स्वार्थको जगमा उभिएको नयाँ शक्ति तासको महलजस्तै ढल्छ : महासचिव पोखरेल
सारांश
- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले विचार र सिद्धान्तविनाका नयाँ शक्तिहरूको भविष्य सङ्कटमा रहेको दाबी गरेका छन्।
- उनले पपुलिज्म र अराजकताको जगमा उभिएका नयाँ शक्तिहरू तासको महलजस्तै छिट्टै ढल्ने टिप्पणी गरेका छन्।
- पोखरेलले एमालेले संसद्मा सरकारका अलोकतान्त्रिक र गैरकानूनी कदमविरुद्ध निर्णायक भूमिका खेल्ने स्पष्ट पारेका छन्।
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकप्रियतावाद र अराजकताको जगमा उभिएका नयाँ शक्तिहरूको भविष्य संकटमा रहेको दाबी गरेका छन् । उनले विचार र सिद्धान्तबिनाको एकता लामो समय नटिक्ने ठोकुवा गरे ।
नेकपा एमाले सम्पर्क विशेष सङ्गठन कमिटीद्वारा आयोजित कार्यक्रममा पोखरेलले नयाँ शक्तिहरू (रवि–बालेन्द्र)बिचको आन्तरिक द्वन्द्वलाई सङ्केत गर्दै विचार नमिल्नेहरूबिच स्वार्थको टकराब आउनासाथ विग्रह हुने बताए । उनले नयाँ भनिएकाहरूले लोकतन्त्रका स्पेसहरू खुम्च्याउन खोजेको, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रहार गरेको भन्दै त्यसको आलोचना गरे । एमाले अधिनायकवाद र स्वेच्छाचारी शासनविरुद्ध चट्टान बनेर उभिने उनले स्पष्ट पारे । संसद्मा एमालेको संख्या कम भए पनि भुमिका ‘निर्णायक र आक्रामक’ हुने उनले बताए ।
उनले भने, ‘रवि लामिछानेलाई जेलको झोला बोकाउने बालेनको अभियान थियो, तर चुनावमा स्वार्थका लागि मिले । जहाँ विचार मिल्दैन, त्यहाँ स्वार्थको टकराब सुरु हुनासाथ विग्रह आउँछ । जुन शक्ति जति तीव्रताका साथ उदाउँछ, त्यसको पतन पनि उति नै छिटो हुन्छ । पपुलिज्मले जनताका समस्या समाधान गर्दैन, केवल भ्रम छर्छ ।’
प्रधानमन्त्रीले संसद्मा बोलेर जनतासँग संवाद नगरेकोमा आपत्ति जनाउँदै पोखरेलले प्रधानमन्त्री सुरक्षा निकायका कार्यक्रममा घण्टौँ बोल्नसक्ने तर जनताको सार्वभौम थलो संसद्मा बोल्न डराउने कुरा कस्तो लोकतन्त्र हो ? भन्दै प्रश्न गरे। पोखरेलले संसदीय मोर्चालाई पार्टीको पुनर्जागरण अभियानसँग जोडेर सरकारका अलोकतान्त्रिक र गैरकानूनी कदमको भण्डाफोर गर्न सांसदहरूलाई आह्वान गरे ।
पोखरेलले वर्तमान सरकार र नयाँ भनिएका शक्तिहरूको ‘सुशासन’ को मुकुन्डो उत्रिएको टिप्पणी समेत गरे ।
सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाएको उनले आरोप छ । सभामुखको सम्पत्ति विवरणमाथि प्रश्न उठाउँदै उनले श्रमिकबाट मालिक बन्नु अपराध नभएको तर विदेशमा कमाएको भनिएको सम्पत्ति कुन च्यानलबाट आयो ? राज्यलाई कर तिरिएको छ कि छैन ? भन्नेबारे जवाफ दिनुपर्ने बताए ।
उनले मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउन आलटाल गरेकोप्रति आपत्ति जनाए । एमालेका नेताहरू जुनसुकै अग्निपरीक्षा दिन तयार रहेको बताउँदै उनले नयाँ तयार छन् की छैनन् ? भन्दै प्रश्न गरे ।
कार्की आयोगलाई ’प्रतिशोधको हतियार’ बनाएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दुःख दिने काम भएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
४ प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण