संघ सरकारको निर्देशन विरुद्ध गोरखाका पालिका, ७ गतेदेखि विद्यालय खोल्ने निर्णय
सारांश
- संघीय सरकारको निर्देशनलाई बेवास्ता गर्दै गोरखाका ११ वटै स्थानीय तहले बैशाख ७ गतेदेखि नै विद्यालय खोल्ने निर्णय गरेका छन्।
- शैक्षिक सत्रको कार्यघण्टा र दिन पूरा गर्नका लागि पूर्व निर्धारित क्यालेन्डर अनुसार पठनपाठन सुरु गर्ने निर्णय गरिएको हो।
- पालिका प्रमुखहरूले विकास आयोजनाका लागि विनियोजित बजेट रोक्का भएको भन्दै तत्काल फुकुवा गर्न सरकारसँग माग गरेका छन्।
पोखरा । संघीय सरकारले आगामी बैशाख १५ गतेदेखि मात्रै विद्यालय भर्ना अभियान सुरु गर्न निर्देशन दिएको भए पनि गोरखाका पालिकाहरुले ७ गतेदेखि नै विद्यालय खोल्ने निर्णय गरेका छन् ।
११ वटै स्थानीय तहले बैशाख ७ गतेदेखि नै विद्यालय खोल्ने र पठनपाठन सुरु गर्ने सर्वसम्मत निर्णय गरेका हुन् ।
जिल्ला समन्वय समिति गोरखाको अगुवाइमा शुक्रबार बसेको ११ वटै पालिका प्रमुख तथा अध्यक्षहरूको बैठकले संघीय सरकारको परिपत्रले शैक्षिक सत्रमा अन्योल सिर्जना गरेको भन्दै आफ्नै पूर्व निर्धारित शैक्षिक क्यालेन्डर अनुसार अघि बढ्ने निर्णय गरेको हो । शिक्षा नियमावली २०५९ को दफा ८४ अनुसार शैक्षिक सत्र बैशाख १ गतेदेखि सुरु भई चैत मसान्तसम्म कायम रहनुपर्ने व्यवस्था छ ।
विद्यालयले वर्षमा कम्तीमा २ सय २० दिन पढाउनुपर्ने व्यवस्था छ । यस्तै, राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले कक्षा १–३ मा ८ सय ३२ कार्यघण्टा र कक्षा ४–१२ मा १ हजार २४ कार्यघण्टा पठनपाठन हुनुपर्ने तोकेको छ । ‘संघीय सरकारले १५ गतेदेखि मात्रै भर्ना सुरु गर्न भने पनि यसले गर्दा तोकिएको कार्यघण्टा र कार्यदिन पुग्ने देखिँदैन,’ बैठकको निर्णयमा भनिएको छ, ‘अभिभावकहरूको माग र शैक्षिक क्यालेन्डरलाई मध्यनजर गर्दै बैशाख ७ गतेबाटै विद्यार्थी भर्ना र पठनपाठन अघि बढाउने निर्णय गरिएको हो ।’
यसबाहेक पालिका प्रमुखहरुले संघीय सरकारले गोरखाका विभिन्न विकास आयोजनाका लागि विनियोजित बजेट रोक्का राखेकोमा पनि गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित बजेट रोक्का हुँदा विकास निर्माणका काम अवरुद्ध भएको भन्दै तत्काल बजेट फुकुवा गरी कार्यान्वयनको वातावरण मिलाउन बैठकले माग गरेको जिसस प्रमुख मोहन बहादुर थापाले जानकारी दिए । गोरखामा ९ गाउँपालिका र २ नगरपालिका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण