सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो
सारांश
- सिँचाइ सुविधाको अभावमा कञ्चनपुरमा चैते धान खेती गर्ने किसानको सङ्ख्या र क्षेत्रफल घट्दै गएको छ।
- महाकाली सिँचाइ नहरमा नियमित पानी नआउँदा र बोरिङको पानी पर्याप्त नहुँदा कृषकहरू खेती गर्न नसक्ने अवस्थामा पुगेका छन्।
- कञ्चनपुरमा ४०० हेक्टरमा हुने चैते धान खेती अहिले घटेर डेढ सय हेक्टरमा मात्र सीमित भएको छ।
कञ्चनपुर । चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने कृषकको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ ।
केही वर्षअघि सम्म जिल्लामा ४०० हेक्टरमा चैते धान खेती हुने गरेकामा अहिले डेढ सय हेक्टरमा मात्रै खेती हुने गरेको कृषि ज्ञान केन्द्रका सहायक बाली विकास अधिकृत धर्मबहादुर साउँदले जानकारी दिए ।
“हामीले किसानलाई विभिन्न किसिमका कृषि उपकरण र सिँचाइका लागि बोरिङलगायत सुविधा उपलब्ध गराउने गरेका छौँ,” उनले भने, “चैते धान खेतीका लागि धेरै सिँचाइ आवश्यक हुन्छ, यहाँ सिँचाइ सुविधा उपलब्ध नहुँदा चैते धान खेती घट्दै गएको छ ।” उनका अनुसार ज्ञान केन्द्रबाट किसानलाई ५० प्रतिशत अनुदानमा सिँचाइका लागि बोरिङ उपलब्ध गराउँदै आएको भए पनि त्यसले पर्याप्त रुपमा सिँचाइ हुन नसकेको बताए ।
कृषि ज्ञान केन्द्रले चैते धानखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषकलाई बीउ, मलखाद, सिँचाइ र जोत्ने उपकरण सहयोग गर्दै आएको छ । “चैते धान अन्य धानभन्दा धेरै उत्पादन हुने भए पनि सिँचाइ अभावको कारण खेती घटेको छ,” उनले भने, “किसानहरुलाई यहाँबाट प्राविधिकहरुको सहयोग हुन्छ ।” चैते धान अन्य धानको तुलनामा बढी फल्ने भए पनि महाकाली सिँचाइ नहरमा नियमित पानी सञ्चालनमा नआउँदा खेती गर्न नसकिएको यहाँका किसानको गुनासो छ ।
“अन्य धानको तुलनामा चैते धान उत्पादन बढी हुन्छ, यसका लागि पानी धेरै चाहिन्छ,” यहाँका किसान तीर्थ रानाले भने, “महाकाली नहरमा पानी नियमित हुँदैन, बोरिङको पानी चैते धानलाई पर्याप्त हुँदैन ।” कञ्चनपुरको सबैभन्दा बढी चैते धान खेती हुने गरेको बेल्डाडीमा अहिले खेती हुन छोडेको छ । सिँचाइकै कारण खेत बाँझो रहन थालेपछि चैत धान लगाउन छोडेको यहाँका किसान बताउँछन् । सिँचाइ अभावकै कारण खेती गर्न समस्या हुने गरेको दिनेश चौधरीले बताए । “चैते धानलाई पानी पर्याप्त चाहिन्छ, त्यही समयमा महाकाली नहरमा पानी आउँदैन,” उनले भने ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कार्यालयले पनि कञ्चनपुरमा लक्ष्य अनुसारको धान खेती हुन नसकेको जनाएको छ ।
कञ्चनपुरमा कुल खेतीयोग्य जमिन एक लाख ६१ हजार ७४१ हेक्टर रहेको छ । जसमध्ये ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा खेती हुने गरेको छ । यसको २९ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा उपलब्ध हुने गरेको छ । कञ्चनपुरमा ४८ हजार ६०० हेक्टरमा धान खेती हुने गरेको छ ।
कञ्चनपुरमा हाल महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ । विक्रम संवत् २०४२ मा सुरु भई ०४८ मा सम्पन्न भएको महाकाली सिँचाइ पहिलो चरणबाट चार हजार ८०० हेक्टर र ०५२ मा सम्पन्न भएको दोस्रो चरणबाट ६ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । पहिलो र दोस्रो चरणको सिँचाइबाट यहाँको भीमदत्त, बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकासम्म सिँचाइ सुविधा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण