आदेशको धज्जी उडाउँदै दूषित खाजा बेच्ने बागमती स्विट्स सिल
सारांश
- काठमाडौँको बागमती स्विट्सले सरकारी आदेशको उल्लंघन गर्दै किरा परेको र दुर्गन्धित खाजा बिक्री गरेको छ।
- विभागको रोकलाई बेवास्ता गर्दै पुनः दूषित खाजा वितरण गरेको पाइएपछि टोलीले उक्त उद्योगमा सिलबन्दी गरेको छ।
- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त उद्योगविरुद्ध खाद्य स्वच्छता ऐन बमोजिम कानुनी कारबाही अघि बढाएको छ।
काठमाडौँ । सरकारी आदेशको धज्जी उडाउँदै किरा परेको र दुर्गन्धित खाजा बिक्री वितरण गर्ने काठमाडौँको बागमती स्विट्स प्रा.ली.लाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिलबन्दी गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत अखाद्य वस्तु बिक्री गरेको र प्रशासनको रोकलाई समेत बेवास्ता गरेको भन्दै विभागले कडा कारबाही सुरु गरेको हो।
घटनाको सुरुवात चैत ३० गते भएको थियो, जब बागमती स्विट्सको तयारी खाजाको प्याकेटमा किरा भेटिएको र निकै दुर्गन्ध आएको भन्दै विभागमा उजुरी परेको थियो। सो उजुरीका आधारमा विभागका खाद्य निरीक्षण अधिकारीहरूले तत्कालै अनुगमन गरी अर्को व्यवस्था नभएसम्मका लागि उत्पादन र बिक्री वितरण नगर्न कडा निर्देशन दिएका थिए। तर, विभागको आदेशलाई ठाडो चुनौती दिँदै उक्त कम्पनीले पुनः लुकीछिपी विभिन्न संघसंस्थाहरूमा तयारी खाजा पठाउन थालेको सूचना वैशाख ३ गते प्राप्त भयो।
विभागमा प्राप्त सूचनाका आधारमा विभागको र्यापिड रेस्पोन्स टिम (आरआरटी), काठमाडौँ डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरी वृत्त सिंहदरबारको संयुक्त टोलीले तत्कालै बागमती स्विट्समा छापा मार्यो। सो क्रममा त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयमा १४ प्याकेट र चाल्नाखेल अस्पतालमा २५ प्याकेट दूषित खाजा पुगिसकेको फेला पर्यो। त्यति मात्र नभई, अन्य स्थानमा डेलिभरी गर्नका लागि गाडीमा लोड गर्न ठिक्क पारिएको अवस्थामा थप ७ प्याकेट गरी जम्मा ५१ प्याकेट खाजा टोलीले रंगेहात फेला पारेको थियो।
विगतको आदेश उल्लंघन गर्दै कानुन विपरीत मानव स्वास्थ्यमा गम्भीर खेलबाड हुने गरी दूषित खाद्य पदार्थ बिक्री गरेको पाइएकाले विभागले बागमती स्विट्सको उत्पादन स्थल र कारखानालाई अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा सिलबन्दी गरिदिएको छ।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माका अनुसार उक्त उद्योगमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप कडा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ। बजारमा उपभोक्ताको स्वास्थ्यप्रति गैरजिम्मेवार बन्ने व्यवसायीहरूलाई नियन्त्रण गर्न विभागले अनुगमनमा थप कडाइ गर्ने चेतावनी समेत दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण