बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पृथ्वी राजमार्गको मुग्लीनदेखि आँबुखैरेनी खण्ड गोरखातर्फ लगिने, स्थानीयसँग गरियो सहमति

मङ्गलबार, ०१ वैशाख २०८३, १७ : ५१
मङ्गलबार, ०१ वैशाख २०८३

सारांश

  • पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी खण्डको स्तरोन्नतिका लागि भौगोलिक कठिनाइलाई मध्यनजर गर्दै गोरखातर्फ नयाँ ट्र्याक खोल्ने निर्णय गरिएको छ।
  • आयोजनाबाट प्रभावित हुने स्थानीय बासिन्दाहरूलाई उचित मुआब्जा र सार्वजनिक संरचनाको पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ।
  • स्थानीयले आफ्नो संस्कृति र रीतिरिवाजमा असर नपर्ने गरी तथा मन्दिरको सौन्दर्यीकरणसहित सडक निर्माण अघि बढाउन माग गरेका छन्।

पोखरा । पृथ्वी राजमार्ग स्तरोन्नति योजना अन्तर्गत मुग्लिनदेखि आँबुखैरेनी खण्डलाई स्तरोन्नति प्रक्रिया सुरु गरिएको छ । यो खण्डमा चट्टान र पहाडका कारण गोरखातर्फ डाइभर्ट गरी नयाँ ट्र्याक खोल्न लागिएको हो । 

प्राविधिक डिजाइन अनुसार यो सडक तनहुँतर्फ ४ लेन र गोरखातर्फ २ लेनको हुनेछ । हालको सडकलाई विस्तार गर्दा भौगोलिक कठिनाइ हुने देखिएपछि गोरखातर्फ नयाँ ट्र्याक खोलेर सडक लैजान लागिएको हो ।

तनहुँ खण्डमा सडकको केन्द्र विन्दुबाट २५/२५ मिटर र गोरखा खण्डमा १५/१५ मिटर राइट अफ वे कायम गरिएको छ । नयाँ ट्र्याक खोल्नका लागि गोरखाको शहीद लखन गाउँपालिकामा प्रभावित क्षेत्रका नागरिकसँग छलफल गरिएको छ । मुग्लिन–पोखरा राजमार्गको आँबुखैरेनी–मुग्लिन खण्डको कुल लम्बाई ८.७४ किलोमिटर छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग मार्फत यो योजना कार्यान्वयन हुन लागेको हो । सडक निर्माणका क्रममा शहीद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका केही क्षेत्रहरू प्रत्यक्ष प्रभावित हुनेछन् । यो खण्डमा कुल १ सय ९९ घरधुरीका २ सय ५५ परिवार प्रत्यक्ष प्रभावित हुने रिपोर्ट छ ।

यस क्रममा केही सार्वजनिक संरचनाहरूमा समेत क्षति पुग्ने अनुमान गरिएको छ । आयोजनाका तर्फबाट सामाजिक परामर्शदाताहरूले सडक निर्माणबाट प्रभावित हुने घर, संरचना र निजी जग्गाको उचित क्षतिपूर्ति (मुआब्जा) दिइने प्रतिबद्धता जनाएका छन् ।

प्रभावित सार्वजनिक संरचनाहरूको पुनः निर्माण गरिने परामर्शदाताको प्रतिबद्धता छ । बैठकमा एसियाली विकास बैंकका परामर्शदाता सौमी घोष, सामाजिक परामर्शदाता रविन्द्र ढकाल, पालिका र वडाका जनप्रतिनिधि तथा प्रभावित नागरिकहरू उपस्थित थिए । अब जग्गा प्राप्ति र निर्माण प्रक्रियाले थप गति लिने वडाध्यक्ष दीपक पाण्डेले बताए।

पालिका अध्यक्ष रमेशबाबु थापाले विकासपुर्वका सबै सर्त पूरा गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । ‘विकासका लागि हामी सबै पक्ष तयार छौँ । यो हाम्रो पनि आवश्यकता हो,’ उनले भने, ‘तर स्थानीयका मागहरूको सम्बोधन आयोजनाले गर्नुपर्छ । कोही पनि समस्यामा पर्न हुँदैन । त्यो ज्ञारेन्टी आयोजनाबाट दिलाउनुपर्छ।’

यो सडक खण्डको आँबुखैरेनीदेखि पोखरासम्मको काम अन्तिम चरणमा पुगेको छ । सहरी क्षेत्रमा ६ लेन र अन्य क्षेत्रमा ४ लेनको सडक निर्माण भइरहेको छ । मादी र सेती नदीमा आकर्षक सिग्नेचर पुल निर्माण चलिरहेको छ ।

अन्यत्र सबै खोला र खोल्साहरूमा पुल निर्माण लगभग सकिने चरणमा छ । मुग्लीन आँबुखैरेनी खण्डको कान्टारमा भएको भेलामा स्थानीय हाटबजार, पर्व र रीतिरिवाजमा असर नपर्ने गरी आयोजनालाई अगाडि बढाउन स्थानीयले माग गरेका छन्।

यस्तै, सोही खण्डमा पर्ने त्रिवेणी मन्दिरमा आवतजावत गर्ने बाटो र मन्दिरको सौन्दर्यीकरणमा सहयोग गर्न आयोजनाले सहजीकरण गर्ने सहमति भएको छ । स्थानीयहरूले नाम्जुङटार, कान्टार हुँदै रामशाहघाटसम्म करिब २.५ किलोमिटर सडक थप विस्तार गरी निर्माण गर्दा प्रभावकारी हुने प्रस्ताव अघि सारेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप