बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘धुरन्धर २’ मा दाउद इब्राहिमको चित्रण गलत : राम गोपाल वर्मा

शनिबार, ०५ वैशाख २०८३, ०७ : ०३
शनिबार, ०५ वैशाख २०८३

सारांश

  • निर्देशक राम गोपाल वर्माले 'धुरन्धर २' फिल्मको प्राविधिक र कथावाचनको प्रशंसा गरेका छन्।
  • फिल्ममा दाउद इब्राहिमको चित्रण यथार्थपरक नभएको वर्माको दाबी छ।
  • दाउद करिब २० वर्षअघि नै आपराधिक दुनियाँबाट टाढिसकेको उनको तर्क छ।

मुम्बई। बलिउडका चर्चित निर्देशक राम गोपाल वर्माले हालै प्रदर्शनमा आएको आदित्य धरको फिल्म ‘धुरन्धर २’ को प्राविधिक पक्ष र कथावाचनको प्रशंसा गरे पनि एउटा मुख्य पात्रको चित्रणमा भने कडा असहमति जनाएका छन् । अन्डरवर्ल्डका विषयमा गहिरो दख्खल राख्ने निर्देशक वर्माले फिल्ममा देखाइएको दाउद इब्राहिमको चरित्र यथार्थसँग मेल नखाने दाबी गरेका हुन् ।

लेखक हुसैन जैदीको युट्युब च्यानलमा कुराकानी गर्दै वर्माले फिल्मका धेरै पक्षहरूले आफूलाई प्रभावित पारेको बताए । तर, फिल्ममा दाउद इब्राहिमलाई जसरी देखाइएको छ, त्यसमा भने उनी सन्तुष्ट छैनन् ।

फिल्ममा दाउदलाई ‘बड़े साहब’ को रूपमा प्रस्तुत गरिएको छ, जसले पाकिस्तानमा बसेर भारतमा आतंकवादी अपरेसनहरू सञ्चालन गर्ने मास्टरमाइन्डको भूमिका निभाएको देखाइन्छ । निर्देशक वर्माका अनुसार फिल्म मेकरका आफ्नै स्रोतहरू हुन सक्छन्, तर उनको नजरमा यो चित्रण गलत र तर्कहीन छ ।

वर्माले दाउद इब्राहिम विगत लामो समयदेखि यस्ता आपराधिक गतिविधिहरूमा निष्क्रिय रहेको तर्क अघि सारेका छन् । उनले आफ्नो बुझाइ र अनुसन्धानका आधारमा दाउद करिब २० वर्षअघि नै आपराधिक दुनियाँबाट टाढिसकेको दाबी गरे । फिल्ममा देखाइएजस्तो सक्रिय र खतरनाक मास्टरमाइन्डको रूपमा दाउद अहिले नरहेको उनको भनाइ छ ।

यद्यपि, वर्माले यस विषयमा आफू नै अन्तिम सत्य भएको दाबी भने गरेनन् । उनले यो पनि स्वीकार गरे कि दाउदको वर्तमान अवस्थाबारे कसैले पनि पूर्ण सत्यता पुष्टि गर्न सक्दैन । ‘न त म यसलाई गलत साबित गर्न सक्छु, न निर्देशकले यसलाई सही साबित गर्न सक्छन्,’ वर्माले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप