बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिल्म

हलमा नेपाली फिल्मकै राज, पछाडि पर्‍यो हिन्दी फिल्म

विदेशी फिल्मका लागि बाहिरिन्छ बर्सेनि ४१ करोड
मङ्गलबार, ०१ वैशाख २०८३, ११ : ००
मङ्गलबार, ०१ वैशाख २०८३

सारांश

  • चलचित्र विकास बोर्डको पछिल्लो तथ्याङ्क अनुसार नेपाली फिल्मले व्यवसाय र दर्शक सङ्ख्यामा विदेशी फिल्मलाई उछिनेका छन् ।
  • यस वर्ष ५७ नेपाली फिल्मले १ अर्ब ८ करोडभन्दा बढीको व्यापार गर्दै ३७ लाख ८१ हजार दर्शक हलसम्म तानेका छन् ।
  • हिन्दी फिल्मको तुलनामा नेपाली फिल्मको व्यापार ३९ करोड रुपैयाँले बढी देखिन्छ, जसले नेपाली फिल्मको बजार बलियो रहेको प्रमाणित गर्छ ।

काठमाडौँ । लामो समयदेखि नेपाली फिल्मकर्मीहरू ‘हिन्दी फिल्मले नेपाली बजार खाइदियो’ भन्ने गुनासो गर्दै आएका छन् । यद्यपि पछिल्लो समय नेपाली फिल्मको व्यवसाय राम्रो रहेको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

बोर्डको तथ्याङ्क अनुसार नेपाली फिल्मले व्यवसाय र दर्शक सङ्ख्या दुवैमा विदेशी फिल्मलाई कडा चुनौती दिँदै उछिनेका छन् ।

०८२ वैशाखदेखि चैतसम्मको अवधिमा नेपाली सिनेमा हलहरूमा कुल १५० वटा फिल्म प्रदर्शनमा आए, जसमा ९३ वटा विदेशी र ५७ वटा स्वदेशी फिल्म छन् ।

सङ्ख्यात्मक हिसाबले विदेशी फिल्मको बाहुल्यता देखिए पनि प्रभाव र दर्शकको रोजाइमा भने नेपाली फिल्म परेको देखिन्छ ।

तथ्याङ्क अनुसार विदेशी फिल्मभन्दा नेपाली फिल्मको व्यावसायिक सफलता लोभलाग्दो देखिन्छ । यस वर्ष प्रदर्शनमा आएका ५७ नेपाली फिल्ममध्ये ५६ वटा फिल्मको व्यापारिक हिसाब सार्वजनिक भएको छ । फिल्म ‘रामनाम सत्य’ भर्खरै रिलिज भएकाले विवरण आउन बाँकी छ ।

यी ५६ फिल्मले कुल १ अर्ब ८ करोड ३८ लाख रुपैयाँभन्दा बढीको व्यवसाय गरेका छन् । विदेशीतर्फ (हिन्दी, अंग्रेजी र अन्य) ९३ वटा फिल्मको व्यवसाय १ अर्ब ११ करोड ५२ लाख रुपैयाँ देखिएको छ ।

सबैभन्दा महत्त्वपूर्ण पक्ष दर्शकको उपस्थिति हो । बोर्डका अनुसार यस वर्ष ३७ लाख ८१ हजारभन्दा बढी नेपाली दर्शक हलमा पुगेका छन् । विदेशी फिल्मतर्फ ३३ लाख २२ हजार बढी दर्शक देखिएका छन् ।

यो वर्ष विदेशी फिल्मको तुलनामा ४ लाख ५८ हजार बढी दर्शकले नेपाली फिल्म हेरेका छन् । विदेशी फिल्मको कुल कलेक्सन १ अर्ब ११ करोड ५२ लाख रुपैयाँ देखिए पनि त्यसमा ९३ वटा फिल्मको योगदान छ, जबकि नेपाली फिल्मले ५६ वटाबाटै सोही हाराहारीको व्यापार गर्नुले स्वदेशी फिल्मको बजार बलियो रहेको खनुमान गर्न सकिन्छ ।

हिन्दी फिल्म डर कि भ्रम ?

नेपाली फिल्मकर्मीहरूले जहिले पनि बलिउड अर्थात् हिन्दी फिल्मलाई आफ्नो मुख्य बाधक मान्दै आएका छन् । त्यसैले पनि नेपाली फिल्मका निर्माता आफ्नो नयाँ फिल्मको प्रदर्शन मिति जुराउन सबैभन्दा पहिले हिन्दी फिल्मको रिलिज डेट हेर्छन् ।

हिन्दी फिल्म आएन भने आफ्नो फिल्मले व्यवसाय गर्ने उनीहरूको मान्यता रहँदै आएको छ, तर यस वर्षको तथ्याङ्कले नेपाली फिल्मलाई हिन्दी फिल्मले बिगार्छ भन्ने भाष्यलाई पूर्ण रूपमा नकारेको छ ।

यो वर्ष नेपालमा ३९ वटा हिन्दी फिल्म प्रदर्शन भए, जबकि नेपाली फिल्मको संख्या ५७ रह्यो । अर्थात्, संख्याकै आधारमा पनि नेपाली फिल्म हिन्दीभन्दा १८ वटा बढी छन् ।

व्यापारिक तुलना झन् रोचक छ । ३९ वटा हिन्दी फिल्मले नेपालभरिबाट ६८ करोड ७ लाख रुपैयाँको व्यवसाय गर्दा ५७ वटा नेपाली फिल्मले १ अर्ब ८ करोडभन्दा बढीको व्यापार गरेका छन् । यसरी हेर्दा नेपाली फिल्मको व्यवसाय हिन्दी फिल्मको तुलनामा ३९ करोड ३० लाख रुपैयाँले बढी छ ।

विदेशी फिल्ममा कति बाहिरिन्छ रकम ?

नेपालमा विदेशी फिल्म हिन्दी, अंग्रेजी र अन्य भाषा र देशका पनि प्रदर्शन हुने गरेको छ । हिन्दी बाहेकका विदेशी फिल्मको हकमा वितरकले फिल्म नेपाल भित्र्याउँदा सुरुमा लगानी गर्नु पर्दैन । त्यस्ता फिल्मको हकमा व्यवसायको ५० प्रतिशत फिल्मका निर्माता र ५० प्रतिशत नेपाली वितरकले पाउँछ । हिन्दी फिल्मको हकमा भने फिल्म हेरेर १० लाखदेखि ३ करोडसम्म तिर्नुपर्ने वितरक मनोज राठी बताउँछन् ।

‘हिन्दीमा फिल्म हेरेर पैसा फरक—फरक हुन्छ’, वितरक राठी भन्छन्, ‘एभरेजमा एक फिल्मको ५० लाख बाहिरिन्छ भन्दा हुन्छ ।’

बोर्डको तथ्याङ्क अनुसार यो वर्ष ३९ वटा हिन्दी फिल्म भित्रिएको छ । मनोज राठीको भनाइलाई आधार मान्ने हो भने ती हिन्दी फिल्म मार्फत १९ करोड ५० लाख बाहिरिएको छ ।

त्यस्तै बाँकी रहेका ५४ विदेशी फिल्मले ४३ करोड ४५ लाखभन्दा बढी व्यवसाय गरेको छ । यो रकमको ५० प्रतिशत २१ करोड ७२ लाख हुन आउँछ । तथ्याङ्क अनुसार विदेशी फिल्म (हिन्दी र अंग्रेजी लगायत)बाट यो वर्षमात्र ४१ करोड २२ लाख रकम बिदेसिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप