मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

बागमती विश्वविद्यालय सञ्चालन गर्न छुट्टै ऐनको माग

विशिष्टीकृत नभए बन्द गर्न समितिको सुझाव
बुधबार, ०९ वैशाख २०८३, २० : ०८
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • बागमती प्रदेश सरकारद्वारा सञ्चालित बागमती विश्वविद्यालयका लागि छुट्टै ऐन निर्माण गर्नुपर्ने माग गरिएको छ।
  • विश्वविद्यालयको भविष्य सुनिश्चित गर्न एआई र मेडिकल जस्ता रोजगारीमुखी विषयमा केन्द्रित हुन समितिले निर्देशन दिएको छ।
  • हालको प्रशासनिक संरचना र कानुनी आधार अपर्याप्त रहेको भन्दै प्रतिवेदनले विश्वविद्यालयको औचित्यमाथि प्रश्न उठाएको छ।

हेटौँडा । बागमती प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि बढाएको बागमती विश्वविद्यालय सञ्चालनको लागि छुट्टै ऐन निर्माण गर्न माग गरेको छ ।

हालै सञ्चालनमा आएको बागमती विश्वविद्यालय छुट्टै ऐन (कानुनी आधार) बिना नै सञ्चालन गर्नुको औचित्य नरहेको प्रदेश प्रशासनिक संरचना पुनरवलोकन अध्ययन तथा सुझाव समितिले निष्कर्ष निकालेको छ । 

प्रदेश सरकारले विश्व विद्यालयको जगसमेत बसाल्न नसकेको अवस्थबिच पूर्वसचिव विमल वाग्ले नेतृत्वको समितिको प्रतिवेदनमा हालको कानुनी प्रक्रिया र सञ्चालन मोडेलमा सुधार नभए विश्वविद्यालयले कुनै प्रतिफल दिन नसक्ने तथा औचित्य नै समाप्त हुने उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार हाल विश्वविद्यालय प्रदेश उच्च शिक्षा ऐन, २०७८ को दफा ५ को उपदफा (१) को खण्ड (छ) लाई मात्र टेकेर स्थापना गरिएको छ । समितिले सामान्य ऐनको दफाका भरमा विश्वविद्यालयजस्तो बृहत् संस्था चलाउनु कानुनी र व्यावहारिक रूपमा चुनौतीपूर्ण रहेको ठहर छ ।

विश्वविद्यालयले हाल विज्ञान तथा प्रविधि, व्यवस्थापन तथा कानुन, र शिक्षा शास्त्र तथा सामाजिक विज्ञान गरी ३ वटा संकायमा अध्यापन सञ्चालन गरिरहेको छ । समितिले नेपालमा रहेका अन्य २७ वटा विश्वविद्यालयहरूको उदाहरण दिँदै परम्परागत विषय मात्र पढाउने हो भने बागमती विश्वविद्यालय पनि विद्यार्थी अभावका कारण संकटमा पर्ने औंल्याएको छ । ठोस कानुनी आधार र नवीन कार्यक्रमको अभावमा विश्वविद्यालयको आंगिक क्याम्पसहरूको भविष्य पनि अनिश्चित रहेको प्रतिवेदनमा समेटिएको छ ।

‘विश्वविद्यालयको बृहत् संरचना र सञ्चालनका लागि हालको व्यवस्था पर्याप्त छैन । त्यसैले यसका लागि छुट्टै डेडेडिकेटेड ऐन निर्माण गर्नु अनिवार्य छ ।’ समितिको प्रतिवेदनमा उल्लेख छ, ‘विश्वविद्यालय खोल्नु मात्र उपलब्धि होइन । यसलाई समयसापेक्ष र कानुनी रूपमा सबल बनाउनु नै आजको मुख्य चुनौती हो । अन्यथा, यो प्रदेशमाथि अर्को प्रशासनिक र आर्थिक बोझ मात्र सावित हुनेछ ।’

‘एआई’ र ‘मेडिकल’मा केन्द्रित हुन समितिको निर्देशन

समितिले विश्वविद्यालयको भविष्य सुनिश्चित गर्न एआई र मेडिकल वियायको संकायहरू तयार गर्न प्रतिवेदनमार्फत निर्देशन गरेको छ । विश्वविद्यालयलाई चिकित्सा विज्ञान, इन्जिनियरिङ, सूचना प्रविधि र विशेषगरी कृत्रिम बौद्धिकता (एआई) जस्ता रोजगारी ग्यारेन्टी हुने विषयमा मात्र केन्द्रित गर्नुपर्ने समितिको प्रतिवेदनमा भनिएको छ ।

प्रदेश उच्च शिक्षा ऐनबाट विश्वविद्यालय स्थापना गर्ने प्रावधान हटाएर छुट्टै ऐनमार्फत विश्वविद्यालयलाई व्यवस्थित गर्न र नवप्रवर्तन र विज्ञान–प्रविधिमा आधारित भएर नयाँ ढंगले सञ्चालन निर्देशन गरिएको छ ।

‘खासगरी अप्राविधिक संकायहरूमा विद्यार्थीको संख्या घट्दो छ र उत्पादित जनशक्ति बेरोजगार हुने अवस्था छ । यस्तो अवस्थामा नयाँ विश्वविद्यालय थप्नुको औचित्य रहन्न । विश्वविद्यालयको औचित्य पुष्टि गर्न बजारको माग अनुसारका नयाँ विषयहरू प्रदान गर्नुपर्छ,’ प्रतिवेदनमार्फत भनिएको छ ।

यदी त्यसो नगर्ने हो भने विश्वविद्यालयबाट प्रदेशले अपेक्षित लाभ लिन नसक्ने समितिको ठहर छ । समितिको प्रतिवेदन अनुसार मुलुकका युवाहरू अध्ययनका लागि विदेश पलायन भइरहेको सन्दर्भमा प्रदेश विश्वविद्यालयले उनीहरूलाई आकर्षण गर्न नसक्ने हो भने क्याम्पसहरू रित्तो हुने जोखिमप्रति सरकारलाई हुनपर्ने जनाएको छ । 

हालै बागमती विश्वविद्यालयले ६ वटा सामुदायिक क्याम्पसहरूलाई आंगिक क्याम्पस बनाएर ३ संकायका विषयहरूमा अध्यापन थालेको छ । विश्वविद्यालयले चितवनको खैरहनी, माडी, काठमाडौंको बुढानिलकण्ठ, कुलेश्वर काठमाडौं, हेटौंडा र काभ्रेमा आंगिक क्याम्पस बनाएर ५५० जना विद्यार्थीहरू भर्ना गरेर अध्याापन थालेको छ ।

२०८० मा स्थापना भएको उक्त विश्वविद्यालयको लागि बोर्ड अफ ट्रष्टि र २०८१ मा पदाधिकारी नियुक्त गरी संचालनमा रहेको छ । हालसम्म विश्वविद्यालयको लागि प्रदेश सरकारले संरचना तथा जग्गासमेत उपलब्ध गराउन सकेको छैन । विश्वविद्यालयले हेटौं–४ स्थित हुप्रा चौरमा भाडाको घरबाट कार्यालय खडा गरेर प्रशासनिक काम गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप