सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
मन्त्रीहरूको सम्पत्ति

घरजग्गामा मन्त्रीहरूको उल्लेख्य होल्ड, गृहमन्त्री गुरुङलाई लाग्न सक्छ हदबन्दी

सोमबार, ३० चैत २०८२, १३ : ३२
सोमबार, ३० चैत २०८२

सारांश

  • प्रधानमन्त्री तथा मन्त्रीहरूको सार्वजनिक गरिएको सम्पत्ति विवरणमा अधिकांश मन्त्रीहरूसँग तराईदेखि पहाडसम्म उल्लेख्य जग्गा रहेको देखिएको छ।
  • भूमि सम्बन्धी ऐन २०२१ अनुसार तराई, पहाड र काठमाडौँ उपत्यकाका लागि जग्गा राख्ने अधिकतम हदबन्दी तोकिएको छ।
  • सार्वजनिक विवरणअनुसार गृहमन्त्री सुधन गुरुङको नाममा हदबन्दीभन्दा बढी जग्गा देखिएकाले उनलाई कानुन आकर्षित हुन सक्ने सम्भावना छ।

काठमाडौँ । आइतबार प्रधानमन्त्री तथा मन्त्रीहरूहरूको सम्पत्ति विवरण सार्वजनिक भयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मन्त्रीहरूसँग तराईदेखि पहाड र काठमाडौँ उपत्यकासम्म उल्लेख्य जग्गा होल्ड गरेको देखिएको हो ।

कुन मन्त्रीसँग कति छ जग्गा ?

कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख भए अनुसार सबैभन्दा धेरै जग्गा गृहमन्त्री सुधन गुरुङको रहँदा सबैभन्दा कम कानुनमन्त्री सोविता गौतमको रहेको देखिन्छ । मूल्यको आधारमा भने शिक्षामन्त्री सस्मित पोखरेलको जग्गा सबैभन्दा धेरै देखिन्छ ।

मन्त्रीहरूका जग्गा यसप्रकार छन् ।

१. बालेन्द्र शाह (प्रधानमन्त्री) : महोत्तरीमा ९ बिघा, काठमाडौँमा ५ आना (घरले चर्चेको) र धनुषामा १.२ बिघा (घरले चर्चेको) गरी कुल १०.२ बिघा र ५ आना।

२. डा. स्वर्णिम वाग्ले (अर्थमन्त्री) : काठमाडौँको चन्द्रागिरिमा ३ रोपनी, गोरखाको सहिद लखन र गोरखा नगरपालिकामा समेत गरी ८ रोपनी र चितवनमा ५ कठ्ठा, तनहुँमा ६ रोपनी । ललितपुरको सानेपामा १२८४ वर्गमिटर (झण्डै ४० आना) ललितपुरकै भैँसेपाटीमा ३ आना, धुलिखेलमा ९ आना र बन्दीपुर ३ आना ।  

३. शिशिर खनाल (परराष्ट्रमन्त्री) : तनहुँमा १५ रोपनी, पूर्वी नवलपुरमा १२ रोपनी र नेपालगञ्जमा २ कठ्ठा र काठमाडौँको टोखामा ६ आना ।

४. सुधन गुरुङ (गृहमन्त्री) : धनकुटामा १९ रोपनी १५ आना, चितवनमा ३० कठ्ठा र गोरखामा (बाजेको नाममा) २२१ रोपनी गरी जम्मा २४० रोपनी १५ आना र ३० कठ्ठा।

५. विराज भक्त श्रेष्ठ (ऊर्जामन्त्री) : काठमाडौँको दुई ठाउँमा कुल ६ आना र घर ।

६. सुनिल लम्साल (भौतिक तथा शहरी विकासमन्त्री) : नवलपरासीको कावासोतीमा १० कठ्ठा १५ धुर र स्याङ्जामा २९ रोपनी ।

७. सोविता गौतम (कानुनमन्त्री) : भरतपुर महानगरपालिकामा ६७७.२६ वर्गमिटर । काठमाडौँमा भएको जग्गाको क्षेत्रफल उल्लेख नभएको । 

८. सीता वादी (महिला मन्त्री) : सुर्खेतमा विभिन्न स्थानमा गरी कुल ६४४०.३० वर्ग मिटर (झण्डै १२.६६ रोपनी) । 

९. प्रतिभा रावल (भूमि तथा संघीय मामिला मन्त्री) : काठमाडौँको बुढानीलकण्ठमा ५ आना र बाराको कोल्हवीमा १७ धुर ।

१०. निशा मेहेता (स्वास्थ्यमन्त्री) : काठमाडौँको सौखेलमा ७ आना र महोत्तरीमा ८ बिघा ।

११. सस्मित पोखरेल (शिक्षामन्त्री) : काठमाडौँ र ललितपुरमा १३ रोपनी ६ आना ३ पैसा २ दाम, मोरङमा १ कठ्ठा र काठमाडौँ गोकर्णेश्वरमा १३५.१४ वर्ग मिटर ।

१२. खडक राज पौडेल (पर्यटनमन्त्री) : कास्कीको पोखरा–१४ मा तीन कित्ता गरी कुल ५२६०.६७ वर्ग मिटर (झण्डै १ रोपनी) ।

१३. डा. विक्रम तिमिल्सिना (सञ्चारमन्त्री) : काठमाडौँमा दुई स्थानमा गरी कुल ३१७.५५ वर्ग मिटर (झण्डै १० आना) ।

१४. गीता चौधरी (कृषिमन्त्री) : बर्दियामा ४८४२.५० वर्गमिटर र रुपन्देहीमा ११५० वर्ग मिटर (जम्मा १७.६९ कट्ठा) ।

१५. गौरी कुमारी यादव (उद्योगमन्त्री) : काठमाडौँमा २१ आना २ पैसा १ दाम तथा महोत्तरी र नवलपरासीमा गरी कुल ५ बिघा १३ कठ्ठा।

१६. रामजी यादव (श्रममन्त्री) : सप्तरीको राजविराजमा विभिन्न कित्ता गरी कुल १ बिघा १ कठ्ठा ३ धुर ।

कतिसम्म राख्न पाइन्छ जग्गा, के भन्छ भूमिसम्बन्धी कानुन ?

भूमि सम्बन्धी ऐन २०२१ को दफा ७ ले कुनै पनि व्यक्ति वा निजको परिवारले राख्न पाउने जग्गाको अधिकतम हद तोकेको छ ।

ऐनअनुसार भित्री मधेशसहित सम्पूर्ण तराई क्षेत्रमा अधिकतम १० बिघा, काठमाडौं उपत्यकामा २५ रोपनी र काठमाडौं उपत्यकाबाहेक सम्पूर्ण पहाडी क्षेत्रमा ७० रोपनी जग्गा मात्र राख्न पाइन्छ ।

यसका अतिरिक्त, तराईमा थप १ बिघा, काठमाडौँ उपत्यकामा थप ५ रोपनी र पहाडी क्षेत्रमा थप ५ रोपनी जग्गा घरबारीका रूपमा राख्न पाइन्छ । यहाँ एकाघर भन्नाले श्रीमान्, श्रीमती र नाबालक छोराछोरी मानिने वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने बताउँछन् । तर, बालिग भइसकेको छोराछोरीले चाहिँ थप जग्था किन्न पाउने उनको भनाइ छ । 

‘कुनै व्यक्तिले श्रीमान् र श्रीमतीको नाममा हदबन्दीभन्दा धेरै जग्गा राख्न पाउँदैन । यहाँ एकाघर भनेको १६ वर्ष नपुगेका छोराछोरीलाई पनि जनाउँछ,’ न्यौपाने भन्छन्, ‘बालिग भइसकेपछि छोराछोरीले थप जग्गा किन्न सक्छ । सुरुमै धेरै जग्गा राखेर पछि भागबन्डा गर्नचाहिँ पाइँदैन ।’

गृहमन्त्री गुरुङलाई लाग्न सक्छ हदबन्दी

अहिलेको सम्पत्ति विवरण हेर्दा गृहमन्त्री सुधन गुरुङलाई भने हदबन्दी लाग्ने अवस्था देखिन्छ । उनको बाजेको नाममा गोरखामा २२१ रोपनी जग्गा रहेको विवरणमा उल्लेख छ । यो अवस्था हेर्दा त्यो सम्पत्ति सुधनको नाममा सार्न नसक्ने र सरकारले चाहेमा हदबन्दीभन्दा धेरै हुने जग्गा सरकारले जफत गर्नसक्ने उनी बताउँछन् ।  

अरू मन्त्रीहरूको भने विवरणमा उल्लेख भएको सम्पत्ति हदबन्दीभित्र रहेको देखिन्छ । हदबन्दीभित्रै भए पनि यस्तो सम्पत्तिको उल्लेखित स्रोत सही हो वा होइन भन्ने विषय भने सरकारले नै छानबिन गर्नुपर्ने वरिष्ठ अधिवक्ता न्यौपाने बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप