बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हिम्मत छ भने पूर्णबहादुरलाई २४ घण्टाभित्र कारबाही गरेर देखाऊ : वीरबहादुर बलायर

आइतबार, ०६ वैशाख २०८३, १४ : ३९
आइतबार, ०६ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले लेटरप्याड दुरुपयोगको आरोपमा पूर्णबहादुर खड्कालाई कारबाही गर्न चुनौती दिएका छन्।
  • बलायरले सानेपामा रहेका नेताहरूको भन्दा महाराजगन्जमा भेला भएका नेताहरूको पार्टीमा ठुलो योगदान रहेको दाबी गरेका छन्।
  • उनले उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गगन थापाको निर्वाचन परिणामलाई लिएर कडा आलोचना गरेका छन्।

काठमाडौँ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले हिम्मत भए लेटरप्याड दुरुपयोगको आरोपमा निवर्तमान उपसभापति पूर्णबहादुर खड्कालाई अनुशासनको कारबाही गरेर देखाउन चुनौती दिएका छन् । 

शेरबहादुर देउवा समूहले आइतबार महाराजगन्जमा गरेको समूहको भेलामा बलायरले भने, ‘हिम्मत भए पूर्णबहादुर खड्कालाई लेटरप्याड दुरुपयोग काण्डमा २४ घण्टाभित्र कारबाही गरेर देखाऊ । कारबाहीसँग त्यसपछि परिणाम के हुन्छ, त्यो पनि भोग्न तयार हुनु ।’

पार्टीभित्र अहिलेसम्म गरेको सङ्घर्ष र त्याग अनि इतिहासको कुरा गर्दा अहिले सानेपाको पदमा रहेकाहरूको भन्दा महाराजगन्जको बैठकमा बसेका नेताहरूको योगदान ठुलो रहेको बलायरले बताए । ‘सानेपातिर फर्कँदा केहि छैन, जे छ यही छ,’ बलायरले भने । 

सानेपामा बसेकाहरूलाई थकाउन र गलाउन सक्ने ताकत आफूहरूसँग भएको बताउँदै बलायरले नेताहरूले फराकिलो छाती बनाएर आफूहरूलाई नेतृत्व गर्ने अवसर दिएमा कांग्रेसको इतिहास जोगाउन तयार रहेको बताए । 

उपसभापति विश्वप्रकाश शर्मा प्रतिनिधिसभा निर्वाचनमा प्रचार प्रसारका लागि जहाँ जहाँ पुगे, त्यहाँ त्यहाँ जमानत जफत भएको आरोप बलायरले लगाए । 

शर्माले आफू निर्वाचन नलडेर अरूलाई फसाएको बलायरको आरोप थियो । गगन थापा आफै निर्वाचनमा पराजित भएपछि बोली बन्द भएको बलायरको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप