अन्याय भएको भन्दै कर्णालीबाट क्रिकेट नखेल्ने अनुजको घोषणा
सारांश
- कर्णाली प्रदेशका तीव्र गतिका बलर अनुज कुमार चनाराले टोलीमा अन्यायपूर्ण व्यवहार गरिएको भन्दै कर्णालीबाट क्रिकेट नखेल्ने घोषणा गरेका छन्।
- उनले विगत तीन वर्षदेखि बलिङमा पर्याप्त अवसर नपाएको र पटक-पटक टोलीबाहिर राखिएको आरोप लगाएका छन्।
- क्रिकेट खेल्न भारतबाट नेपाल आएका चनाराले कर्णालीबाट राष्ट्रिय टोलीको क्याम्पसम्म पुग्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए।
सुर्खेत । कर्णाली प्रदेशको क्रिकेटमा अनुज कुमार चनारा चर्चित नाम हो । २० वर्षीय चनारा क्रिकेटमा तीव्र गतिका बलरको रूपमा चिनिन्छन् ।
उनले विगत ६ वर्ष अघिदेखि कर्णाली प्रदेशबाट नेपालमा हुने विभिन्न घरेलु प्रतियोगिता खेल्दै आएका छन् । कर्णालीबाट राष्ट्रिय टोलीको क्याम्पसम्म पुग्ने उनी नै पहिलो खेलाडी हुन् । पछिल्लो समय अन्याय भएको भन्दै उनले अबदेखि कर्णाली प्रदेशबाट नखेल्ने घोषणा गरेका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले पटक–पटक आफूलाई टोली बाहिर राखिएको आरोप लगाए । ‘म विगत ५–६ वर्षदेखि कर्णाली प्रदेशबाट निरन्तर क्रिकेट खेल्दै आइरहेको छु । मैले यु–१९ टोलीको क्याम्पमा समेत सहभागिता जनाएको थिएँ,’ उनले भनेका छन्, ‘मैले सधैँ कर्णाली प्रदेशको लागि आफ्नो तर्फबाट सक्दो योगदान दिएको छु, तर विगत ३ वर्षदेखि टोलीबाट मैले राम्रो व्यवहार पाइनँ ।’
आफू बाध्य भएर सामाजिक सञ्जालमा लेख्न पुगेका अनुजले जनाएका छन् । ‘प्लेइङ–११ मा राखिए पनि ५० ओभरको खेलमा प्रायः ३–४ ओभरमात्र बलिङ गर्न दिइन्थ्यो,’ उनले भनेका छन्, ‘सुरुवाती ओभरमै १–२ विकेट लिँदा पनि मलाई पूरा १० ओभरको स्पेल दिइएन । त्यसपछि हरेक खेलमा २–४ ओभरमात्र अवसर दिइयो । जब विकेट लिन सकिनँ, लगातार २–३ खेलमा टोली बाहिर राखियो ।’
आफूले कप्तान र कोचसँग बारम्बार प्रश्न गर्दा ‘स्पिन ट्रयाक छ’ भन्ने जबाफमात्र पाइने गरेको अनुजले बताए । उनले अगाडि भने, ‘त्यसका बाबजुद पनि आफूलाई सधैँ टिमको लागि तयार राखेँ, किनकि क्रिकेट एउटा टिम खेल हो र टिमको जित नै मेरो प्राथमिकता थियो ।’
०८१ मा पीएम कप, दाङमा भएको खेलमा पुलिस क्लबविरुद्ध आफूले १० ओभर बलिङ गर्दै २९ रन दिएर ४ विकेट लिएको पनि अनुजले उल्लेख गरेका छन् ।
२०८२ को पीएम कपमा लुम्बिनीविरुद्धको खेल वर्षाका कारण रद्द भयो । त्यसपछि सुदूरपश्चिमविरुद्ध ५ ओभरमा ३३ रन दिएर २ विकेट लिएको उनले बताए ।
अनुजका अनुसार, त्यसपछि लगातार २ खेलमा २–३ ओभरमात्र अवसर पाइयो । ‘जसमा विकेट लिन सकिनँ,’ उनले भने, ‘र त्यसपछि लगातार ३ खेलमा टोली बाहिर राखियो । पुलिस क्लबविरुद्ध फेरि मौका पाउँदा ६ ओभरमा ३५ रन दिएर २ विकेट लिएको थिएँ ।’
तर त्यसपछि फेरि आज गण्डकीसँगको खेलमा बाहिर राखिएको उनले बताए । उनले भने, ‘मैले कप्तानसँग सोध्दा माथिबाट जे आदेश आउँछ, त्यही गर्छु भन्ने जबाफ पाइयो । यी सबै परिस्थितिलाई मध्यनजर गर्दै मैले आजदेखि कर्णाली प्रदेशबाट नखेल्ने निर्णय गरेको छु ।’
क्रिकेट खेल्न भारतबाट भागेर नेपाल आएका थिए अनुज
जाजरकोटको नलगाड नगरपालिका–५ मा ०६२ मंसिर १५ गते जन्मिएका अनुज निकै सङ्घर्षबाट आएका खेलाडी हुन् । उनी यहाँ जन्मे पनि सानैदेखि आफ्ना आमाबुबासँगै भारत गए ।
उनका बुबाआमा, भाइबहिनी सबै भारतमै बस्छन् । बाबाआमाले भारतमा सामान्य काम गरेर छोराछोरीलाई पढाउँछन् । उनले भारतमै विद्यालय लेभलको शिक्षा आर्जन गरे । कक्षा १० को अन्तिम परीक्षा नदिएरै उनी नेपाल फर्किएका थिए ।
उता स्कुलमा पढ्दै गर्दा सामान्य खेल खेल्थे । ‘खेल खेल्दै गर्दा क्रिकेटप्रति मेरो रुचि बढ्दै गयो,’ उनले विगत सम्झिए, ‘त्यसपछि भारतबाट बुबाआमालाई खबर नै नगरेर भागेर क्रिकेट खेल्नको लागि नेपाल आएँ ।’
उनले क्रिकेटप्रतिको लगावका कारण भागेर नेपाल आएपछि पढाइलाई निरन्तरता दिन सकेनन् ।
अनुजले भने, ‘मचाहिँ जसरी पनि क्रिकेट खेलाडी बन्छु भनेर नेपाल आएको थिएँ । चितवनमा मेरो भान्जा नाता पर्ने हुनुहुन्थ्यो । उहाँसँग बसेर चितवन क्रिकेट एकेडेमीमा क्रिकेट अभ्यास सुरु गरेँ ।’
उनी त्यो बेला १५ वर्षका थिए । चितवनकै रोयल क्रिकेट एकेडेमीमा प्रशिक्षण पाएका उनी पछिल्लो समय नेपालमा भएका घरेलु खेल सबै खेलेका छन् ।
उनी क्रिकेटमा यहाँसम्म आइपुग्नुका पछाडि चितवनमा रहेका आफ्ना भान्जालाई प्रेरणाको मुख्य स्रोत मान्छन् ।
‘उहाँ चितवनमा बस्नुहुन्थ्यो, म भारतमा हुँदा नेपाल क्रिकेटको बारेमा मलाई केही पनि थाहा थिएन,’ अनुजले भने, ‘भान्जाले नेपाली क्रिकेट बारेमा जानकारी दिए, यहाँ आएपछि मेरो रुचि अनुसार खेल्नमा सहयोग गरे ।’
सुरुवातमा भान्जासँगै बसेर अभ्यास खेल खेलेका अनुजले आफ्नो एकेडेमीको शुल्कसमेत धेरै पटक भान्जाले नै तिरेको स्मरण गरे । उनी सन् २०२१ मा कर्णालीबाट पहिलोपटक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेका थिए ।
साथै एसिया कपको १९ वर्ष मुनिको प्रशिक्षणमा पनि आफ्नो नाम आएको अनुजले बताए । विगत ६ वर्षदेखि उनले पीएम कप लगायतका प्रतियोगितामा कर्णाली प्रदेशबाट खेलिरहेका छन् ।
स्कुल टाइममा टेनिस बलले नै क्रिकेट खेलेका अनुजले नेपाल आएर ३ महिनाजति लेदर बलबाट अभ्यास गरे । त्यतिबेला कर्णालीमा एमएम कपको छनोट चलेको थियो । ‘म त्यतिबेला छनोट खेलमा सहभागी भएँ, र पहिलो प्रयासमै टिममा परेँ । त्यतिबेला एकदमै खुसी भएको थिएँ,’ उनले भने ।
अनुजले एमएम कपमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस लगत्तै पीएम कपमा पनि उनले उत्कृष्ट प्रदर्शन गरे । त्यसपछि उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परे । उक्त क्षणलाई करियरको स्मरणीय क्षण मान्छन् अनुज ।
पीएम कपको डेब्यु खेलमै कर्णाली प्रदेशले गण्डकीलाई हराएको अनुजले सम्झिए । ०७९ कै पीएम कपमै आफूले कर्णालीबाट खेल्दै प्रदेश नम्बर १ विरुद्ध ३१ रनको महत्त्वपूर्ण जित हासिल गरेको र आफू ‘प्लेयर अफ दि म्याच’ पनि भएको उनले बताए ।
‘मैले ३ दशमलब ४ ओभरमा १६ रन दिएर ४ विकेट लिएको थिएँ,’ उनले भने । उनले विराटनगर वारियर्सको टिमबाट इपीएल पनि खेले । सन्दिप लामिछानेको कप्तानीमा काठमाडौँ मेयर कप पनि उनले खेलेका छन् । सन् २०२४ मा मुलपानीमा भएको वीर गणेशमान टि–ट्वान्टी प्रतियोगितामा उनले कर्णालीबाटै खेलेका थिए ।
राष्ट्रिय टिमबाट खेल्ने उद्देश्य
देशको जर्सी लगाएर राष्ट्रिय टिमबाट खेल्ने अनुजको मुख्य उद्देश्य छ । यद्यपि कमजोर पारिवारिक अवस्थाका कारण सपनाहरूसँगै चुनौती पनि उत्तिकै रहेको उनी बताउँछन् ।
‘क्रिकेट खेल्न लागेको झन्डै ६ वर्ष बित्यो, खेलेरै आफैँमा आत्मनिर्भर हुनसक्ने अवस्था छैन,’ उनले भने । घरपरिवारबाट बेलाबेलामा विदेश जान पनि सुझाव आउने गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण