आप्रवासन पत्रकारिता कार्यशाला सम्पन्न
काठमाडौँ । आप्रवासनसम्बन्धी तीन दिने पत्रकारिता कार्यशाला सम्पन्न भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन(आईओएम) को सहकार्यमा आयोजित कार्यशाला आइतबार सम्पन्न भएको हो।
कार्यशालामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव पिताम्बर घिमिरेले आप्रवासन नीति, कार्यान्वयन र चुनौतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नेपालमा वैदेशिक रोजगारले गर्दा आप्रवासन संस्कृति बढेको बताउँदै यसलाई सुरक्षित र मर्यादित बनाउन धेरै चुनौति थपिएको सुनाए।
जनसङ्ख्याविद् प्रा.डा. योगेन्द्रबहादुर गुरुङले नेपालको जनसङ्ख्या गणनाको प्रकिया र यसमा आप्रवासनको अवस्थाबारे जानकारी दिनुभयो । मन्त्रालयका उपसचिव गुरुदत्त सुवेदीले नेपालको आप्रवासन नीति, रोजगारको हक, श्रम ऐनको महत्त्वलगायत विषयमा जानकारी गराए। ऐन कानुनको व्यवहारिक जटिलता र जानकारीको अभावले कार्यान्वयन पक्ष प्रभावकारी हुन नसकेको उनको भनाइ थियो।
कार्यशालामा ‘आइओएम रिजनल अफिस एसिया एन्ड प्यासिफिक’ थाइल्यान्डका प्रतिनिधि मिको अलाजले एसियाको आप्रवासन प्रवृत्तिबारे भर्चुअल माध्यमबाट जानकारी दिनुभयो । सोही क्षेत्रका प्रतिनिधि डा. यु यिप चिङ्ग (एनि)ले एसिया प्रसान्त क्षेत्रको आप्रवासनबारे भिडियोमार्फत जानकारी गराएका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले आप्रवासनसम्बन्धी समाचार लेखन र शैलीमा अपनाउनुपर्ने संवेदनशीलताबारे आफ्नो धारणा राखेकी थिइन् ।
कार्यक्रममा प्रस्तोता असोक राईले डाटा सुरक्षा र गोपनियता र जनकराज भट्टले मिडियामा आप्रवासनका समाचार उठान गर्दा अपनाउनुपर्ने संवेदनशीलताबारे कार्यपत्र प्रस्तुत गरे।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण