सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

समृद्धिको मानक कि गरिबको उपहास ? माननीयज्यूलाई केही प्रश्न

मङ्गलबार, ०८ वैशाख २०८३, ११ : २४
मङ्गलबार, ०८ वैशाख २०८३

सारांश

  • रास्वपा सांसद विपिनकुमार आचार्यको च्यातिएको चप्पल र रित्तो खल्तीसम्बन्धी अभिव्यक्तिले गम्भीर नैतिक र सामाजिक प्रश्न खडा गरेको छ।
  • जनताको गरिबीलाई पाखण्ड भन्नु राज्यको नीतिगत असफलता ढाकछोप गर्ने र जनताको अपमान गर्ने कार्य हो।
  • माननीयको धर्म जनतालाई प्रश्न सोध्ने नभई जनताका प्रश्नको उत्तर दिँदै समाधान खोज्नु हो भनी लेखमा उल्लेख छ।

नेपाली राजनीतिमा पछिल्लो समय 'नयाँ' र 'पुराना' दलहरूबीचको भाष्यको लडाइँ निकै रोचक र पेचिलो बन्दै गएको छ। यसै क्रममा रास्वपा नेता तथा माननीय विपिनकुमार आचार्यको एउटा अभिव्यक्ति सामाजिक सञ्जाल र सार्वजनिक बहसमा चर्चाको विषय बनेको छ। उहाँले भन्नुभयो— "राजनीतिमा ‘च्यातिएको चप्पल’ र ‘रित्तो खल्ती’ लाई मात्र इमान्दारीको प्रतीक मान्ने पाखण्ड अब बन्द गरौँ।"

सुन्दा यो वाक्य अत्यन्त आधुनिक, सुधारात्मक र प्रगतिशील लाग्न सक्छ। तर, यसको गहिराइमा पसेर हेर्दा यसले केही गम्भीर नैतिक, सामाजिक र आर्थिक प्रश्नहरू जन्माएको छ।

१. च्यातिएको चप्पल: पाखण्ड कि विवशता ?

माननीयज्यूले 'च्यातिएको चप्पल' लाई पाखण्डको पगरी गुथाउँदै गर्दा यो देशका लाखौँ नागरिकहरूको वस्तुगत यथार्थलाई बिर्सनुभएको देखिन्छ। आज पनि नेपालका गाउँ–बस्तीमा मात्र होइन, सहरकै गल्लीहरूमा लाखौँ नेपाली च्यातिएको चप्पल र रित्तो खल्ती बोकेर बाँच्न विवश छन्। यो उनीहरूको रहर होइन, न त यो कुनै इमान्दारी प्रदर्शन गर्ने 'स्टन्ट' नै हो। यो त राज्यको तीन दशक लामो नीतिगत असफलता र भ्रष्ट शासन व्यवस्थाले थोपरेको नियति हो।

समाजविज्ञानको दृष्टिकोणबाट हेर्दा आर्थिक उन्नतिको न्यूनतम आधार भनेको अवसरको समानता र न्यायपूर्ण वितरण हो। जब राज्यले यी आधारभूत सर्तहरू पूरा गर्न सक्दैन, तब नागरिकको गरिबीलाई 'पाखण्ड' भन्नु आफैँमा एउटा मानसिक पछौटेपन र जनताप्रतिको अपमान हो। माननीयज्यूले भनिदिनुपर्‍यो— यदि च्यातिएको चप्पल इमान्दारीको मानक होइन भने, यो केको मानक हो? के यो राज्यको नालायकीको प्रमाण होइन र ?

२. समृद्धिको स्रोत र पारदर्शिताको कसी

माननीयज्यूले प्रश्न गर्नुभएको छ— "प्रश्न मान्छे कति धनी छ भन्ने होइन, बरु त्यो सम्पत्ति उद्यम र पसिनाले कमाएको हो कि भ्रष्टाचारले...।" यो प्रश्न सिद्धान्ततः सही छ। तर, यो प्रश्न कसले कसलाई सोध्ने हो ? यो प्रश्न त सार्वभौम नेपाली जनताले राज्यको नीति निर्माण गर्ने ठाउँमा पुगेका तपाईंहरूलाई सोध्नुपर्ने हो।

तपाईं र तपाईंको पार्टीले भन्दै आएको 'पुराना दलको ३५ वर्षे कुशासन' मा यदि समृद्धिको कुनै आधार नै थिएन भने, तपाईँका मन्त्रिपरिषद्का सदस्यहरूको आजको आर्थिक हैसियत कसरी निर्माण भयो ? के पुराना दलको शासनमा पनि तपाईँहरूको धनी बन्ने प्रक्रिया निरन्तर चलिरहेको थिएन र ? के तपाईँहरूको उद्यम र पसिना मात्र चोखो हो र बाँकीको भ्रष्टाचार ?

जनताले जान्न चाहन्छन्— तपाईँहरूले कुन-कुन व्यवसायबाट, कुन मितिमा, कति आर्जन गर्नुभयो ? तपाईँले उल्लेख गरेका तीन शब्द 'उद्यम', 'पसिना' र 'पारदर्शिता' लाई कार्यन्वयनमा ल्याउने आँट छ ? तपाईँको सम्पत्ति विवरणमा देखिएका अङ्कहरूले राज्यलाई कति आयकर, भ्याट वा अन्तःशुल्क बुझाएका छन् ?

३. अभाव र आँसुको राजनीति: कसका लागि ?

"देश सधैँ अभाव र आँसुको कथा बेचेर बन्दैन" भन्नु एउटा गज्जबको 'पन्चिङ लाइन' त हुन सक्छ, तर यो नेपालको धरातलीय यथार्थसँग मेल खाँदैन। आम नेपालीको अभिशप्त जिन्दगी नै आज अभाव र आँसुले भरिएको छ। तपाईँहरूले सिंहदरबार छिरेपछि जनताको त्यही पीडालाई 'कथा' भन्न थाल्नुभयो भने तपाईं र पुराना दलका नेताहरूमा के फरक रह्यो र ?

पुराना दलहरूले पनि चुनाव जितेपछि जनताको गरिबीको उपहास गर्थे, प्रश्न गर्ने जनतालाई शत्रु देख्थे। आज तपाईंको स्टाटसमा पनि त्यही शैलीको गन्ध आउँछ। तपाईं अब पत्रकार होइन, देशको 'माननीय' हो। माननीयको धर्म जनतालाई प्रश्न सोध्ने होइन, जनताका प्रश्नको धैर्यतापूर्वक उत्तर दिने र समाधान खोज्ने हो।

४. समृद्धिको संस्कार कसले सिकाउने ?

तपाईँले भन्नुभयो— "पारदर्शी समृद्धिको संस्कार नेपाली समाजले अब सिकाओस्।" यो वाक्यले तपाईँको जिम्मेवारीबाट पन्छिने प्रवृत्तिलाई उजागर गर्छ। च्यातिएको चप्पल लगाउने र रित्तो खल्ती भएको जनताले तपाईँलाई भोट दिएर नीति बनाउने ठाउँमा पुर्‍याइसके। अब समृद्धिको बाटो र संस्कार सिकाउने पालो तपाईँहरूको हो।

के अब सबै बुझ्ने र बुझाउने जिम्मा जनताकै हो भने तपाईँहरू सत्ताको सुखभोगमा मात्र तल्लीन हुनुभएको हो ? सम्पत्ति तपाईँहरूले कमाउने, समृद्ध जीवन तपाईँहरूले बाँच्ने, तर पारदर्शिता र संस्कारको भारी चाहिँ जनताले बोक्नुपर्ने ? यो कस्तो खाले लोकतन्त्र र नयाँ राजनीति हो ?

निष्कर्ष

माननीयज्यू, तपाईँको यो अभिव्यक्ति जनविरोधी र सुशासनको मर्मविपरीत छ। राजनीति गर्ने भनेको चुनाव जित्नु र विपक्षीलाई गाली गर्नु मात्र होइन। यो त स्वयं बदलिने, उन्नत चेतना र संस्कार ग्रहण गर्ने र जनताप्रति पूर्ण जवाफदेही हुने प्रक्रिया हो।

जसरी हात्ती छाप चप्पल र हात्तीमा धेरै फरक हुन्छ, त्यसरी नै तपाईँहरूले दिने नारा र गर्ने व्यवहारमा ठुलो खाडल देखिएको छ। यदि तपाईँहरूले पनि पुरानै प्रवृतिलाई 'नयाँ' लेपन लगाएर बेच्न खोज्नुभएको हो भने, जनताले तपाईँहरूलाई पनि परालको तान्द्रो झैँ उडाउने दिन टाढा छैन।

समयमै आत्मचिन्तन गर्नुहोस्— राजनीति इमान र पसिनाको सेवा हो कि सत्ताको रसवस्वादन ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

झकबहादुर मल्ल ‘सुदीप’
झकबहादुर मल्ल ‘सुदीप’
लेखकबाट थप