शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देहीको तिलोत्तमामा विद्यालय समायोजन अभियान सुरु

शुक्रबार, ०४ वैशाख २०८३, २० : ५४
शुक्रबार, ०४ वैशाख २०८३

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यार्थी संख्या न्यून भएका विद्यालयहरूलाई समायोजन (मर्ज) गर्ने प्रक्रिया अघि बढाएको छ। कक्षामा १५ जनाभन्दा कम विद्यार्थी रहेका विद्यालयलाई प्राथमिकतामा राख्दै नगरपालिकाले शैक्षिक सुधारको अभियान सुरु गरेको हो।

माघ २८ गते बसेको नगर कार्यपालिकाको बैठकले शिक्षा शाखा प्रमुखको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले संस्थागत र सामुदायिक विद्यालय समायोजनसहित समग्र शैक्षिक सुधारका लागि अध्ययन गरी कार्यविधिसहितको प्रतिवेदन पेश गरेको थियो। सोही प्रतिवेदनका आधारमा विद्यालय मर्ज प्रक्रिया अघि बढाइएको नगरप्रमुख रामकृष्ण खाँणले जानकारी दिए।

नगरप्रमुख खाँणका अनुसार तिलोत्तमालाई शैक्षिक हबको रूपमा विकास गर्ने लक्ष्यसहित ६ वटा विद्यालय समायोजन र ७ वटा विद्यालयको तह मिलान गरिनेछ। उनले संस्थागत विद्यालयहरूमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य गरिएको समेत बताए।

हाल कक्षा १ देखि १२ सम्म २३ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् भने करिब २ हजार ३ सय विद्यार्थीले छात्रवृत्ति पाउनेछन्। छात्रवृत्तिमा जेहेन्दार, विपन्न तथा दलित विद्यार्थीलाई प्राथमिकता दिइने उनले स्पष्ट पारे।

प्रमुख प्रशासकीय अधिकृत हिमलाल भुसालका अनुसार तिलोत्तमा–१६ का बोहिया आधारभूत विद्यालय र कोटहिमाई मिसुजु आधारभूत विद्यालयलाई कोटहिमाई मिसुजु आधारभूत विद्यालयमै समायोजन गरिएको छ।

त्यसैगरी तिलोत्तमा–११ को नवज्योति शंकरमान आधारभूत विद्यालयलाई भुल्के माध्यमिक विद्यालयमा र तिलोत्तमा–१३ को समेरी आधारभूत विद्यालयलाई जनता माध्यमिक विद्यालयमा गाभिएको छ।

 यस्तै, तिलोत्तमा–१२ को कोटियामाई आधारभूत विद्यालयलाई सरस्वती आधारभूत विद्यालयमा, तिलोत्तमा–६ को मेदिनी आधारभूत विद्यालयलाई शान्ति नमुना माध्यमिक विद्यालयमा र तिलोत्तमा–१४ को नमुना आधारभूत विद्यालयलाई टिकुलीगढ माध्यमिक विद्यालयमा समायोजन गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप