बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
‘टक फर्वार्ड’मा रामकृष्ण ढकाल

‘सेकेन्डको टिकटक भिडियोमा हिट हुने दौडमा संगीतको गहिराइ हराउँदैछ’

बिहीबार, ०३ वैशाख २०८३, १८ : ००
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • गायक रामकृष्ण ढकालले सांगीतिक यात्रालाई निरन्तरता दिँदै अहिले चलचित्र 'मालती मङ्गले' को निर्माणमा सक्रियता देखाउनुभएको छ।
  • ढकालले अहिलेको संगीतमा टिकटकको प्रभावले गर्दा गीतको गहिराइ र मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ।
  • उहाँले संगीत र चलचित्र एकअर्काका परिपूरक भएको बताउँदै कलाकारले आफ्नो सिर्जनात्मक क्षेत्रमै ध्यान केन्द्रित गर्नुपर्ने धारणा राख्नुभएको छ।

काठमाडौँ । सफलताको उपल्लो उचाईमा पुग्नु र त्यो उचाईमा अडिरहनु दुई भिन्न कुरा हुन् । तर यी दुवैमा सफलताको मानक बनाएको नाम हो रामकृष्ण ढकाल । 

रामकृष्ण ढकाल नेपाली सांगीतिक क्षेत्रमा आफैंमा ठुलो ब्रान्ड हो । उनको नामको अगाडि वा पछाडि कुनै फुर्को जोडिरहनु पर्दैन । यति चाहिँ भनौं नेपालका सुप्रसिद्ध गायक । नेपाली सुगम संगीत र पार्श्व गायनमा साढे तीन दशकदेखि निरन्तर सक्रिय, हजारौंको संख्यामा गीत एकसे एक लोकप्रिय, श्रोताको दोस्रो नारायगोपालको उपमाले सम्मान गर्ने, एकल एल्बम मात्रै करिब दुई दर्जन सार्वजनिक गरेका गायक हुन् उनी । 

गायन कौशलको कुरा गर्नै परेन, रामकृष्ण अभिनयमा पोख्त नै देखिन्छन् । दुई दशकअघि आफ्नै सांगीतिक जीवनको संघर्षमा आधारित फिल्म ‘आशीर्वाद’को शीर्ष भूमिकामा उनले अभिनय गरिसकेका छन् । आफ्ना प्राय: म्युजिक भिडियोमा आफैं मोडल बनेर अभिनय गर्ने गर्छन् उनी । 

यात्रा अघि बढ्दै जाँदा मोडहरू पनि आइरहन्छन्, तर रामकृष्णको सांगीतिक जीवन र सफलता पूर्वपश्चिम राजमार्ग जस्तै सिधा रेखामा नै अधिकांश समय चल्यो । यसबेला भने यात्रा अलिकति मोडिदैछ, उनी फिल्म निर्माणमा होमिएका छन् । ‘मालती मंगले’को नामको फिल्मका उनी निर्माता बनेका छन् । 

रातोपाटी पडकास्ट ‘टक फर्वार्ड’मा अन्तर्वार्ताका क्रममा रामकृष्णले आफ्नो करिअर, संगीत र व्यक्तिगत जीवनका धेरै कुरा सेयर गरेका छन् । उपल्लो शिखरबाट समयक्रममा झर्नै पर्ने प्राकृतिक बाध्यता र राम्रो गीतहरू ओझेल परेको अहिलेको समयको चिन्ता उनले गरे । कलाकारहरू राजनीतिमा प्रवेश गरेर सफलता पाएको अहिलेको ‘गोल्डेन पिरियड’लाई उनले किन ‘मिस’ गरे वा राजनीतिमा आउने रूचि छैन ? फिल्म निर्माणमा लाग्नुको कारण के हो ? पहिलेजस्तो गीत किन आइरहेका छैनन् वा आएर पनि नचलेका ? एआईले संगीतमा कस्तो असर पारिरहेको छ ? लगायत विभिन्न विषयमा गायक रामकृष्ण ढकालसँग गरिएको कुराकानीको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
  
अहिले थुप्रै कलाकार राजनीतिमा होमिएको समय छ, तपाईं चाहिँ एक्कासि फिल्म निर्माणतिर लाग्नुभयो । सांगीतिक सफलताको उपल्लो शिखरमा बसेको तपाईं किन यतातिर मोडिनुभयो ? 

राजनीति वा समाजसेवा सबैको आ–आफ्नो स्वतन्त्रता र रुचिको कुरा हो । अहिलेको सिजन र कथाले धेरैलाई राजनीतितिर तानेको होला, तर म आफू सक्रिय रहुञ्जेल सङ्गीतमै काम गर्न चाहन्छु ।

Ram Krishna Dhakal

नेपालको राजनीतिबारे हामी सबै जानकार छौँ, त्यो पनि एक किसिमको समाजसेवा नै हो । तर म अहिले फिल्म 'मालती मङ्गले'को प्रोजेक्टमा व्यस्त रहेँ । यसमा मेरो लगानी मात्र होइन, सपना पनि जोडिएको छ । त्यसैले अहिले मेरो ध्यान पूर्णतः सिर्जनामै केन्द्रित छ । यसलाई अर्को मोड लिएको भन्दा बाटो बिस्तार गरेको भन्न सकिन्छ । संगीत र फिल्म एकअर्काका परिपूरक नै हुन् । 

तपाईंका निकट मित्र रवि लामिछाने अहिले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा हुनुहुन्छ । तपाईंको चर्चित गीत 'तिम्रो आगमनले फेरि' उहाँले नै लेख्नुभएको हो । यति नजिकको मान्छेले तपाईंलाई राजनीतिमा आउन प्रस्ताव गर्नुभएन ?

रविजी र मेरो मित्रता धेरै पुरानो हो । उहाँमा गजबको लेखन शक्ति पनि छ । उहाँले मेरो साङ्गीतिक यात्रामा धेरै सहयोग गर्नुभएको पनि छ । जहाँसम्म राजनीतिको कुरा छ, मलाई लाग्छ कलाकारलाई सबैले कलाकारकै रूपमा रहिरहेको हेर्न चाहन्छन् । मेरो आफ्नै योजनाहरू छन् । राजनीति कस्तो क्षेत्र हो भने एउटा फिल्मको डाइलग छ नि- 'भित्र छिर्ने बाटो त छ, तर बाहिर निस्किने बाटो छैन ।' म त्यहाँको जञ्जालमा फस्नुभन्दा आफ्नै क्षेत्रमा केही नयाँ गर्न चाहन्छु । पुराना गीतहरूलाई नयाँ पुस्तासम्म पुर्‍याउनु र नयाँ सिर्जना पस्कनु नै मेरो प्राथमिकता हो ।

फिल्म निर्माणमा तपाईंको यो 'डेब्यु' हो । दुई दशकअघि 'आशीर्वाद'मा हिरो हुनुभयो, अहिले निर्माता । फिल्म क्षेत्रमा लगानी बालुवामा पानी हाले जस्तै हुन्छ भन्छन् अहिलेको ट्रेन्ड हेर्दा । किन जोखिम मोल्नुभयो ?

जोखिम त हरेक व्यवसायमा हुन्छ । तर जोखिम नमोली प्रगति हुँदैन । अहिले नेपाली फिल्म हेर्ने एउटा छुट्टै र परिपक्व दर्शक वर्ग तयार भएको छ । पहिला हिन्दी फिल्म चल्दा नेपाली फिल्म चपेटामा पर्थे, अहिले नेपाली फिल्मले आफ्नै बजार बनाएका छन् । 'मालती मङ्गले' मेरो लागि रहर मात्र होइन, एउटा प्रोफेसनल प्रोजेक्ट हो । मैले चाहेको भए आफैँ हिरो खेल्न सक्थेँ, तर मैले कथाको माग अनुसार विजय बराललाई लिएँ । किनकि म निर्माताको रूपमा इमानदार हुन चाहन्छु । यदि दर्शकलाई राम्रो कन्टेन्ट दियो भने उहाँहरूले हलसम्म आएर साथ दिनुहुन्छ भन्नेमा म ढुक्क छु ।

फिल्मको नाम 'मालती मंगले' सुन्दा राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाटकको सम्झना आउँछ । कथा त्यससँगै सम्बन्धित त होइन ? 

नाम सुन्दा धेरैलाई त्यस्तो लाग्न सक्छ, तर यो कथा पूर्णतः फरक छ । यो प्रकु पाण्डेको कथा हो र उहाँले नै यो फिल्म निर्देशन गर्नुभएको छ । यसमा ५० को दशकदेखि ६५ सालसम्मको एउटा कालखण्डलाई चित्रण गरिएको छ ।

यो एउटा सङ्घर्षको कथा हो, जुन आम नेपाली परिवारसँग जोडिन्छ । यसमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलको मुख्य भूमिका छ । यो फिल्म सूचनामूलक र मनोरञ्जनात्मक दुवै छ ।

तपाईंलाई नेपाली सङ्गीतको 'दोस्रो नारायण गोपाल' भनिन्छ । यो ट्यागले तपाईंलाई कत्तिको गर्विलो महसुस गराउँछ वा कहिलेकाहीँ आफ्नै मौलिकता छायामा परेको जस्तो पनि लाग्छ ? कुन गीतबाट चाहिँ नारायणगोपालको ट्याग आफूबाट हटेको मान्नुहुन्छ ?

यो ट्याग मेरा लागि कहिल्यै बोझ बनेन । नारायण गोपालज्यूको गीत गाएरै म यहाँसम्म आएको हुँ, उहाँ मेरो प्रेरणाको स्रोत हुनुहुन्छ । सुरूका गीतहरू 'हाम्रो सुन्दर संसार', ‘माया गर्नेको चोखो माया’, 'यात्रा रहेछ जिन्दगी'मा उहाँको प्रभाव पर्नु स्वाभाविक थियो । तर 'ओराली लागेको हरिणको चाल भो' र 'रिसाउँदा नि आफ्नै' जस्ता गीतहरूले मेरो आफ्नै मौलिक पहिचान स्थापित गरे । मलाई लाग्छ, एउटा कलाकारले सुरूमा अरूबाटै सिक्ने हो, तर पछि आफ्नो शैली बनाउनुपर्छ । नारायण गोपालसँग मेरो नाम जोडिनु त झनै सौभाग्यको कुरा हो ।

अहिले सङ्गीतमा 'एआई' को प्रयोग बढेको छ । तपाईंकै गीतको पनि एआई भर्सन आएको छ । यसलाई कसरी हेर्नुहुन्छ ?

एआई टेक्नोलोजीको एउटा पाटो हो । यसले कम्पोजिसन र एरेन्जमेन्टमा काम छिटो बनाउन मद्दत गर्छ । रेफरेन्स लिनका लागि यो राम्रो हो । तर सङ्गीत भनेको भावना  हो । एउटा मेसिनले मान्छेको जस्तो गहिराइ र महसुस दिन सक्दैन । मान्छेले गाउँदा र सिर्जना गर्दा आउने ‘फिल’लाई एआईले कहिल्यै रिप्लेस गर्न सक्दैन । यो एउटा टुल त हो, तर सिर्जनाको पूर्ण विकल्प होइन ।

तपाईंको समयका सहयात्री गायकहरू यम बराल र राजेशपायल राईसँगको सम्बन्ध र प्रतिस्पर्धा कस्तो थियो ? हिजोआज तपाईंहरूबिच दूरी बढेको त होइन नि ?

हामी सङ्घर्षका दिनदेखिका साथी हौँ । रेडियो नेपालमा सँगै जान्थ्यौँ, सँगै चिया खान्थ्यौँ । सांगीतिक हुर्काइ सँगै भयो । पछि आ–आफ्नो परिवार र करिअरमा व्यस्त भएपछि भेटघाट कम भएको पक्कै हो ।

Ram Krishna Dhakal2

मिडियाले कहिलेकाहीँ सानो कुरालाई ठुलो बनाएर 'दूरी बढ्यो' भन्दिन्छन्, तर त्यस्तो होइन । यम र राजेश दुवै एकदमै मनकारी र 'फ्र्याङ्क' मान्छे हुन् । हामीबिच सधैँ स्वस्थ प्रतिस्पर्धा रह्यो । कहिलेकाहीँ एउटा गायकका लागि बनेको गीत अर्कोले गाएको उदाहरण पनि छ । 

पछिल्लो समय सङ्गीत बजारमा धेरै परिवर्तन आएको छ । पुराना गीतहरू अहिले पनि उत्तिकै सुनिन्छन्, तर नयाँ गीतहरू छिट्टै हराउँछन् । यसको कारण के होला ?

अहिले समय धेरै 'फास्ट' भएको छ । मान्छेमा धैर्यता कम छ । ३० सेकेन्डको टिकटक भिडियोमा हिट हुने दौडमा कन्टेन्टको गहिराइ हराउँदै गएको छ । पहिला एउटा गीत हिट हुन वर्षौँ लाग्थ्यो र त्यो पुस्तौँसम्म रहन्थ्यो । अहिले भाइरल हुनु र हिट हुनुमा फरक छ । मलाई लाग्छ, पुराना गीतहरूको प्रभाव अझै पनि बलियो छ किनकि ती गीतमा शब्द र सङ्गीतको सही तालमेल थियो । 'मालती मङ्गले'मा पनि हामीले त्यही मेलोडीलाई जोगाउने प्रयास गरेका छौँ ।

अहिलेको सरकार र विशेषगरी नयाँ पुस्ताका नेताहरूसँग सङ्गीत क्षेत्रको अपेक्षा के छ ?

हाम्रो सङ्गीत एकदमै समृद्ध छ । 'बिट' र मेलोडीमा हामी धनी छौँ । अहिलेको सरकारमा पढेलेखेका र युवाहरूको सहभागिता छ । हामीले वर्षौँदेखि प्रतिलिपि अधिकार र रोयल्टीको विषयमा कुरा उठाइरहेका छौँ । कलाकारहरू जीवनभर सङ्गीतमा लागेर अन्तिममा उपचारका लागि हात फैलाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ । सङ्गीतको सही व्यवस्थापन र कलाकारको सम्मानका लागि ठोस कानुन र कार्यान्वयनको खाँचो छ । सरकारले सङ्गीत साक्षरता र यसलाई एउटा उद्योगको रूपमा विकास गर्न ध्यान दिनुपर्छ ।
भिडियो/फोटो : मनोज खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेम रिसाल
खेम रिसाल

खेम रिसाल रातोपाटीका कपी एडिटर हुन् ।

लेखकबाट थप