बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जैमिनीमा महिला स्वास्थ्य स्वयंसेविका सम्मेलन, ११ बुँदे घोषणा पत्र जारी

सोमबार, ३० चैत २०८२, १० : ४५
सोमबार, ३० चैत २०८२

सारांश

  • बागलुङको जैमिनी नगरपालिकाले स्थानीय तहमा न्याय सम्पादन र मेलमिलापलाई सहज बनाउने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविका सम्मेलन आयोजना गरेको छ।
  • नगरपालिकाले १३८ जना महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण दिँदै ११ बुँदे घोषणा पत्र जारी गरेर कार्यक्रम सम्पन्न गरेको छ।
  • सहभागी स्वयंसेविकाहरुले यस सम्मेलनले आफूहरुलाई समाजप्रति थप जिम्मेवार बनाउन र अनुभव साटासाट गर्न सघाएको बताएका छन्।

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका सम्मेलन गरेको छ । स्थानीय तहमा न्याय सम्पादन प्रक्रियालाई सहज बनाउन र मेलमिलापको असल अभ्यासका लागि स्वयंसेविका सम्मेलन गरेको हो । आइतबार पालिकाभरका १३८ जना महिला स्वास्थ्य स्वयंसेविकालाई पालिका केन्द्र कुश्मिसेरामा भेला गरी प्रशिक्षणसमेत दिइएको हो । 

समाजको सबैभन्दा तल्लो तहमा रहेर महिला स्वयंसेविकाले काम गर्ने हुँदा विवादको कारण, समस्या र मानिसको पृष्ठभूमि थाहा हुने हुँदा उनीहरूको सहयोगमा न्याय विवाद निरूपण गर्न सकिने जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । उनीहरूलाई थप प्रेरणा दिनका लागि सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

सम्मेलनबाट स्वयंसेविकाहरुको समस्या सुन्ने, अनुभाव साटासाट गर्ने र उनीहरूलाई थप हौसला प्रदान गरिएको उपप्रमुख शर्माले बताए । ग्रामीण तहमा हुने विवाद स्वयंसेविकाले मेलमिलाप गराउन सक्ने भएकाले सम्मेलनमार्फत महिला सशक्तीकरण गराइएको उपप्रमुख शर्माको भनाइ छ ।

‘समाजमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले ठुलो योगदान पुर्‍याउनु भएको छ, नगरभरीका सबै स्वयंसेविका एकै ठाउँ भएर परिचय गर्ने, आफ्ना अनुभवहरू साटासाट गर्ने, हिसाबले सम्मेलन गरेका हौँ’ उपप्रमुख शर्माले भने, ‘सम्मेलनमार्फत शान्ति, मेलमिलाप र सिंगो नगरपालिकाको विकासका टेवा पुग्ने अपेक्षा लिएका छौँ ।’

वडा नम्बर १ की महिला स्वास्थ्य स्वयंसेविका खीमकला रानाले सम्मेलनबाट पालिकाभरका सबै स्वयंसेविकाहरू बिच अनुभव साटासाट गर्न पाइएको भन्दै थप समाजप्रति जिम्मेवार भएर काम गर्ने प्रेरणा मिलेको बताए । नगरपालिकाले आफूहरूलाई विगतदेखि नै उत्प्रेरणा दिने खालका कार्यक्रम गर्दै आएको भन्दै सम्मेलनमार्फत आफ्ना र समाजका समस्या सुनाउन पाएको उनको भनाइ छ ।

रानाले भनिन्, ‘पालिकाभरीका सबै महिला स्वास्थ्य स्वयंसेविका दिदीबहिनीहरू एकै ठाउँमा जम्मा भएर आफ्ना अनुभव, समस्या सुनाउन पाउँदा निकै खुसी लाग्यो, यो सम्मेलनले हामीहरुलाई थप जिम्मेवार बोध गराएका छ, समाज सुधार गर्नका लागि हाम्रो पनि भूमिका हुने रैछ भन्ने प्रस्ट बुझ्न पयौँ ।’

वडा नम्बर ४ की महिला स्वास्थ्य स्वयंसेविका सविना नेपालीले सम्मेलनले गाउँ हुने हरेक विकृति विसङ्गतिको निरूपण गर्नका थप हौसला बढाएको बताइन् । नगरपालिकाले यस अगाडि थुप्रै कार्यक्रम गरे महिला स्वास्थ्य स्वयंसेविकाका सम्मेलन पहिलो पटक गरेको उनको भनाइ छ । यस सम्मेलनले स्वास्थ्य स्वयंसेविका हुनुको गौरव बढाएको नेपाली बताउँछिन् ।

सम्मेलनमा अधिवक्ता गीता श्रीसले कानुनी साक्षरता र उत्प्रेरक भक्त रसाइलीले उत्प्रेरणा सम्बन्धी सहजीकरण गरेका थिए ।

जैमिनी नगरपालिकाले आयोजना गरेको महिला स्वयंसेविका संवाद तथा सम्मेलन ११ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । आइतबार पालिकाको केन्द्र कुश्मिसेरामा भएको सम्मेलनमा १३८ महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो । सम्मेलनमा उनीहरूलाई कानुनी साक्षरता र उत्प्रेरक्षणा सम्बन्धी तालिमसमेत दिइएको थियो ।

समुदायमा देखा पर्ने विवाद तथा असमझदारीलाई संवाद र सहकार्यमार्फत समाधान गर्दै दिगो शान्ति र मेलमिलाप कायम गर्ने घोषणा पत्रमा उल्लेख छ । आमा तथा बाल स्वास्थ्य, सरसफाइ, पोषण कार्यक्रमलाई समुदायस्तरमा निरन्तरताका साथै नियमित स्वयमसेविका संवाद कार्यक्रम सञ्चालन गरी समाजमा देखिने विवादहरूको छिटो पहिचान, समन्वय र सहकार्य बताइएको छ ।

नगरपालिकाभित्रका सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा सहज, समान र गुणस्तरीय पहुँच सुनिश्चित गर्दै समुदायमा शान्तिपूर्ण सहअस्तित्व कायम, नागरिकको सम्मान र समान व्यवहार गरी विवाद समाधानमा पक्षपातरहित भूमिका निर्वाह गर्ने घोषणा पत्रमा उल्लेख छ ।

सामुदायिक मेलमिलापकर्ता, स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला निकायबिच नियमित तालिम, अनुभव आदान–प्रदान र सहकार्यलाई सुदृढ गर्ने, विद्यालय तथा आमा समूहमार्फत सामुदायिक सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दै महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षणमा जोड दिई सामाजिक सद्भाव कायम गर्ने जनाइएको छ ।

घरदैलो अभियान सञ्चालन गरी समुदायमा देखिने असमझदारी, लैगिंक तथा बालहिंसाका गतिविधिहरुलाई न्यूनीकरण गर्न वडास्तरीय मेलमिलाप समितिसँग आवश्यक समन्वय र सहकार्य गर्ने, दिगो शान्ति, सामाजिक सद्भाव र विकासको आधार मजबुद बनाउन महिला तथा कमजोर वर्गको सशक्तीकरण गर्दै सामाजिक सद्भाव र विश्वासका लागि विवाद समाधानका सफल उदाहरणहरूलाई दस्ताबेजीकरण गरी प्रचारप्रसार गर्ने घोषणा पत्रमा लेखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप