नेपालको मौलिक पहिचान र प्रचुर आरोग्य सम्भावना
सारांश
- संयुक्त राष्ट्रसंघले नेपालको प्रस्तावमा प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउने निर्णय गरेको छ।
- नेपालसँग प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक आधारहरू रहेकाले यसलाई आरोग्य पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिन्छ।
- आरोग्यलाई राष्ट्रिय पहिचान, अर्थतन्त्र र जीवनदर्शनका रूपमा अघि बढाउनु अबको आवश्यकता हो।
खुसी हुनु प्रत्येक मानिसको चाहना हो तर मानिस त्यही सपनाका कारण दुःखी छ किनकि खुसीको श्रोत चाहेर पनि पहिल्याउन सकिरहेको छैन । खुसीको श्रोत र यससँग जोडिएको सबैभन्दा महत्त्वपूर्ण पक्ष संवृद्धि हो । र, संवृद्धि केवल आर्थिक अवस्था वा विलासितासँग मात्रै जोडिँदैन । यससँग शारीरिक, मानसिक, सामाजिक, नैतिक तथा आध्यात्मिक पक्ष पनि उत्तिकै अन्तरसम्वन्धित हुन्छन् ।
भौतिक सम्पत्ति जति नै भए पनि रोग र अशान्ति छ भने त्यहाँ खुसीयाली आउन सक्दैन । त्यसैले रोग रहित अवस्था अर्थात् स्वस्थ र तन्दुरुस्त रहने प्रयास समग्र सम्बृद्धिको पहिलो आधार हो । यही यथार्थलाई मध्यनजर गर्दै यस वर्षदेखि संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।
नेपालको पहल र प्रस्तावमा गत महिना मार्च १०, २०२६ मा राष्ट्रसंघको महासभाले सर्वसम्मत रूपमा यो प्रस्ताव पारित गरेको छ । यससँगै यसले नेपालमा गहिरा जरा गाडेको आरोग्यको आधारलाई फेरि एक पटक छलफलको मञ्चमा ल्याएर उभ्याई दिएको छ ।
त्यसैले यसप्रति नेपालले गर्व गर्ने मात्रै होइन, यसको यथासम्भव प्रसार गर्दै हामीसँग रहेका आरोग्यका अथाह श्रोतहरूलाई विश्वसँग जोड्ने काममा पनि हामीले त्यति नै मसिनो गरी काम गर्नुपर्ने भएको छ ।
सरल भाषामा भन्दा आरोग्य हुनु भनेको रोग नलागेको अवस्था हो । शारीरिक, मानसिक र भावनात्मक पक्ष मात्रै होइन, आरोग्यसँग सामाजिक, पर्यावरणीय र आध्यात्मिक पाटो पनि उत्तिकै गाँसिएको छ । आरोग्य जीवनको भिन्न पक्ष होइन, बरु जीवनलाई समग्र रूपमा बुझ्ने दृष्टिकोण हो, जसले चेतना, सन्तुलन र आन्तरिक रूपान्तरणलाई मार्गदर्शन गर्छ ।
विश्वले झेलिरहेको मानसिक स्वास्थ्य सङ्कट भयावह छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार आजका दिनमा संसारका झन्डै एक अर्ब मानिस कुनै न कुनै मानसिक समस्यासँग जुधिरहेका छन् । मानसिक समस्याकै कारण आत्महत्या गर्ने मानिसको सङ्ख्या मात्रै वर्षको ७ लाख भन्दा बढी छ । प्रत्येक ४० सेकेन्डमा विश्वमा एक जनाले आत्महत्या गर्छन् ।
नेपालमा पनि वर्षमा सरदर सात हजार भन्दा बढीले आत्महत्या गरिरहेको तथ्याङ्कले देखाउँछ । यो भनेको नेपालमा दैनिक सरदर २० जनाले आत्महत्या गरिरहेका छन् । विशेष गरी युवा पुस्तामा एन्जाइटी, डिप्रेसन, डिजिटल डिजिज, सामाजिक तुलना, आर्थिक दबाब, सम्बन्ध विच्छेद र एक्लोपन तीव्र रूपमा बढिरहेको छ । मानिस संसारलाई जान्न दौडिरहेका छन् तर आफैलाई बुझ्ने प्रयत्नदेखि टाढिँदै छन् ।
यसैका लागि पनि यस्तो अवस्थाबाट राहत पाउन आरोग्यका आयामहरूलाई संसारसामु चिनाउन र स्थापित गर्न आवश्यक छ । आनन्द खोज्दै घुम्न हिँड्ने मानिसलाई आनन्द अनुभूति हुने सही तरिका सिकाउनु आवश्यक छ ।
आरोग्यका आधारभूत पक्षहरूको पहिचान एकातिर छ, अर्कोतिर यही आरोग्यलाई पर्यटनसँग जोडेर नेपालले संवृद्धिमा फड्को मार्न सक्छ । कारण, नेपालसँग आरोग्य पर्यटनका लागि विश्वमा कतै नभएका प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक आधारहरू छन् । जसले शारीरिक स्फूर्ति, मानसिक शान्ति, सामाजिक आत्मीयता, सांस्कृतिक अर्थ र वातावरणीय सन्तुलन जस्ता सबै आयामलाई समेट्छ ।
योग, ध्यान, पदयात्रा, वन बिहार, ध्वनि उपचार, मौन साधना, स्वस्थ भोजन र समुदायमा आधारित आतिथ्य अनुभवले नेपाललाई उत्कृष्ट आरोग्य गन्तव्य बनाउन सक्छ ।
हाम्रा हिमशिखरहरू केवल भूगोलका उचाइ मात्रै होइनन्, चेतनाका उज्याला प्रकाशहरू हुन् । पहाडका काखहरू भूआकृति मात्रै होइनन्, शान्तिका आश्रायस्थल हुन् । तराईका भूमिहरू केवल मैदान मात्रै होइनन् जीवनका स्पन्दन हुन् । औषधीय गुणले भरिपूर्ण यहाँका जङ्गलहरू शान्तिका श्वास प्रवाह गरिरहेका छन्, नदीहरू त्यसमा संगीत भर्दै सुसाइरहेका छन्, सँगसँगै झरनाहरू गाइरहेका छन् । हरेक पल स्वच्छ हावाले मानव आत्मालाई स्पर्श गरिरहेको छ ।
यहाँको हिमाली सूर्योदयले हरेक दिन नवजीवनको उद्घोष गरिरहेको छ । एकातिर प्राकृतिक परिपूर्णता, अर्कोतिर सभ्यताको सिङ्गो स्वरूप । गौतम बुद्धको जन्मभूमि, शिव र बौद्ध दर्शनको सहअस्थित्वमाथि आध्यात्मिक उत्कृष्टताको अतुलनीय उदाहरण कुनै पनि दृष्टिकोणबाट साधारण लाग्दैन । यहाँका हरेक गुम्बामा गुन्जिने मन्त्रहरू, योग ध्यानका प्राचीन परम्पराहरू, ऋषिमुनिहरुको तपोभूमिले बोकेको अद्वितीय ऊर्जा, सबका सब सम्झिँदा लाग्छ नेपाल केवल यात्रा गन्तव्य मात्रै होइन, शरीरको उपचार, मनको शुद्धि र चेतनाको पुनर्जागरणको पवित्र केन्द्र हो ।
त्यसैले हामीले के स्थापित गर्नु आवश्यक छ भने विश्वका कुना–कुनाबाट नेपाल आउनेहरू केवल घुमेर मात्रै फर्कँदैनन्, आफूलाई नयाँ रूपमा पुनर्जागृत गरेर फर्कन्छन् । आरोग्य नेपालका लागि केवल पर्यटनको नयाँ सम्भावना मात्रै पनि होइन, आफ्नो मौलिक पहिचानलाई विश्वसामु पुनःस्थापित गर्ने अवसर पनि हो । आरोग्य दिवसले हामीलाई यही सन्देश दिन्छ । दिवस मनाउनु मात्रै उपलब्धि होइन, आरोग्यलाई राष्ट्रिय पहिचान, अर्थतन्त्र र जीवनदर्शनका रूपमा अगाडि बढाउनुपर्छ ।
आध्यात्मिक ज्ञानलाई आधुनिक पहिचानसँग वैज्ञानिक र तर्कसंगत रूपमा जोडेर विश्व बजारमा पुर्याउने समय यही हो । अन्धाधुन्ध आयात मात्र होइन, आफ्नै मौलिक आरोग्य ज्ञान, भोजन, जडीबुटी र जीवनशैलीको निर्यात तथा पहिचान निर्माण गर्ने बेला यही हो । हाम्रा मौलिक खाना र परिकारहरू विश्वस्तरका आरोग्य भोजनका रूपमा ब्रान्डिङ गर्ने बेला यही हो । विश्वमा शान्ति, सजगता, सह–अस्तित्व र दिगो जीवनशैलीको सन्देश फैलाउन ऐतिहासिक भूमिका निभाउन सक्ने बेला यही हो ।
अप्रिल १५ को आरोग्य दिवसको वास्तविक अर्थ यही हो । अब आरोग्यलाई केवल व्यक्तिगत अभ्यासमा सीमित नराखी पर्यटन, स्थानीय उत्पादन, युवा रोजगारी, वैदेशिक श्रमिक पुनरागमन, सांस्कृतिक कूटनीति र निर्यातमुखी अर्थतन्त्रको राष्ट्रिय रणनीतिका रूपमा अघि बढाउनुपर्छ । यदि हामीले आफ्नै माटो, आफ्नै अन्न, आफ्नै जडीबुटी, आफ्नै संस्कार, आफ्नै दर्शन र प्रकृतिलाई विश्वसामु चिनाउन सक्यौँ भने नेपाल विश्वको अग्रणी आरोग्य गन्तव्य बन्न सक्छ ।
विश्वका कतिपय देशहरूले आरोग्य पर्यटनलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन् । छिमेकी मुलुक भारत, इण्डोनेशिया, थाइल्याण्ड, श्रीलङ्का, भियतनाम लगायत कतिपय युरोपियन र दक्षिण अमेरिकी मुलुकहरूले आरोग्य पर्यटनमा उपलब्धि पनि हासिल गरिरहेका छन् । जुन सम्भावना नेपालमा कयौँ गुणा बढी छ ।
जसरी आफूसँग भएको खुबी र क्षमता चिनेर अघि बढ्ने मान्छेले त्यसमा सफलता पाउन सक्छ त्यसैगरि हाम्रो देशसँग भएको खास सम्पत्ति र सम्भावना अनुसार अघि बढ्यौँ भने त्यसमा असफल हुने कुरै छैन । नेपालले अन्य मुलुकको नक्कल होइन, आफ्नो मौलिक पहिचानसहित संसारलाई आरोग्यको खास स्वाद चखाउन सक्छ । आरोग्य पर्यटनको नेपाली मोडल निर्माण गर्न सक्छ । त्यसैले यसका लागि सबै एकजुट होऔँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारकालाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण