सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पार्टी स्थापना दिवसमा एमालेको दुई थरी निम्ता !

बुधबार, ०९ वैशाख २०८३, १० : १३
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • नेकपा एमालेले आज आफ्नो ७७ औँ पार्टी स्थापना दिवस विशेष कार्यक्रम आयोजना गरी मनाउँदै छ।
  • पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्यमा सुधार आएपछि आजको कार्यक्रमलाई सम्बोधन गर्ने तयारी छ।
  • स्थापना दिवसको अवसरमा एमालेले दुई प्रकारको निम्तो कार्ड तयार पारेको छ।

काठमाडौँ । ७७ औँ पार्टी स्थापना दिवसको सन्दर्भमा नेकपा एमालेले आज विशेष कार्यक्रम आयोजना गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा २ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी भएको पार्टीले जनाएको छ । 

केही दिन पहिला पित्तथैलीको शल्यक्रिया गरेर फर्किएका ओली अझै पूर्ण स्वस्थ भैसकेका छैनन् । सोही कारण पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नहुने भन्ने मंगलबार दिउँसोसम्म निश्चित थिएन । तर ओलीले कार्यक्रममा सहभागी हुने चाहाना राखेपछि बुधबारको कार्यक्रममा सहभागी हुन लागेका हुन् । 

यसैबिच नेकपा एमालेले पार्टी स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालयमा हुने कार्यक्रमको दुई थरी निम्तो कार्ड बनाएको छ । एमालेको एउटा निम्तो कार्डमा एमालेको झण्डा, चुनाव चिह्न र नेकपाका संस्थापक नेताहरूको तस्बिर मात्र रहेको छ भने अर्कोमा त्यसबाहेक अध्यक्ष ओलीको समेत तस्बिर राखिएको छ । 

एमालेले विगत वर्षहरूमा स्थापना दिवस मनाउँदा कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने योद्धाहरूलाई सम्मान गर्दै आएपनि यसपटक त्यस्तो सम्मान कार्यक्रम नराखिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप