सिरहाको सलहेश फूलबारीमा भक्तजनको घुइँचो, सलहेशको पूजा गर्दा मनले चिताएको पुग्ने विश्वास
सिरहा । सिरहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिकस्थल सलहेश फूलबारीमा आज नयाँ वर्ष २०८३ को अवसरमा मेला लागेको छ ।
हरेक वर्ष वैशाख १ गते सुनाखरी फूलको दर्शन गर्न र पूजाअर्चना गर्न आज बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको छ । लहान नगरपालिका–१२ र २२ मा फैलिएको करिब नौ बिघाको यस फूलबारीमा रहेको हारमको रूखमा सुनाखरी फूल ढकमक्क फक्रिएको छ । १४औँ शताब्दीका लोकनायक राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेमको प्रतीक मानिने यो फूल हेर्न नेपालका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतीय सहरहरूबाट हजारौँको सङ्ख्यामा भक्तजनहरू आइपुगेका छन् ।
मेला व्यवस्थापन समितिका अध्यक्ष दशमीलाल चौधरीका अनुसार बिहान ४ः०० बजेदेखि नै मन्दिरमा पूजा गर्नेहरूको लामो लाइन लागेको छ । तराईको पासवान समुदायका इष्टदेव मानिने राजा सलहेशको पूजा गर्दा मनले चिताएको पुग्ने, निःसन्तानलाई सन्तान प्राप्ति हुने तथा विभिन्न रोगव्याधिबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ ।
भक्तजनको अत्यधिक चापलाई व्यवस्थापन गर्न मेला क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भीडभाड नियन्त्रणका लागि गस्ती बढाएका छन् भने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सादा पोसाकका प्रहरी र ‘सिसीटिभी क्यामेरा’बाट समेत निगरानी भइरहेको छ ।
अत्यधिक भीडका कारण यातायात र हिँडडुलमा असहजता नहोस् भन्नका लागि स्वयंसेवकहरूले सहयोग गरिरहेको मेला समितिका अध्यक्ष चौधरीले जानकारी दिए ।
सरकारले यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गरे पनि स्थानीयस्तरमा ठोस विकासका कामहरू हुन नसकेको सरोकारवालाहरूले गुनासो गरेका छन् ।
जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानका अध्यक्ष प्रदीपकुमार गुप्ताले तीनै तहका सरकार र सम्बन्धित निकायले समन्वय गरी एकीकृत गुरुयोजना बनाएर अघि बढ्नु आवश्यक रहेको बताए । यसो गर्न सकेमा यो ऐतिहासिकस्थललाई अझ आकर्षक र सुविधायुक्त धार्मिक पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्न सकिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण