बर्दिबासमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न: हिताधिकारीको कल्याण र कोषको दिगोपनमा जोड
सारांश
- महोत्तरीको बर्दिबासमा भूतपूर्व सैनिक सम्मेलन-२०८२ भव्य रूपमा सम्पन्न भएको छ।
- प्रधान सेनापति अशोक राज सिग्देलले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा ज्येष्ठ सैनिक तथा उत्कृष्ट उद्यमीहरूलाई सम्मान गरिएको छ।
- सेनाले सम्मेलनमार्फत संकलन गरिएका सुझावहरूले सैनिक कल्याणकारी कोषको स्थायित्व र हिताधिकारीको सुविधा परिमार्जनमा मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।
काठमाडौँ । "भूतपूर्व सैनिक सम्मेलनको प्रण–सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन" भन्ने मूल सन्देशका साथ मधेसका जिल्लाहरूलाई समेटेर आज महोत्तरीको बर्दिबासमा भूतपूर्व सैनिक सम्मेलन–२०८२ भव्य रूपमा सम्पन्न भएको छ।
नेपाली सेनाको मध्य पूर्वी पृतनाको आयोजना तथा नेपाली सेना कल्याणकारी बोर्डको समन्वयमा सञ्चालन भएको उक्त सम्मेलनको उद्घाटन प्रधान सेनापति अशोक राज सिग्देलले गरे । बर्दिबासस्थित मुख्य सम्मेलन केन्द्र र अन्य दुईवटा उप-केन्द्रहरूमा ज्येष्ठ सैनिक अधिकृतहरूको आतिथ्यमा भएको यस कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लामा बसोबास गर्ने करिब दुई हजार पाँच सय अवकाश प्राप्त सैनिक तथा उनीहरूका परिवारजनको उत्साहजनक उपस्थिति रहेको थियो।
सम्मेलनका अवसरमा नेपाली सेनाले ज्येष्ठ भूतपूर्व सैनिक, ज्येष्ठ एकल महिला र आफ्ना चारजना सन्ततिलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने एकजना आदर्श अभिभावकलाई विशेष सम्मान गरेको छ।
त्यसैगरी, स्वरोजगारमार्फत आत्मनिर्भर बनेका सर्वोत्कृष्ट र उत्कृष्ट उद्यमीहरूलाई पनि प्रशंसा-पत्र र पुरस्कार वितरण गरिएको थियो। सामाजिक उत्तरदायित्व अन्तर्गत फरक क्षमता भएका र शारीरिक रूपमा अशक्त आठजना भूतपूर्व सैनिकहरूलाई ह्विल चियर तथा बैसाखी समेत वितरण गरिएको सेनाले जनाएको छ।
समारोहलाई सम्बोधन गर्दै नेपाली सेनाले यस्ता सम्मेलनले सेवारत र अवकाश प्राप्त सैनिकहरूबीचको भावनात्मक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ। साथै, सम्मेलनमार्फत संकलन गरिएका व्यावहारिक सुझावहरूले सैनिक कल्याणकारी कोषको स्थायित्व सुनिश्चित गर्न र हिताधिकारीहरूलाई प्रदान गरिने शिक्षा, स्वास्थ्य, सहुलियत र स्वरोजगारका सुविधाहरूलाई समयसापेक्ष परिमार्जन गर्न मद्दत पुग्ने बताइएको छ।
मध्य पूर्वी पृतना अन्तर्गतकै हिमाली तथा पहाडी जिल्लाहरूमा बसोबास गर्ने भूतपूर्व सैनिकहरूका लागि भने वैशाख ५ गते अर्को सम्मेलन आयोजना गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण