आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

जेल तोडेर भागेका कर्तव्य ज्यान मुद्दाका कैदी ‘झ्याप्ले’ मनमैजुबाट पक्राउ

बुधबार, ०९ वैशाख २०८३, ११ : ५६
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • केन्द्रीय कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी कमल बि.क.लाई प्रहरीले मनमैजुबाट पक्राउ गरेको छ।
  • २०८२ साल भदौमा आन्दोलनको फाइदा उठाउँदै जेलबाट भागेका उनी लामो समयदेखि काठमाडौँका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका थिए।
  • प्रहरीले विशेष सूचनाको आधारमा उनलाई वैशाख ७ गते पक्राउ गरी पुनः बाँकी कैद भुक्तानका लागि कारागार चलान गरेको छ।

काठमाडौँ । केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका एक कैदीलाई प्रहरीले काठमाडौँको मनमैजुबाट पुनः पक्राउ गरेको छ। २०८२ साल भदौमा जेनजी समूहले तत्कालीन सरकारविरुद्ध गरेको आन्दोलनको फाइदा उठाउँदै जेलबाट भाग्न सफल भएका धादिङका कमल बि.क.लाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

झ्याप्ले कमल न्यौपानेका नामले समेत चिनिने ३८ वर्षीय कमल बि.क. कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका व्यक्ति हुन्। २०८२ भदौ २३ र २४ गते युवा तथा किशोरकिशोरीहरूको समूहले गरेको प्रदर्शन र सो क्रममा सिर्जित भद्रगोलको मौका छोपेर उनी भदौ २४ गते कारागारबाट फरार भएका थिए। कारागारबाट भागेपछि उनी काठमाडौँका विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएका थिए।

लामो समयदेखि उनको खोजी गरिरहेको प्रहरीले उनी तारकेश्वर नगरपालिका वडा नं. ९ मनमैजु क्षेत्रमा बसिरहेको विशेष सूचना पाएको थियो। सोही सूचनाका आधारमा खटिएको अपराध अनुसन्धान कार्यालयको टोलीले वैशाख ७ गते उनलाई पक्राउ गर्न सफल भएको हो। धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ७ धुसा स्थायी घर भएका बि.क.लाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः बाँकी कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल पठाइएको प्रहरी उपरीक्षक एवं सूचना अधिकारी रामेश्वर कार्कीले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप