नेतान्याहुको हालतः तेल पानी एकै ठाउँ, पिना बाहिर
सारांश
- अमेरिका-इरान युद्धविराम सम्झौताले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई एक्ल्याएको छ, जसले वासिङ्टनसँगको आफ्नो प्रभाव गुमाएका छन्।
- नेतन्याहुले ट्रम्पसँगको निकट सम्बन्धलाई आफ्नो राजनीतिक बलका रूपमा प्रयोग गर्दै आएका थिए, तर यो सम्झौताले उनको यो हतियार कमजोर बनाएको छ।
- इजरायलको सुरक्षा नीतिमा आक्रामक परिवर्तन ल्याए पनि हमासले गाजामा नियन्त्रण कायम राखेको छ र नेतन्याहुको प्रभाव घट्दै गएको छ।
जेरुसेलम । एउटा उखान छ– तेल पानी एकै ठाउँ पिना बाहिर ।
अमेरिका–इरान युद्धविरामको सम्झौताले अहिले इजरायल र बेन्जामिन नेतन्याहुलाई ठ्याक्कै यही पिनाको हैसियतमा झारिदिएको छ । आफूलाई वासिङ्टनको राजनीतिक प्रभावशाली पात्रका रूपमा प्रस्तुत गर्ने तथा अमेरिकी राजनीतिज्ञहरूमा गहिरो प्रभाव राख्ने नेतन्याहु एकाएक आफ्नै प्रमुख सहयोगी अमेरिकाद्वारा पूर्ण रूपमा किनारामा धकेलिएका मात्र छैनन्, सार्वजनिक रूपमा अपमानित पनि भएका छन् । उनी धेरै अर्थमा गम्भीर राजनीतिक संकटमा फसेका छन् ।
उनको लागि पहिलो धक्का त यो भयो कि वासिङ्टनसँग रहेको भनिएको उनको ‘आत्मीय भाइचारा’ले यसपटक सोचेजस्तो काम गरेन, जहाँसम्म ‘इजरायलले लेबनानमा हिज्बुल्लाहमाथि आक्रमण तत्कालै रोक्नुपर्छ, त्यो पनि इजरायली आमनिर्वाचन हुनुअघि नै’ भन्ने तेहरानको एउटा स्पष्ट अडानमा आधारित सम्झौताका लागि समेत दुवै पक्षले इजरायलको कुनै धारणा पर्खिएनन्, यसले पनि अमेरिका इरान युद्धविरामले इजरायललाई अलग्याएको स्पष्ट देख्न सकिन्छ ।
आखिर किन खुकुलिँदै गयो अमेरिकासँग नेतन्याहुको सम्बन्ध ? ओबामा प्रशासनका बेला इजरायलका लागि अमेरिकी राजदूत रहेका र हाल एटलान्टिक काउन्सिलसँग आबद्ध डान सापिरो भन्छन्, ‘यो दुवै पक्षका स्वार्थहरू स्पष्ट रूपमा अलग भएको क्षण हो,’ उनले थपे, ‘नेतन्याहुले खुला रूपमा सम्झौताको विरोध नगर्न सक्छन्, किनभने उनी ट्रम्पसँग प्रत्यक्ष टकराव चाहँदैनन् । तर उनले इजरायल यस सम्झौताबाट बाध्य नभएको र आफ्नो अधिकार सुरक्षित राखेको संकेत दिनेछन् ।’
अमेरिका र इरानबिचको समझदारीपत्र शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । सम्झौताका विस्तृत सर्त तत्काल सार्वजनिक नभए पनि मध्यस्थकर्ता पाकिस्तानका अनुसार यसले लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही स्थायी रूपमा रोक्ने व्यवस्था गरेको छ ।
खासमा इरानमाथि आक्रमण सुरु गर्दा नेतन्याहु र ट्रम्प दुवैका दुई प्रमुख उद्देश्य थिए । एक, इरानको क्षेप्यास्त्र कार्यक्रम नियन्त्रण गर्ने र अर्को क्षेत्रीय सशस्त्र समूहहरूलाई इरानले पुर्याउने साथ–सहयोगको अन्त्य गर्ने । तर अहिले वार्ताको कार्यसूचीमा यी दुवै विषय नपरेको अनुमान गरिएको छ ।
जे होस् यस सम्झौताले इजरायललाई नराम्ररी झस्काइदिएको छ । रोयटर्सको रिपोर्टअनुसार दुई अन्य इजरायली अधिकारीहरूले गत साता ट्रम्पले इरानसँग सम्झौता नजिक पुगेको घोषणा गर्दा इजरायल आश्चर्यचकित भएको स्वीकार गरेका छन् । उनीहरूले वार्तामा प्रभाव पार्ने इजरायलको प्रयास खासै सफल नभएको पनि बताएका छन् ।
सबै अधिकारीहरूले सार्वजनिक रूपमा बोल्ने अधिकार नभएकाले नाम गोप्य राख्ने सर्तमा प्रतिक्रिया दिएका हुन् ।
आन्तरिक राजनीतिमा समेत नेतन्याहुलाई झट्का
डेमोक्रेट राष्ट्रपति बराक ओबामा र जो बाइडेनका प्रशासनसँग पटक–पटक विवादमा परेका नेतन्याहुले रिपब्लिकन ट्रम्पसँगको निकट सम्बन्धलाई लामो समयदेखि आफ्नो राजनीतिक बलका रूपमा प्रस्तुत गर्दै आए । यसकै आधारमा उनलाई इजरायलका नागरिकले पनि पत्याए ।
ट्रम्पको पहिलो कार्यकालमा अमेरिकाले आफ्नो दूतावास जेरुसलेम सार्यो र संयुक्त अरब इमिरेट्स तथा बहराइनसँग इजरायलको औपचारिक सम्बन्ध स्थापना गराउने ‘अब्राहम सम्झौता’लाई समर्थन गर्यो । इरानको विषयमा ट्रम्पले ओबामा प्रशासनअन्तर्गत भएको आणविक सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेका थिए, जसको इजरायलले लामो समयदेखि विरोध गर्दै आएको थियो ।
सन् २०१९ को चुनावका क्रममा नेतन्याहुले तेल अभिभ र जेरुसलेममा आफू र ट्रम्प मुस्कुराउँदै हात मिलाइरहेका विशाल चुनावी होर्डिङहरू राखेका थिए । तर बार–इलान विश्वविद्यालयका राजनीतिक वैज्ञानिक जोनाथन राइनहोल्ड अहिलेको अमेरिका–इरान सम्झौताले ट्रम्पसँगको विशेष सम्बन्धलाई आफ्नो राजनीतिक आवरण बनाउने नेतन्याहुको हतियार कमजोर भएको बताउँछन् ।
उनले भने, ‘नेतन्याहुले यो सम्झौता इजरायली जनतालाई स्वीकार्य बनाउन सक्ने अवस्था छैन । उनको सबैभन्दा ठुलो आशा भनेको वार्ता असफल होस् र ६० दिनपछि इजरायलको पक्षमा युद्ध पुनः सुरु होस् भन्ने मात्र हो ।’
ट्रम्पप्रतिको भरोसा विस्तारै नागरिकमा पनि क्षीण हुँदै गइरहेको छ । इजरायल डेमोक्रेसी इन्स्टिच्युटले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार केवल ४१ प्रतिशत यहुदी इजरायलीहरूले ट्रम्पले आफ्नो सुरक्षालाई प्राथमिकता दिएको विश्वास गर्छन् । मार्चमा यो संख्या ६४ प्रतिशत थियो ।
यस महिनाको सुरुवातमा ट्रम्पले एक टेलिफोन संवादका क्रममा नेतन्याहुलाई ‘पूर्ण रूपमा पागल’ भन्दै बेरुतमा आक्रमण नगर्न निर्देशन दिएका थिए । त्यतिबेला अमेरिका इरानसँग सम्झौता गर्ने प्रयासमा थियो । आइतबार बेरुतमा आक्रमण आदेश दिँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतन्याहुको निर्णय क्षमतामाथि गरेको कठोर, अश्लील भाषाको आलोचनालाई अहिले इजरायलका राजनीतिक प्रतिस्पर्धी र सञ्चारमाध्यमले चुनावी बहसमा प्रमुख विषय बनाइरहेका छन् । यो चुनाव अक्टोबरको अन्त्यसम्म अनिवार्य रूपमा हुनुपर्नेछ ।
निरर्थक बन्दैछ इजरायलको लडाइँ
प्रायः आफ्नो विजय दाबी गर्न हतारिने नेतन्याहुको मुखमा कम्तीमा अहिलेचाहिँ बुझो लागेको छ भन्दा अत्योक्ति नहोला, भलै उनी लेबनान, गाजा र सिरियाबाट आफ्नो सेना नहट्ने धमास पोख्दैछन् । ‘देश र यहुदीको सुरक्षा’ दशकौँदेखि उनको राजनीतिक प्रस्तावको केन्द्रमा रहँदै आएको छ । तर त्यो सन्देश प्रवाह गर्न अब गाह्रो हुँदै गएको छ ।

२०२३ अक्टोबर ७ मा हमास नेतृत्वको विनाशकारी आक्रमणपछि उनले इजरायलको सुरक्षा नीति अझ आक्रामक बनाउने दिशामा मोडे । चुनौतीलाई नियन्त्रण गर्नुको सट्टा उनले मध्यपूर्वको नक्सा नै परिवर्तन गर्ने महत्त्वाकांक्षा अघि सारे ।
तर इजरायली सेनाले गाजाको ठुलो भाग ध्वस्त पारे पनि र हमास–सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ७३ हजारभन्दा बढी मानिस मारिए पनि हमासले अझै गाजाको आधा भूभागमा नियन्त्रण कायम राखिरहेको छ र आफ्नो शक्ति पुनः स्थापित गरिरहेको छ । इजरायल र हमासबिच युद्धविराम भएको आठ महिनापछि पनि अमेरिकी मध्यस्थतामा बनेको शान्ति योजना र गाजाका लागि अमेरिकी नियुक्त प्रशासन अझै अनिश्चित अवस्थामा रहेका छन् ।
नेतन्याहुको नयाँ सुरक्षा रणनीतिका कारण इजरायली सेना गाजा, लेबनान र सिरियाका ठुलो भागमा तैनाथ छ । यो धेरै इजरायलीहरूमा लोकप्रिय भए पनि निर्वाचनसम्म त्यहाँ सेना राखिराख्ने बहाना पनि नेतन्याहुसँग नहुन सक्छ ।
खासमा हिजबुल्लाह र इरानसँगको बारम्बारको संघर्षले इजरायलका मुख्य सत्रुहरूलाई समाप्त गर्न सकेको छैन । बरु तेहरानमा अझ कठोर नेतृत्व उदय भएको छ, जसले अमेरिकी–इजरायली शक्तिको डर कम गरेको छ र होर्मुज जलडमरूमार्फत थप प्रभाव प्राप्त गरेको छ । अझ मुख्य ब्याकफायर त यो छ कि अब इजरायलको प्रमुख सत्रु नै उसको प्रमुख सहयोगी (अमेरिका)माथि प्रभाव राख्ने हैसियतमा पुगेजस्तो देखिएको छ ।
इजरायलको इन्स्टिच्युट फर नेसनल सेक्युरिटी स्टडिजका वरिष्ठ इरान अनुसन्धानकर्ता ड्यानी सिट्रिनोविजका अनुसार इजरायलको असफलताले तेहरानप्रतिको रणनीतिमा पुनः मूल्याङ्कन आवश्यक बनाएको छ । यसले अझ यथार्थपरक र संयमित प्राथमिकता तय गर्नुपर्छ ।

उनका अनुसार यदि कुनै इजरायली सैन्य कदमलाई वासिङ्टनले सम्झौता तोड्ने प्रयासका रूपमा लिन्छ भने त्यसले कडा अमेरिकी प्रतिक्रिया निम्त्याउनेछ । उनले थपे, ‘ओबामा प्रशासनको समयमा जस्तो नेतन्याहुले कंग्रेस वा अमेरिकी जनमतमार्फत ह्वाइट हाउसलाई बाइपास गर्न सक्ने अवस्था अहिले लगभग छैन ।’
नेतन्याहुले लामो समयदेखि इजरायली मतदातालाई आफू क्षेत्रीय खतराहरूबाट सबैभन्दा राम्रो सुरक्षा दिने नेता भएको दाबी गर्दै आएका छन् । तर त्यो दाबी अहिले घटनाक्रमले पछाडि पार्दै गएको देखिन्छ । यसले पनि उनलाई थप जटिल संकटतिर धकेलेको छ ।
इरानमा शासन परिवर्तनले उनको राजनीतिक छवि र चुनावी कथा जोगाउन सक्थ्यो, तर अहिले उनको नयाँ सुरक्षा रणनीतिले उनलाई सत्रुसँग होइन, आफ्नै सहयोगीसँग टकराव वा आत्मसमर्पणको विकल्पमा धकेलेको छ या वासिङ्गटनसँगको उनको दूरी थप बढ्नेछ, या त निरीह बनेर वासिङ्गटन–तेहरान सम्झौता मान्न बाध्य हुनुपर्नेछ । विकल्प जेसुकै किन नरोजून्, आन्तरिक राजनीतिमा त्यसको मूल्य चर्को नै पर्ने देखिन्छ ।
तर सकिएको छैन इजरायली दम्भ
यी तमाम पछिल्ला घटनाक्रम विकासका बाबजुद नेतन्याहु र इजरायलको दम्भ भने सकिएको छैन । आफूप्रतिको आलोचना र आक्रोशबिच सोमबार राति नेतन्याहुले आफू असफल भएको आरोप पूर्णतः खारेज गरेका छन् । ‘मैले मेरो वयस्क जीवनको अधिकांश समय एकै लक्ष्यमा समर्पित गरेको छु—इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु,’ उनले जेरुसलेममा पत्रकार सम्मेलनमा भने, ‘इरानसँग आणविक हतियार हुनु हुँदैन... यदि हामीमाथि आक्रमण वा धम्की हुन्छ भने हामी प्रतिक्रिया दिन्छौँ ।’
त्यसैगरी इजरायलका ऊर्जामन्त्री एली कोहेनले इरानले आफ्नो आणविक वा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम पुनः सक्रिय गरे इजरायल एक्लै कारबाही गर्न तयार रहने बताएका छन् ।
अहिले नेतन्याहुलाई आफ्नै लिकुड पार्टीका सदस्यहरू र सरकारमा रहेका अतिदक्षिणपन्थी मन्त्रीहरूले पनि उनीमाथि दबाब दिइरहेका छन् । इजरायलका अतिदक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरले सोमबार सामाजिक सञ्जालमा लेखे, ‘ट्रम्पको सम्झौताले हामीलाई रोक्दैन । हामी यस्तो सम्झौताका साझेदार होइनौँ, जसले हाम्रो सुरक्षा सुनिश्चित गर्दैन, इजरायलले आफ्नै सुरक्षा जारी राख्नेछ ।’ लिकुड सांसद एरियल कल्नर भन्छन्, ‘हामी आवश्यक पर्ने काम गर्नेछौँ र हामी आफ्ना मित्रहरूले हामीलाई बुझून् भन्ने अपेक्षा गर्छौँ ।’
पूर्वमोसाद अधिकारी तथा इरान विशेषज्ञ सीमा साइनका अनुसार अमेरिकाले यो सम्झौता किन स्वीकार गर्यो भन्ने बुझ्न गाह्रो छ । इरानलाई लेबनानमा के हुने भन्ने निर्णय गर्ने अधिकार दिएर अमेरिकाले हिज्बुल्लाहलाई समर्थन जारी राख्ने अवसर दिएको छ । यसले हिज्बुल्लाहलाई लेबनानी राजनीतिक रंगमञ्चको प्रमुख शक्ति बनाउने छ ।
खैर नेतन्याहुले जतिसुकै दम्भ देखाए पनि वास्तविकता फरक हुँदै गएको छ । बेन्जामिन नेतन्याहुले डोनाल्ड ट्रम्पसँगको संयुक्त युद्धले इरानका धार्मिक शासकहरूलाई सत्ताच्युत गर्ने र आफूलाई घरेलु चुनावअघि बलियो बनाउने दाउ लगाएका थिए । उनले आफूलाई मध्यपूर्वको स्वरूप परिवर्तन गर्ने अमेरिका–इजरायल गठबन्धनका प्रमुख योजनाकारका रूपमा प्रस्तुत गरेका थिए ।
तर त्यसको सट्टा इजरायलका सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका नेतन्याहु अहिले ट्रम्पसँग प्रत्यक्ष मतभेदको स्थितितर्फ अघि बढिरहेका छन् । अनि नेतन्याहुले इजरायल ‘बलियो र स्थिर’ रूपमा उभिएको दाबी गर्दै आफ्नो नेतृत्व दृढ र विवेकपूर्ण रहेको बताइरहँदा शरद ऋतुमा हुने निर्वाचनमा उनी निश्चित रुपमा पराजित हुने पुर्वानुमानहरू बाहिरिरहेका छन् ।
पछिल्ला जनमत सर्वेक्षणहरूले अमेरिकी राष्ट्रपतिको इजरायलप्रतिको सुरक्षा प्रतिबद्धतामाथि समेत इजरायली जनताको विश्वास घट्दै गएको देखाएका छन् । जसको सोझो मार नेतन्याहुमाथि नै पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय बजेट बेलुन फुलेजस्तो, प्रदेश बजेट चाहिँ कस्तो ?
-
सडक निर्माण भ्रष्टाचार मुद्दामा निर्माण व्यवसायीसहित चार जनाले पाए सफाइ
-
विश्वविद्यालयका उपकुलपति उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता असार १३ देखि १५ गतेसम्म
-
नेकपा कोशी प्रदेशको कार्य विभाजन टुङ्गियाे, जिल्ला र विभागहरूमा जिम्मेवारी बाँडफाँड
-
के हो ई-पासपोर्ट छपाई प्रकरण, किन पक्राउ परे राहदानी विभागका महानिर्देशक ?
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गाैतमलाई थुनामा पठाउने आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण