महँगो डिजेलबिच पनि मधेसमा हराउँदै छ दाइँ परम्परा
जनकपुरधाम । बिहानको सुनसान खेत, जहाँ पहिले गोरुहरू घाँटीमा बाधिएको घण्टीको आवाज र किसानहरूको चहलपहलले जीवन्त हुन्थ्यो, अहिले त्यहाँ थ्रेसर मेसिनको कर्कश आवाजले ठाउँ लिएको छ । समयसँगै कृषिमा भित्रिएको आधुनिक प्रविधिले कामलाई छिटो र सहज बनाएको छ, तर यससँगै गाउँघरको मौलिक दाइँ परम्परा भने विस्तारै ओझेलमा पर्दै गएको छ ।
एक डेढ दशकअघिसम्म धनुषाका गाउँहरूमा दाइँ केवल कृषि प्रक्रिया थिएन, त्यो सामूहिक कार्य, सहकार्य र सांस्कृतिक पहिचानको महत्त्वपूर्ण अंश थियो । खेतमा खलो बनाएर गोरु घुमाउँदै धान, गहुँ, मसुरो वा तोरी झार्ने क्रममा गाउँलेहरू एकआपसमा अर्मपर्म गर्थे । कामसँगै हाँसो, गीत र आपसी सहयोगको वातावरणले गाउँलाई जीवन्त बनाउँथ्यो ।
जिल्ला समन्वय समिति धनुषाका पूर्वसभापति तथा किसान रामदेव यादव ती दिन सम्झँदै भन्छन्, 'पहिले दाइँ भनेको केवल अन्न झार्ने काम होइन, त्यो गाउँको उत्सवजस्तै हुन्थ्यो । अहिले गोरु नै पाल्न छाडिएपछि त्यो दृश्य हराउँदै गयो ।'
वास्तविकता बदलिएको छ । अहिले खेतमा ट्र्याक्टरले जोतिन्छ, थ्रेसरले दाइँ गरिन्छ । क्षीरेश्वरनाथ नगरपालिका–४ का किसान उमेश यादवका अनुसार गाउँघरमा श्रमिकको अभाव र बढ्दो ज्यालादरका कारण किसानहरू मेसिनमा निर्भर हुन बाध्य भएका छन् । 'मान्छे पाइँदैन, पाइए पनि महँगो हुन्छ । मेसिनले छिटो काम गर्छ, त्यसैले विकल्प छैन,' उनले भने ।
तर यो परिवर्तन केवल प्रविधिको सहजतासँग सीमित छैन । पछिल्लो समय डिजेलको मूल्यवृद्धिले कृषिमा नयाँ चुनौती थपेको छ । थ्रेसर र ट्र्याक्टर दुवै डिजेलमा चल्ने भएकाले इन्धन महँगो हुँदा त्यसको प्रत्यक्ष असर किसानको खर्चमा पर्न थालेको छ । खेत जोत्नेदेखि दाइँ गर्नेसम्म सबै काम महँगो बन्दै गएको छ ।
'मेसिनले काम सजिलो बनाएको छ, तर डिजेल महँगो हुँदा त्यसको भाडा पनि बढेको छ,' एक स्थानीय किसान भन्छन्, 'पहिले श्रम बढी लाग्थ्यो, अहिले खर्च बढी लाग्छ ।'
मिथिला नगरपालिका–६, ढल्केवरका ज्येष्ठ नागरिक रामवरण महतो प्रविधिको प्रयोग पूर्ण विरोध त गर्दैनन्, तर यसको असरबारे चिन्तित छन् । 'मेसिनले समय बचाउँछ, तर यसले वातावरणमा असर गर्छ । दाइँ गर्दा उड्ने भुसले आँखा र सास फेर्ने समस्या बढाएको छ,' उनी भन्छन्, 'पहिले खलोमा दाइँ गर्दा यस्तो समस्या हुँदैनथ्यो ।'
यस परिवर्तनको अर्को पाटो सामाजिक पनि छ । युवा शक्ति वैदेशिक रोजगारीमा पलायन भएपछि गाउँमा काम गर्ने जनशक्ति अभाव भएको छ । गोरु पाल्ने चलन हराउँदै जानु र परम्परागत सीप हराउँदै जानु पनि यसैको परिणाम हो ।
यद्यपि, थ्रेसर मेशिनले अन्न झार्ने र पराल व्यवस्थापन एकै पटक गर्ने भएकाले समय र श्रम बचत भएको किसानहरू स्वीकार गर्छन् । तर बढ्दो इन्धन मूल्यले किसानलाई सताएको छ ।
धनुषाका खेतहरू अहिले आधुनिकताको गतिमा दौडिरहेका छन्, तर ती खेतहरूमा कहिल्यै गुञ्जिने गोरुको पाइला र गाउँलेहरूको सामूहिक गीत भने सम्झनामा सीमित हुँदै गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण