थापना गर्न नेपाली जनताले ३० बर्ष लामो विविध खाले संघर्ष गर्नु परेको थियो l
नेपाली कांग्रेसको अगुवाइ र नेपाल कम्युनिष्ट पार्टीको विभिन्न घटक सम्मिलित भइ सहाना प्रधानको नेतृत्वमा बनेको संयुक्त वाम मोर्चाको साथ सहयोगमा २०४६ साल फागुन ७ गतेदेखि प्रारम्भ भएको जनआन्दोलनको बलमा पञ्चायती शासनको अन्त्य भएको थियो ।
जनआन्दोलन नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको कमान्डमा भएको थियो l
संयुक्त वाम मोर्चामा नसमेटिएका वाम घटकहरु पनि बाबुराम भट्टराईको नेतृत्वमा संयुक्त जनआन्दोलन मोर्चा बनाएर संघर्षमा होमिएका थिए l
निरङ्कुशतन्त्रबाट वाक्कदिक्क भएका जनताको सहभागिताले जनआन्दोलन दिनप्रतिदिन सशक्त बन्दै गयो l जनआन्दोलन दबाउन नसकेपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठलाई चैत २४ गते पदबाट हटाएर लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएका थिए, जुन दिन बाबुराम भट्टराई नेतृत्वको राष्ट्रिय वाम मोर्चाले नेपाल बन्द गरि जुलुस प्रदर्शन गर्ने घोषणा गरेको थियो । त्यो दिनको प्रदर्शन उग्र बनेपछि कर्फ्यु लगाइएको थियो भने चैत २६ गते राति राजा बीरेन्द्रले कांग्रेस र वाम मोर्चासँग सम्झौता गरी बहुदलको घोषणा गरेका थिए ।
यो तस्बिर त्यसकै भोलिपल्ट टुँडिखेलमा आयोजित आमसभामा खिचिएको हो l
नेपालमा बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणा भएको आज ३६ वर्ष पुगेको छ । यद्यपि, ऐतिहासिक जनआन्दोलन दिवस नै छायामा परेको भान भइरहेको छ । राजनीतिक दल र नागरिक समाजको स्मरणबाट यो मेटिँदै गएको जस्तो, मिडियाले पनि गम्भीरतापूर्वक स्थान नदिएको प्रतीत हुन थालेको छ ।
प्रजातन्त्रको अभ्यास र बहुदलीय व्यवस्थाको उतारचढाव भैरहेको बेलामा २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा राजा वीरेन्द्रको बंश नाश गर्ने गरि भएको हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाह राजाभन्दा बढी नेता बन्न खोजे, उनले प्रजातन्त्र सहेनन् । ज्ञानेन्द्रको निरंकुशतन्त्रविरुद्ध तत्कालीन सात दल र सशस्त्र विद्रोही माओवादी मिलेर २०६२ चैत २४ देखि दोश्रो जनआन्दोलन सुरु गरियो । १९ दिने जनआन्दोलनले ज्ञानेन्द्र शाहको शाही सत्तालाई घुँडा टेकायो र नेपालमा लोकतन्त्र स्थापना भयो ।
२०४६ सालको जनआन्दोलनका बेला म भर्खर बामे सर्दै थिएँ । २०६२ चैत २४ मा दोस्रो जनआन्दोलन सुरु हुँदा भने म प्रत्यक्ष सहभागी भएँ ।
विद्यार्थी आन्दोलनको केन्द्र भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी क्याम्पसबाट भर्खरै आईए दोस्रो वर्षको परीक्षा दिएर बसेको थिएँ । त्यही बेला जनआन्दोलन चर्कँदै गयो । एकातिर सशस्त्र माओवादी द्वन्द्व उत्कर्षमा थियो भने अर्कोतिर ज्ञानेन्द्रको शाही सत्ताले मनोमानी गर्दै थियो । जनताहरू दोहोरो चेपुवामा थिए । सहरका गल्ली–गल्ली र चोक–चोकहरू आन्दोलित बने । दिन प्रतिदिन आन्दोलन चर्कँदै गयो ।

जनता शान्तिको सास फेर्न चाहन्थे । ज्ञानेन्द्रको निरंकुश सत्ता र सशस्त्र माओवादी द्वन्द्वबाट उन्मुक्ति पाउन चाहन्थे । हरेक सरकारी क्याम्पसहरू राजनीतिको गढ मानिन्थे । विद्रोह र विचारको चेतले भरिएका विद्यार्थीहरू निरंकुशतासामु झुक्न चाहँदैनथे । दिनप्रतिदिन वातावरण उकुसमुकुसपूर्ण बन्दै गयो । तत्कालीन सरकारले आगोमा घ्यू थप्ने काम गरेको थियो । कसैगरी पनि जनताको विद्रोह दबाउन सक्ने अवस्था थिएन ।
तत्कालीन सात राजनीतिक दल र सशस्त्र युद्धरत माओवादीबीच अघोषित जनआन्दोलन सुरु भएको थियो । १९ दिने जनआन्दोलनमा सहभागी हुँदा काठमाडौँको त्रिपुरेश्वरमा मलाई गोली लागेको थियो । मेरो छेउमै टाउकोमा गोली लागेका मोहम्मद जहाँगीर खाँ शहीद बन्न पुगे ।
१७ वर्षमा पाइला टेक्दै गरेको विद्यार्थी थिएँ म । काठमाडौँमा मेरो आफ्नो भन्नु कोही थिएन । धन्न उपचार खर्च आफ्नो लागेन । १० दिनसम्म काठमाडौँ मोडल हस्पिटलमा मेरो उपचार भयो । गोली लागेको केही दिनसम्म रगत बगिरहेको थियो । मलाई अझै याद छ, काठमाडौँ मोडल हस्पिटलमा कार्यरत एक डाक्टरले पहिलो दिनमै मलाई डिस्चार्ज गर्न खोज्दै भनेका थिए, ‘आज हन्ड्रेड पर्सेन्ट डिस्चार्ज । काठमाडौँका मान्छे यहाँ राख्न यो धर्मशाला होइन ।’ मलाई आन्दोलनमा लागेको गोलीभन्दा पनि ती डाक्टरको भनाइले बढी मन दुखेको थियो ।
म सम्झिन्छु, बागबजारको काठमाडौँ मोडल हस्पिटलमा कुरुवा बसेका रत्नराज्य लक्ष्मी क्याम्पसका साथीहरूले ती डाक्टरको तिखो वचन वरिष्ठ कलाकार हरिवंश आचार्यलाई सुनाइदिए । संयोगले त्यहीँ रहनुभएका हरिवंश दाइ केही बेरपछि मेरो छेउमा आएर ‘सरी है भाइ, मेरो तर्फबाट’ भन्दै माफी माग्नुभयो । जनआन्दोलनका घाइतेहरूको उपचारका लागि मह जोडीले स्वतःस्फूर्त रूपमा कोष खडा गर्नुभएको थियो ।
देश–विदेशबाट नेपालीहरूले सहयोग गरेको आर्थिक रकम यसै कोषमा जम्मा भएको थियो । देशभरका घाइतेहरूको उपचार यसै कोषले व्यहोरेको थियो ।

हेर्दाहेर्दै दोस्रो जनआन्दोलन सुरुवात भएको २० वर्ष पुगेको छ । परिवर्तनको आशामा दुई दशक नाघिसक्यो । यसबीच कैयौँ राजनीतिक उतारचढावहरू हामीले देख्यौँ । जुन आशा र उद्देश्यले हामी आन्दोलनमा लड्यौँ, आज पनि ती सपना जनताको जीवनमा अनुवाद भएका छैनन् । जनताको जीवनस्तर झन्झन् कठिन हुँदै गएको छ । जतिसुकै ठूला परिवर्तनहरू भए पनि निश्चित व्यक्ति र समूहले मात्र फाइदा उठाए । विडम्बना, आम नेपालीहरूको नियति सधैँ उस्तै रहिरह्यो । हाम्रो भावनामाथि पटक–पटक कुठाराघात भए । सहिदको बलिदान र घाइतेहरूको रगतको सम्मान हुनसकेको छैन ।
म सम्झिन्छु, काठमाडौँ मोडल हस्पिटलबाट डिस्चार्ज हुँदा मैले लगाएका लुगाहरू रगतले लत्पतिएका थिए । चर्चित फोटो पत्रकार मीनरत्न बज्राचार्यले खिचेको २०४६ सालको त्यही ‘आइकनिक’ तस्बिरकी दुर्गा थापा मेरो उद्दार गर्न आइपुग्नु भयो । २०४६ सालकी योद्धा दुर्गा थापाले म डिस्चार्ज हुने क्रममा एक जोर लुगा किनिदिनुभयो । आज १९ वर्ष भयो, त्यसपछि कहिल्यै उहाँसँग भेट भएन । कहाँ कहाँ होलान् है दुर्गा दिदी र उहाँ जस्ता २०४६ साल र २०६२/०६३ सालका अन्य योद्धाहरू ?
दुर्गा दिदी, तपाईं मैले लेखेको यो लेख पढ्दै हुनुहुन्छ ? तपाईंलाई भेटेर आभार व्यक्त गर्न चाहन्छु म।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण