आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा नयाँ संरचना बन्दै

शुक्रबार, १८ साउन २०७५, २० : ३१
शुक्रबार, १८ साउन २०७५

धनगढी । प्रदेश नं ७ को भौतिक पूर्वाधार तथा विकास मन्त्रालय मातहत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका विभिन्न जिल्लामा नयाँ संरचना खडा गर्न लागिएको छ । 

मन्त्रालयका उपसचिव अमरबहादुर पालले स्वीकृत भएर आएको नयाँ संरचनाअनुसार प्रदेश नं ७ को कैलालीस्थित कार्यालयले कैलाली र कञ्चनपुर, डोटीस्थित कार्यालयले डोटी, डडेलधुरा, बाजुरा र अछाम तथा बैतडीस्थित कार्यालयले बैतडी, दार्चुला र बझाङ जिल्ला हेर्ने गरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयहरु खडा गर्न लागिएको बताए । 

प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले आवश्यक थप क्षेत्रमा खानेपानी तथा सरसफाइ डिभिजनका सेवा कार्यालय राख्नुपर्ने प्रस्ताब माथिल्लो निकायमा पठाइएको पालले जानकारी दिए । 

साबिकमा केन्द्रीय सरकारको खानेपानी मन्त्रालय मातहत रहेका यी कार्यालयहरु प्रदेश नं ७ का नौ वटै जिल्लामा सञ्चालनमा थिए । नयाँ संरचना खडा गर्ने क्रममा यी कार्यालयहरु प्रदेश स्तरको भौतिक पूर्वाधार तथा विकास मन्त्रालय मातहत ल्याइएको हो । 

यस्तै प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालय मातहत सडक क्षेत्र हेर्ने गरी नयाँ संरचना खडा गर्न लागिएको छ । यो मन्त्रालयअन्तर्गत छ वटा महाशाखाको व्यवस्था भएकामा सडक क्षेत्र हेर्ने दुई छुट्टै महाशाखाको व्यवस्था गर्ने गरी नयाँ संरचना बन्न लागेको जनाएको छ । सडक क्षेत्र हेर्ने गरी ग्रामीण सडक महाशाखा र प्रादेशिक सडक महाशाखा गरी दुई महाशाखाको व्यवस्था गर्न लागिएको हो । 

सडक, सडक पुल र झोलुङ्गे पुल हेर्ने गरी प्रदेश नं ७ मा चार वटा पूर्वाधार विकास डिभिजन कार्यालय पनि खडा गर्न लागिएको छ । खडा गर्न लागिएको पूर्वाधार विकास डिभिजन कार्यालयअन्तर्गत कैलालीका कार्यालयले कैलाली र कञ्चनपुर, बैतडीको कार्यालयले बैतडी, बझाङ र दार्चुला, डडेल्धुराका कार्यालयले डडेलधुरा र डोटी तथा अछामका कार्यालयले अछाम र बाजुरा जिल्लामा सडक, सडक पुल र झोलुङ्गे पुलसम्बन्धी पूर्वाधारका काम गर्ने जनाएको छ । 

पूर्वाधार विकासतर्फ एक निर्देशनालय रहने पनि जनाएको छ । यस्तै मन्त्रालयअन्तर्गत रहेका यातायात व्यवस्था कार्यालय साबिकअनुसार नै हुने भए पनि जलस्रोत तथा सिँचाइ डिभिजन एंव सब डिभिजनको हकमा गर्न लागिएको संरचनाको टुङ्गो भने लाग्न बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप